स्कटल्याण्डमा नेपाली भाषा पठनपाठनको पांचौं वर्ष

लन्डन । स्कटल्याण्डको एबर्डिनस्थित नेपालीहरुको समाजिक 
संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर सञ्चालन 
गर्दै आएको नेपाली भाषा पठन पाठन कक्षा शुरु भएको पांचौं वर्षमा प्रवेश गरेको छ ।

बेलायतमै जन्मिएका बालबालिकालाई नेपाली भाषा शुद्धसंग बोल्न सिकाउन र नेपाली रितीरिवाज, चाडपर्व तथा संस्कृतिको बारेमा जानकारी दिने मुल उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिंदै आएको छ । नेपाली भाषा कक्षामा केहि समयअघि देखि नृत्य प्रशिक्षण कक्षा पनि थप गरिएको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी दिए । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर नेपालमा रहंदा शिक्षण पेशामा अनुभव हांसिल गरेका तथा भाषा र संस्कृतिमा रुचि भएका व्यक्तिहरु छनोट गरि पठन पाठन गराउंदै आएको छ ।

भाषा कक्षा सुचारु गर्न एसोसिएसनका कार्यसमिति सदस्य तथा पत्रकार शिव तिवारीको संयोजकत्वमा मिन भट्ट, प्रकाश जिसी, कल्पना जिसी, तोया सापकोटा, सिर्जना पाण्डे, सागर सिम्खडा, सगुन न्यौपाने, चण्डिका लामिछाने लगायतको समूह क्रियाशिल छ ।

कक्षा सञ्चालन भएको चार वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले नेपाली भाषा कक्षा निरन्तरताको प्रतिवद्धता व्यक्त गरे । संयोजक तिवारीले कक्षामा सहभागी नेपाली बालबालिकाहरु नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिंदै उक्त कार्यक्रम झनै प्रभावकारी भइरहेको बताए ।

एबर्डिनको माइल इण्ड प्राइमरी स्कुलबाट सुरु गरिएको नेपाली भाषा कक्षा हाल एबर्डिन सिटी काउन्सिलले उपलब्ध गराएको एसोसिएसनको आफ्नै कार्यालयमा सञ्चालन भइरहेको छ । नेपाली बालबालिकाको उल्लेख्य सहभागिता रहेको भाषा कक्षामा ३ देखि १५ वर्ष उमेर सम्मका बालबलिकालाई विभिन्न समूहमा विभाजित गरी पठन पाठन हुंदै आएको छ ।

विगत वर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि गत वर्षदेखि ‘द नेशनल लोटरी’ नामक संस्थाले सन् २०१७ र २०१८ का लागि करिब ५ हजार पाउण्ड सहयोग गरेको उक्त समाजिक संस्थाका प्रोजेक्ट कोर्डिनेटर नबीन क्षेत्रीले बताए । प्राप्त रकम प्रभावकारी योजना सहित बालबालिकाहरुको वृहत्तर विकासमा खर्च गर्न पाउंदा खुशी लागेको बताउंदै उनले सबै नेपालीबाट आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

संयोजक तिवारी तथा अध्यक्ष भट्टले संयुक्त रुपमा केक काटेर पांचौ वर्ष प्रवेशको स्वागत गरेका थिए । उक्त अवसरमा आर्ट प्रतियोगिता गरी सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नेपाली भाषा शिक्षकहरुलाई सम्मान गरियो ।

झण्डै २ घण्टा चलेको सो कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा. नारायण श्रेष्ठ, टक थापा, डा सोहन घिमिरे, विजय सिग्देल, तोया सापकोटा लगायतको सहभागिता थियो ।

स्कट्ल्याण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालको विभिन्न प्राकृतिक विपतमा समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री