बेलायती महारानीको जन्मदिनमा नेपालीको परेड


लन्डन । बेलायतस्थित नेपाली समुदायले बेलायती महारानीको जन्मदिन (भिक्टोरिया डे) का अवसरमा एक रयाली निकालेका छन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीले शनिबार भिक्टोरिया डे मनाउने सिलसिलामा अल्डरसटमा परेड निकालेको हो । रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा आयोजित परेडमा यो वर्ष ३ सय सहभागी भए । सडक किनारमा झण्डै ४ हजार भन्दा बढी नेपालीको सहभागिता रहयो ।

स्थानीय नेपाली संघसंस्थाको सहभागिता र सहकार्यमा कार्यक्रम सफल भएपछि विगतमा हरेक दुई वर्षमा मनाइने भिक्टोरिया डे अचेल वार्षिक रुपमा मनाउन थालिएको हो ।

कार्यक्रममा विभिन्न धर्म, जाती, संस्कार र संस्कृति झल्कने पहिरन सहित करिव तीनसय भन्दा बढी परेडमा सहभागी भएका थिए । स्थानीय र नेपाली समुदायबीचको दुरी कम गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रममा प्रथम नौमती बाजा युके, बिसीसी यूके, शिल कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, लमजुङ्ग सेवा समाज, किरांत राई यायोख्खा 
युके, मगर संघ यूके, किरांत याक्थुङ्ग चुम्लुङ्ग युके, क्षेत्री समाज यूके, गेसो, मद्दत समूह, तमुधिं यूके, तमु पेलु संघ, गोर्खा आमा समूह लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको कम्युनिटीका वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।

उक्त अवसरमा गोर्खा आमा समूहले तीन वटा सामूहिक नृत्य प्रस्तुत गरेको थियो भने प्रथम नौमती बाजा युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्यायो ।

बिहान ११.०० देखि शुरु भई दिनभर चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष जीव बेल्बासेले सहभागी सबै संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, पेशाकर्मी लगायत कार्यसमिति 
एवं सल्लाहकारहरुलाई धन्यवाद दिए ।

उक्त कार्यक्रम सफल बनाउन कार्यसमिति, सल्लाहकारहरु, समस्त संघसंस्था, पत्रकारहरु, निवर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बीर बलाल र कोषाध्यक्ष टोप पल्लीको विशेष भूमिका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री