तमुधिं यूके गुरुङहरुको आदिम थलो अध्ययन 
गरेर बेलायत फर्कियो

लन्डन । तमुधिं यूके नेतृत्वको एक टोली गुरुङहरुको आदिम थलो क्होलसोंथरको अध्ययन भ्रमण टोली गतहप्ता बेलायत फर्किएको छ । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङको नेतृत्व, सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्व, उपाध्यक्ष नन्दजंग गुरुङ र सल्लाहकार तर्कजंग गुरुङको सह-संयोजकत्वमा गत अप्रिल ११ तारिख नेपाल गएको अध्ययन टोली तीन साताको भ्रमण पश्चात बेलायत फर्किएको हो ।

टोलीले गत अप्रिल १४ देखि पोखराबाट भ्रमण शुरु गरेको थियो । टोली लमजुङको घले गाउं, भुजुङ र नईबु हुंदै तीन दिनमा गुरुङहरुको पैत्रिक थलो क्होलसोंथर पुगेको थियो ।

त्यहां २ दिनको अध्ययन पश्चात कास्कीको सिक्लेस ताङतिङ हुंदै भ्रमणदलका सदस्यहरु एकसातापछि पोखरा फर्किएका थिए । भ्रमणका क्रममा प्रदेश नम्बर ४ को मादी गाउंपालिका सिक्लेसमा क्होलसोंथरबारे एक अन्तरक्रिया समेत आयोजना गरिएको तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । उनले गुरुङहरुको उद्गम थलो क्होलसोंथरको राष्ट्रिय स्तरबाटै संरक्षण तथा सम्वर्धन गर्न प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आश्वासन दिएको बताए । अध्यक्ष गुरुङले क्होलसोंथरलाई विश्व सम्पदा सूचीमा राख्नुपर्ने माग समेत गरिएको जनाए ।

सो अन्तरक्रियामा उठेका विभिन्न जिज्ञासाहरुलाई समेटेर २५ बुंदे ‘सिक्लेस घोषणा पत्र’ जारी भएको छ । अध्ययनका लागि गरिएको उक्त भ्रमण अत्यधिक सफल भएको बताउंदै अध्यक्ष गुरुङले भ्रमणका क्रममा विभिन्न व्यक्ति, समूह, गाउंपालिका र संघसंस्थाहरुले आफूहरुलाई स्वागत गरेको स्मरण गरे । सबैको साथ र सहयोगले भ्रमण सफल भएकामा उनले आभार व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङले भ्रमणको सिलसिलामा पोखराका विभिन्न संघसंस्थासंग भेटघाट भएको स्मरण 
गर्दै आफूहरुले धादिङको खादिङस्थित श्री हिमालय सरस्वती प्रा.वि.को समेत शिलान्यास गरेको अवगत गराए । उनले भूकम्पबाट क्षतिग्रस्त सो विद्यालय पुर्ननिर्माणको जिम्मा तमुधिं यूकेले लिएको जानकारी दिंदै करिब ५० लाख रुपैयांको लागतमा सो विद्यालय निर्माण हुन लागेको बताए ।

भौगोलिक रुपमा अत्यन्त विकट गाउंमा अवस्थित सो विद्यालयको गत २५ अप्रिल अर्थात् २०७५ सालको 
बैशाख १२ गते आफू र संयोजक सुर्जे (रामचन्द्र) ले संयुक्त रुपमा शिलान्यास गरेको अध्यक्ष गुरुङले जनाए । उनले पहार ट्रष्ट नेपालसंगको प्राविधिक सहयोगमा निर्माण भइरहेको उक्त विद्यालय करिब ६ महिनामा पुरा हुने आशा व्यक्त गरे ।

भ्रमणका क्रममा विभिन्न स्थानको अवलोकन 
गर्दै फोटोग्राफर मिलन गुरुङको रोधीं घरको आंगन भाग-२ को रमणीय गाउं घाचोकमा कौरा गीतको छायांकन समेत गरिएको थियो । त्यस्तै, संयोजक एकेन्द्र गुरुङको दुईवटा कृतिहरु ‘धर्तीमा जुन’ र ‘मनका तरंग’ को पोखरामा विमोचन गरियो ।

समुन्द्री सतहदेखि ३७८६ मिटरको उचाईंमा अवस्थित क्होलसोंथरको भ्रमण दलमा बेलायतबाट तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ, प्रमुख सल्लाहकार डा. चन्द्र बहादुर गुरुङ, उपाध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, सदस्य श्री गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, जुमकाजी गुरुङ, जंगबहादुर गुरुङ, नरजंग गुरुङ, तिलबहादुर गुरुङ, केशबहादुर गुरुङ, डा. जित बहादुर गुरुङ (युएनओ), क्या. रि. राजु गुरुङ, फोटोग्राफर मिलन तमु, तर्कजंग गुरुङ, ओमेन्द्र गुरुङ, भिम गुरुङ, हरि गुरुङ, डा. नमरजंग गुरुङ र तारा गुरुङ (अमेरिका) थिए ।

त्यस्तै, तमुधिं यूकेका सल्लाहकार मेजर लक्षिम प्रसाद गुरुङ, हिमाल गुरुङ, पत्रकार हुम गुरुङ, तमु मैतांका युग गुरुङ, पुनम गुरुङ र दिपक गुरुङ नेपालबाटै सो स्थानको भ्रमणका लागि पुगेका थिए । पोर्टर, गाईड र धर्मगुरु ३२ गरी जम्मा ६० जना सो स्थानमा पुगेको तमुधिं यूकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री