‘मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका लागि मुक्तिनाथ परिसर क्षेत्रमा सरसफाइ गरिँदै । तस्बिर – निरज थकाली, ठिनी (मुस्ताङ), रासस

मुस्ताङ, २७ वैशाख – प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससंगै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो ।

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उहाँले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भन्नुभयो । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहेको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउनुहुन्छ । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउनुहुन्छ । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पुरयाउने उहाँको विश्वास छ ।

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् ।

करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताउनुभयो । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ ।

बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो ।

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुरयाएका छन् । वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री