सेवारो कलाकार संघ यूकेमा पुनः दुर्गा

लन्डन । सेवारो कलाकार संघ यूकेको तेश्रो अधिवेशनले दुर्गा पाङमालाई पुनः अध्यक्षमा चयन गरेको छ । गत शनिबार डिपकोट कम्युनिटी सेन्टर क्याम्बर्लीमा सम्पन्न अधिवेशनले उपाध्यक्षहरुमा पूर्ण साउदेन, बिमला लिम्वु, भिम मादेन, युवराज इस्वो र रिता फोम्वोलाई चयन गरेको छ ।

त्यसैगरि महासचिवमा जय मादेम्वा, सचिवमा शान्ति खिम्दिङ, कोषाध्यक्षमा सानु सुब्बा र सहकोषाध्यक्षमा भक्ति आङदेम्वेलाई चयन गरेको छ भने हाक्पारे, ख्याली विभागमा सुवर्ण नेम्वाङ र पदम सम्वाहाङफे, केलाङ (च्याब्रुङ) विभागमा कवित यक्सो, यालाङ (धान नाच) मा रिता फोम्वो र भक्ति आङदेम्वे र मुन्धुममा वीरध्वज आङवोहाङ लिम्बुलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन मण्डलको अध्यक्षमा संस्थापक अध्यक्ष काजीमान यक्सो, सदस्य सचिवमा लिला सेलिङमावो र सल्लाहकार डम्वर सिङगक सदस्य थिए । महासचिव विमला लिम्वुको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सानु सुब्बाको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष दिलसिं मेन्याङवोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनको पहिलो सत्रमा कलाकार रिता फोम्वो, दुर्गा पाङमा र भक्ति आङदेम्वेको संयुक्त एल्बम इच्छिङमा को विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेन्याङवोले नयां कलाकारहरुले जतिसुकै राम्रो गीत, संगीत, शब्द तथा दृष्य दिए पनि सांगीतिक बजारमा महत्व नपाएको गुनासो पोख्दै कलाकारहरु पनि संगठित हुन आवश्यक रहेको बताएका थिए ।

सोही अवसरमा हालसालै नयां कृति तथा गीत (एल्बम) निकाल्ने 
संघमा आवद्ध कलाकारहरुलाई पथाङ ओढाई सम्मान तथा वधाई पनि दिइएको थियो ।

वधाई तथा सम्मान पाउने कलाकारहरुमा सुवर्ण नेम्वाङ र नन्दशोभा नेम्वाङ (कुसङ साङलाङ), दिलसिं मेन्याङवो (दिलको श्रृजना), गौरीमाया साउदेन र पूर्ण साउदेन (इच्छिङ) र आसराज वोखिम हुन् ।

कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नयां सदस्य बनेका कलाकारहरुलाई सिलाम साक्मा प्रदान गर्दै स्वागत गरेकी थिइन् । कार्यक्रममा केवाइसी यूकेका उपाध्यक्ष नगेन्दर नेम्वाङ, किरात राई यायोख्खा संस्कृतिक मञ्चका उपाध्यक्षद्धय विनोद राई र निर्मला राई, किरात याख्खा छुम्माका उपाध्यक्ष वसुन्धरा राई, नेपाल आदिवासी जनजाती महिला संघ वरिष्ठ उपाध्यक्ष तथा केवाइसी थामेन्दीमा अध्यक्ष युमा लिम्वु, संस्थापक अध्यक्ष काजीमान याक्सो, सल्लाहकार तथा केवाइसी पूर्व अध्यक्ष डम्वर सिङगक, सल्लाहकार सुवर्ण नेम्वाङ, कलाकार भक्ति आङदेम्वे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो दिन बिहानै किरात परम्परा अनुसार यक्वा पूजा अर्थात (उभौली) पूजा समेत गरिएको थियो । पुजारी वीरध्वज आङवोहाङले पूजा पश्चात सबैलाई आशीर्वचन प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पूर्ण साउदेनले स्वागत गरेको सो कार्यक्रममा या लाङ, हाम्पारे तथा के लाङ पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री