लन्डन । ‘हाइटेक सिनेमा हेर्न त फूर्सद ननिकाल्ने जमातलाई नाटकतिर आकर्षित गर्न कम चुनौति छैन्’, लन्डनवासी रंगकर्मी सनमकुमार बैराग बेला बेला नाट्यकर्मबाट विचलित नहुने होइनन् । तर, फेरि सोच्छन्, ‘सबैले वेवास्ता गर्ने हो भने विदेशमा नेपाली नाटकको हालत झन् के होला ? त्यसकारण यसलाई त बचाउनु पर्छ ।’
ऐतिहासिक कथावस्तुको नाटक ‘भिमसेन थापा’ लन्डनमा प्रदर्शन गर्ने तयारीमा छन् सनम । उनले निर्देशन र अभिनय गरेको उक्त नाटक आगामी १२ र १३ मे दुई दिन लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा मञ्चनको तयारी छ । भिजन संसारको प्रस्तुति हो भिमसेन थापा । एक घण्टा दश मिनेट लामो उक्त नाटकमा सनम, दुर्गा गुरुङ, सुरेश श्रेष्ठ, अभिषेक र सुसान गुरुङको अभिनय छ ।
‘समय दृश्य’ र ‘जीगिषा’ नाटकको सफल प्रदर्शन अघि सनमले ‘भानुभक्त’ को छोटो नाटक समेत गरेका थिए बेलायतमा । त्यो नाटक हेरेर प्रभावित वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले सनमलाई ‘भिमसेन थापा’ पनि बनाउन सुझाए । दुबसु क्षेत्री नेशनल डेभलप्मेन्ट फाउण्डेशनले निकालेको सिद्धिचरण श्रेष्ठको ‘भिमसेन थापा’ कृतिलाई अडियो बुक बनाउंदै थिए खगेन्द्र ।
‘शुरुमा कृति पढ्दा त अप्ठेरो लागेको थियो । म आफ्नै ढंगले बनाउंछु भनेपछि खगेन्द्र दाईले मान्नुभयो’, सनम भन्छन्, ‘भिमसेन थापाले जेलमा आत्महत्या गर्न खोजेपछिका ९ कष्टकर दिनबारे यो नाटक केन्द्रित छ । यसमा उतारचढाव, हांसो र वियोगका दृश्य रहनेछन् ।’
सनमको उक्त नाटकलाई बढावा दिन ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ मेरुदण्डका रुपमा छ । उक्त कम्पनीका सञ्चालक मिन दर्लामी बेलायतमा नेपाली कला, संस्कृतिलाई संरक्षण गरिनुपर्छ भन्ने उद्देश्य अनुरुप भिमसेन थापा नाटकलाई आर्थिक प्रायोजन गरिएको सुनाउंछन् ।
सन् १९९९ मा बेलायत आए सनम । स्कटल्याण्डमा कल्चरल कार्यक्रम गर्न आएका थिए उनी । त्यसयता बेलायत रहेका उनले यहां पनि उनले आफ्नो कलाकारिता त्यागेका छैनन् । नेपाल र नेपाली कला संस्कृति एवं भाषा उनको मस्तिष्कमा चट्टान जस्तै अडिएको छ ।
नेपाल छंदा सन् १९९० को दशकमा अभिनयमा खुबै व्यस्त भए सनम । उनका शुरुवातका दिन रोचक रहे । नाट्यश्वर कला निकेतनमा अभिनय सिक्न गएका उनी सिट नपाएर डान्समा पो भर्ना भए । क्लासिकल डान्स लेभल टु सम्म गरे । तर, डान्स आफ्नो लाइन नभएपछि अभिनयतिरै लागे सनम । कथा, कविता पनि लेख्थे उनी । सानै देखि अभिनयको नक्कल गर्ने, साथीभाइमाझ जोक सुनाएर हंसाउने उनको स्वभाव थियो ।
