विश्व व्यापार युद्धको जोखिम बढ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार देखि लागू हुने गरि क्यानाडा, युरोपियन युनियन तथा मेक्सिकोबाट अमेरिका निर्यात गर्ने स्टिल तथा आल्मुनियममा क्रमशः २५ र १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणाले विश्व व्यापार युद्ध शुरु हुने चिन्ता बढेको छ ।

राष्ट्रपति ट्रम्पको यस नीतिको उल्लेखित देशहरुमा 
चर्को आलोचना हुनुका साथै ‘जस्तालाई तस्तै’ भन्ने उखान अनुसार यी देशले पनि उस्तै प्रतिशोधको नीति अख्तियार 
गर्ने चेतावनी दिएका छन् । युरोपियन युनियनले अमेरिकाबाट युरोपभित्र आयात हुने विलासी तथा अन्य सामानहरुमा थप भन्सार शुल्क लगाउने तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा दर्ता गर्ने जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोनले अमेरिकाको यस नीति गैर कानुनी भएको प्रतिक्रिया दिएका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले राष्ट्रपति ट्रम्पको यस नीतिले आफू निरासा भएको बताउंदै आगामी हप्ता हुने जी ७ बैठकमा यसबारे कुरा उठाउने बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावी घोषणामा अमेरिकाको अर्थतन्त्र तथा रोजगारीका लागि यस नीति अवलम्बन गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक भएको भन्दै आफू यस नीतिबाट पछि नहट्ने जिकिर ट्रम्पले गरेका छन् । जलवायू परिवर्तन सम्बन्धि पेरिसमा भएको 
अन्तर्राष्ट्रिय सन्धि तथा इरानको आणविक सम्झौताबाट अमेरिका अलग्गिने घोषणा यस भन्दा पहिले नै गरेपछि युरोप र अमेरिकाको दुरी बढीरहेको अवस्थामा यस व्यापार नीतिले सम्बन्ध थप चिसो हुने देखिएको छ ।

सन् २०१७ मा विश्वमा १ दशमलब ७ अर्ब मेट्रिक टन स्टिल उत्पादन भएको थियो, जसमा ४९ प्रतिशत चीन र १० प्रतिशत युरोपियन युनियनले गरेका थिए । २९ अर्ब डलर बराबरको कुल स्टिल आयात गर्ने अमेरिकाले १७ प्रतिशत क्यानाडाबाट आयात गरेको थियो ।

अमेरिकाको यस संरक्षण नीतिले विश्व व्यापार युद्ध, सामानहरुको मूल्य वृद्धि भइ व्यापार थप अस्थिरता र रोजगारी तथा विश्व अर्थतन्त्र अरु खल्बलिने संकेत भएको लन्डनस्थित अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्य बताउंछन् । संसारका तीन ठूला अर्थतन्त्र भएका अमेरिका, चीन तथा युरोपियन युनियनबीच हाल भइरहेको यस्तो तनावले दीर्घकालीन व्यापारमा असर पर्ने निश्चित छ ।

अमेरिकाको युरोपियन युनियनसंग व्यापार घाटा ३८ अर्ब डलर 
छ । अमेरिकाले ७८ अर्ब डलर इयूमा निर्यात गर्छ भने ११६ अर्ब डलर आयात गर्छ । हाल इयूले प्रस्तावित गरेको 
विभिन्न सामानमा १० प्रतिशत भन्दा धेरै भन्सार शुल्कको नीति अपनाए विश्व ब्यापार करिब ६ प्रतिशतले घट्ने आचार्यको विश्लेषण छ ।

अमेरिकाको चीनसंग सन् २०१७ मा व्यापार घाटा ३७५ अर्ब डलर रहेको तथ्यांक छ । यसलाई सम्बोधन गर्ने क्रममा अमेरिका र चीनसंगको सम्बन्धमा पनि उतारचढाव आइरहेको छ । बढ्दो व्यापार घाटा कम गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नीतिको वकालत गर्दै आएका छन् । उनले उत्तर अमेरिकी व्यापार सन्धिबाट पनि अमेरिका हटेको घोषणा केहि महिना अगाडि गरेका थिए ।

अमेरिकाको अतिरिक्त भन्सार शुल्कको विरोध बेलायतभित्र चर्किएको छ । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले अमेरिकी धम्कीको डटेर सामना गर्नुपर्ने जनाएको छ । बेलायतले करिब ३७ करोड पाउण्ड बराबरको स्टिल अमेरिकामा निकासी गर्छ ।

बेलायती व्यापारमन्त्री लियम फक्सले गत मार्चमा अमेरिका 
भ्रमणका बेला बेलायतमाथि अतिरिक्त भन्सार नलगाउन अनुरोध गरेका थिए । अमेरिका बेलायतबीच विशेष सम्बन्ध 
रहि आएकोमा राष्ट्रपति ट्रम्पको आगमनसंगै अमेरिकासंग बेलायतको राजनीतिक प्रभाव कम हुंदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री