लन्डन । बेलायतस्थित एकजना एनआरएन अभियन्ता एवं युवा उद्यमी कृष्ण तिवारीले पोस्ट अफिसको स्वामित्व (फ्रेन्चाइज ओनरसीप) लिएका छन् । तिवारीले एक लाख ९२ हजार पाउण्ड (करिब तीन करोड रुपैयां) मा ‘रेनर्सलेन पोस्ट अफिस ‘मेन’ किनेका हुन् । २९ मे देखि आफ्नो मातहतमा पोस्ट अफिस सञ्चालन भइरहे पनि यसको औपचारिक उद्घाटन भने जुलाइ अन्तिमतिर बेलायती व्यापार मन्त्रीमार्फत गराउने योजना रहेको तिवारीले जनाए ।
८८ वटा विभिन्न सेवा प्रदान गर्ने आफ्नो पोस्ट अफिस ‘मेन’ बेलायतमा नेपालीले किनेकामध्ये पहिलो भएको तिवारीले बताए । सानो स्केलमा पोस्ट अफिस (लोकल) सञ्चालन गर्ने बेलायतमा तीन जनामात्र नेपाली रहेको बताइन्छ ।
आफ्नो पोस्ट अफिसबाट चिठी, डकुमेन्ट्ससहित ३० केजी तौल सम्मका सबै प्रकारका सामान विश्वभर पोस्ट, ब्रिटिश पासपोर्ट ‘चेक एण्ड सेन्ड’, ‘आइडी भेरिफिकेसन’, बैंकिङ कारोवार (अकाउन्ट खोल्न, डिपोजिट/सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न, क्रेडिट कार्ड लिन, मोर्गेज) आदि सेवा उपलव्ध भएको तिवारी बताउंछन् ।
त्यसैगरि, ट्राभल अन्तर्गत संसार भरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस-रेल डिस्काउन्ट पास आदि पनि उपलव्ध छन् । इमर्जेन्सी पोस्ट सांझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेशल डेलिभरी’ व्यवस्था समेत त्यहां छ । सातै दिन खुल्ने उक्त पोस्ट अफिसमा ६ कर्मचारी कार्यरत छन् अहिले ।
एकवर्षको गृहकार्यपछि पोस्ट अफिस किन्न सफल भएको तिवारीले सुनाए । ‘म सबै समुदायलाई कभर गर्ने चार व्यवसाय जस्तो म्याक डोनाल्डस, पेट्रोल स्टेशन, कोस्टा र पोस्ट अफिस मध्ये एउटा चलाउन चाहन्थें’, उनले भने, ‘अन्तिममा ३७० वर्षको इतिहास बोकेको पोस्ट अफिस ‘ब्राण्ड’ पनि भएकाले यही गर्ने निधो गरें ।’
पोस्ट अफिस फ्रेन्चाइज लिन धेरै मिहिनेत गर्नुपरेको तिवारीले बताए । ‘मैले भरेको ६० पेज लामो आवेदन फाराम अध्ययन गर्नेमात्र ५ जना विज्ञ थिए’, उनले सुनाए, ‘फाराममा दश वर्षयताको क्रेडिट, वर्क र फाइनान्स हिस्ट्री भर्नुपर्ने, सिआरबी चेक, व्यक्तिगत पारिवारिक पृष्ठभूमि सबैबाट चित्त बुझेपछि मात्र काम हुने रहेछ । तथ्य प्रमाणसहित तीन वर्षको ‘बिजनेश प्लान’ बनाउनु पर्ने अनि दुई घण्टासम्म ‘बिजनेश प्लान’ प्रिजेन्ट गरेर बाहिरबाट झिकाइएका स्वतन्त्र विज्ञहरुको मन जित्नु पर्ने हुंदो रहेछ, मैले ति सबै चरण पार गरें ।’
नेपाल र बेलायतमा अध्यापनमा करिब १६ वर्ष बिताएका तिवारीलाई आफ्नो शैक्षिक योग्यता, अनुभव र प्रशिक्षणले पनि सहज बनाइदियो । व्यवसाय गर्न आवेदन दिएका १३ जनाबाट आफू छनोट भएको तिवारीले बताए । विगत १२ वर्षदेखि बेलायतमा स्थायी बसोवास गर्दै आएका तिवारी यसअघि शिक्षा र प्रोपर्टी विजनेशमा संलग्न थिए ।
बेलायत सरकारकै अभिन्न अंगको रुपमा सेवा दिन पाउंदा आफूलाई गर्व लागेको तिवारीले बताए । ‘हामी आप्रवासी भएपनि कसैले ब्रिटिश पासपोर्ट बनाउन आवेदन दिंदा वा आइडी भेरिफिकेसनका बेला म आफैंले हस्ताक्षर नगरि काम नबन्ने हुंदा जिम्मेवारीप्रति गर्व लाग्छ’, तिवारी भन्छन् ।
तिवारीको बुझाइमा चुनौति पनि उल्लेख्य छन् यो व्यवसायमा । ‘पोस्ट अफिसले ७५ वटा देशका नोटको कारोवार गर्ने भएकाले कतिपय अवस्थामा नक्कली नोट पर्ने जोखिम पनि रहन्छ’, उनी भन्छन्, ‘एटिएम मेसिनमा एकपटकमा एक लाख ४० हजार पाउण्ड राख्नुपर्ने हुंदा प्राविधिक गडबडी भयो भने आफैं फंस्न पनि सकिन्छ । चिठी पठाउने ४० बेग्ला बेग्लै तरिका छन्, नजाने यहीं समस्या हुने रहेछ । विजनेश म्यानहरु दैनिक हजारौं पाउण्ड बोकेर अफिस आउंछन्, भीड नबनाइ छिटो छिटो सेवा दिन सक्नु परयो । धेरै सरकारी निकायको निगरानीमा रहेर नियम कानुन पालना गर्नुपर्छ । दैनिक एक लाख पाउण्डसम्म कारोबार हुने भएकाले नगद व्यवस्थापन पनि गहन जिम्मेवारी हो ।’
तिवारीले आफूले पोस्ट अफिसमा काम गर्दा हांसिल गरेको अनुभव, ज्ञान, सीप नेपालको हुलाक सेवामा व्यवहारिक भएसम्म लैजाने सोच बनाएको बताए ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक