व्यापार घाटा घटाउने बजेट बनाउन सुझाव

काठमाडौँ, २७ वैशाख – सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५-७६ का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले मुलुकको स्वाभिमान बढाउने र छिमेकीसँगको व्यापार घाटा कम गर्ने पाटोलाई पनि बजेट तर्जुमा गर्दा उत्तिकै ध्यान दिन जोड दिए ।

स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले मुलुकको जनसंख्याको ८२ प्रतिशत कृषिमा संलग्न भए पनि किसानले उत्पादनको मूल्य निर्धारण गर्न नपाउनु नै अहिले मुख्य समस्याका रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको मूल्य तोक्न मूल्य निर्धारण आयोग गठन हुनुपर्छ । चुनावमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सांसद कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।”

नेकपा (एमाले) का योगेश भट्टराईले भन्नुभयो, “व्यापक जनआधार र विश्वास रहेको अहिलेको सरकारलाई जनअपेक्षाअनुरुपको बजेट प्रस्तुत गर्नबाट चुक्ने सुविधा छैन, सीमान्तकृत र मजदूरलाई माथि उठाउन सक्छौँ भन्नेतर्फ बजेट केन्द्रित हुनुपर्छ ।”

“छिमेकीसँगको व्यापार घाटालाई कसरी कम गर्न सक्छौँ, मुलुकको स्वाभिमान र अर्थतन्त्रलाई कसरी माथि उठाउन सक्छौँ र स्थानीय तहलाई कसरी बलियो बनाउने भन्ने ढंगबाट बजेटले स्पष्ट खाका दिनुपर्छ ” उहाँले भन्नुभयो।

राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले विदेशमा रहेका ५०औँ लाख युवालाई स्वदेशमा फर्काउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा आउने छनक नदेखिएको गुनासो गर्नुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आगामी बजेटमा जोत्नेलाई भूमि, भूकम्पपीडितलाई रु १० लाख अनुदान, प्रत्येक प्रदेशमा विश्वविद्यालय, हरेक जिल्ला र स्थानीय तहमा सुविधासम्पन्न अस्पताल खोल्ने कार्यक्रम आओस् भन्नुभयो ।

स्वतन्त्र सांसद छक्कबहादुर लामाले संघीयताको भावनाअनुरुप बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई मूर्तरुप दिन छाती ठूलो बनाएर बजेटको आकार बढाउन आग्रह गर्नुभयो ।

सांसद विनोद चौधरीले सबै नेपाली जनताको आर्थिक समृद्धिको अधिकार हो भन्ने ढंगबाट सबै राजनीतिक दल अघि बढ्न र सोहीअनुसारको बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले व्यापार गर्ने होइन, व्यापार गर्ने वातावरण सिर्जना गर्ने हो । दश प्रतिशत गार्हस्थ्य उत्पादन गर्न वार्षिक रु १० खर्बको लगानी गर्नुपर्छ । अहिलेको रु तीन खर्बको लगानीबाट हामीले चाहेको उपलब्धी हाँशिल गर्न सक्दैनौं ।”

माओवादी केन्द्रका प्रभु शाहले आगामी बजेटले भौतिक पूर्वाधार निर्माणलाई अघि बढाउन, आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न र आयोजना निर्माणलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्न सुझाव दिनुभयो ।

नेकपा (एमाले) का गणेश ठगुन्नाले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउनु पर्ने भएकाले सो कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका भरतबहादुर शाहले तीन तहमा राजश्व संकलन र बाँडफाँड नै अहिलेको ठूलो चुनौती रहेको बताउनुभयो ।

सांसद विमला विकले मुलुकको भौगोलिक विविधता र भौगोलिक धरातलका आधारमा बजेट विनियोजन हुनुपर्छ भन्नुभयो ।

नेपाली काँग्रेसकी उमा रेग्मीले बजेट चौतर्फी छरिएर आउने संकेत देखिएको र स्वास्थ्य बीमालगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको देखिन्छ भन्नुभयो ।

माओवादी केन्द्रका सत्या पहाडीले जल, जंगल र जमिन हाम्रा आम्दानीका मुख्य स्रोत भएकाले त्यसको समुचित प्रयोग हुने ढंगबाट बजेट विनियोजन गर्न तथा समानुपातिक र समावेशीको सिद्धान्तलाई पनि ख्याल गर्न सुझाव दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री