गुरुङ फिल्म ‘शिरमाह्रानी’ प्रदर्शन

लन्डन । गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर बनाइएको गुरुङ फिल्म ‘शिरमाह्रानी’ बेलायतमा प्रदर्शन गरिएको छ । हालै बेलायतको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गरिएको हो ।

तमु पेल्यु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, तमुधिंका युके अध्यक्ष ज्ञाम गुरुङ, पैंयु खोला तमु समाज युकेका वरिष्ठ सल्लाहकारहरु मेजर इन्द्र प्रसाद गुरुङ र क्याप्टेन डेम बहादुर गुरुङ र बाच्छाली तमु परिवार युकेका सल्लाहकार क्याप्टेन भुवन सिंह गुरुङले संयुक्त रुपमा फिल्म प्रदर्शनीको उद्घाटन गरेका थिए ।

कार्यक्रममा गुरुङ साथै अन्य समुदायका दर्शकहरुको समेत उल्लेख्य सहभागिता थियो । फिल्मलाई अन्य भाषीहरुले हेर्न सकिने गरि नेपालीमा सवटाइटल राखिएको छ ।

पर्वतको बिहादी गाउँपालिकाको बाच्छा गाउँ, देउराली र केही सिन पोखरामा छायांकन गरिएको उक्त फिल्म गुरुङ भाषा र संस्कार संस्कृतिमा आधारित रहेको फिल्मका निर्माता हुम गुरुङले बताए ।

फिल्ममा दर्शन गुरुङ, सिमरन गुरुङ, खेमराज घले, तीव्रता गुरुङ, प्रीति गुरुङलगायतले अभिनय गरेका छन् । कमल गुरुङ र हुमबहादुर गुरुङको कथामा मनोज गुरुङले लेखन दिर्नेशन गरी फिल्म तयार पारेका हुन् । मुक्तिमनोज फिल्मको तेस्रो प्रस्तुतिको फिल्म ‘शिरमाह्रानी’ मा मनोज गुरुङ र हुमबहादुर गुरुङको गीतमा मनोज आफैंले संगीत भरेका छन् ।

फिल्म छायांकन खिमबहादुर गुरुङले गरेका छन् । ३ वटा गीत समेटिएको फिल्ममा ‘ङला ङोल्स्यो शिरमाह्रानी’ बोलको गीत अहिले गुरुङ समुदायमा चर्चित छ ।

फिल्म नेपाल अमेरिका दुबई, अष्ट्रेलिया, मलेसिया, कोरिया र युरोपमा समेत प्रदर्शनको तयारीमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री