नाट्यश्वर कला निकेतनमा अभिनय सिक्दै जांदा नाटक गर्ने निष्कर्षमा पुगे उनी र साथीहरु । सन् १९८५ तिर हुनुपर्छ, पहिलो नाटक ‘सत्यनास’ गरे जुन ४५ मिनेट लामो थियो । त्यतिबेला उक्त नाटक राष्ट्रिय नाचघरसहित विभिन्न ठाउंमा ४५ वटा शो गरिएको उनी सम्झन्छन् ।
पहिलो नाटक नै सफल भएपछि उनी झन् हौसिए । राष्ट्रिय नाटक महोत्सवमा भाग लिए धेरै पटक । साहित्यकारको रचना कति महत्व हुन्छ भन्ने विषयको ‘एक अन्तकारी’ नामक नाटक गरे साथीहरुसंग मिलेर । नाटक लेख्ने, खेल्ने दुवै गर्थे उनी ।
नाटक गरेर मात्र भएन, यसबाट राष्ट्रका लागि केही दिन सकियोस् र आत्मसन्तुष्टि पनि हुनुपर्छ भनेर सन् १९९० मा राष्ट्रिय टेवा कार्यक्रम शुरु गरे सनम र साथीहरुले । हरेक वर्ष गरिन्थ्यो त्यो कार्यक्रम । ‘पहिलो कार्यक्रम सन् १९९० मा सार्क बालिका वर्षका रुपमा गरेर ‘इतिहासको पाना पल्टिसकेको छ’ नामक नाटक देखायौं । अर्को वर्ष बन जंगल, वातावरण र हाम्रो दायित्व थिममा ‘विश्वको अधुरो उपन्यास’ नाटक देखायौं । एड्सबाट बचौं र बचाउं भन्ने सन्देशको ‘कालो रगत’ नामक नाटक पनि गरयौं’, सनम विगत सम्झन्छन्, ‘डिमाण्ड बढेपछि ‘एड्स भाग २ पनि गरयौं फ्रेन्च कल्चर सेन्टरमा ।’
रमेश शाहीले निर्देशन गरेका हरेक टेलिसिरियल सनमले लेख्थे र संगै अभिनय पनि । ‘बाउको बिहे’, ‘स्वयम्भूको आंखा’, ‘सम्भव असम्भव’ सिरियलको पटकथा, संवाद र अभिनय सनमको थियो । ‘सम्भव असम्भव’ को त गीत पनि लेखे उनले जसलाई आनन्द कार्कीले गाएका थिए ।
उनको ‘यथार्थ यात्रा’ नामक सिरियल नेपाल टेलिभिजनमा प्रसारण भयो । उक्त सिरियलमा योगेश वैद्यले गाएको ‘रोएर मन छल्केका छन् आंसु…’ उनैले लेखेका थिए । त्यसो त कुमार कान्छा, प्रेमध्वज प्रधानले समेत गाएका छन् सनमले कोरेका गीत ।
नेपाली नाटकमात्र होइन, बज्र होटलमा उनले अंग्रेजी नाटक ‘द टेम्पेस्ट’, लगायत कयौं गरे । फ्रेन्च कल्चर सेन्टरमा आवद्ध भएर कयौं नाटक गरिएको सनम सम्झन्छन् । त्यतिबेला सुवर्ण थापा, शोभा चन्द, किशोर डंगोल र सनमले फ्रेन्च भाषा सिक्न र फ्रान्स भ्रमणको ‘स्कलरसिप’ पाए । फ्रान्स गएर त्यहां करिब साढे तीन महिना नाटक र वर्कसपमा भाग लिए । ‘फ्रान्स गएर हामीले धेरै सिक्यौं । स्क्रिप्ट बिना वर्कसप गरेर पनि नाटक बनाउन सकिने रहेछ भन्ने सिकियो’, सनम भन्छन्, ‘वास्तवमा हामीले गर्ने नाटकको ट्रेन्डमा नै परिवर्तन आयो । पश्चाताप, बरालिएका पाइलाहरु, बोधीसत्व (नेवारी र नेपाली) नाटक स्क्रिप्ट बिना गरियो ।’
बोधीसत्व बौद्ध सम्मेलन पोखरामा पनि देखाइएको उनले स्मरण गरे । सनमको निर्देशनमा बनेको ‘अजात शत्रु’ नाटक खुब चलेको बताउंछन् उनी । उनले ‘उदमबरा’ नेवारी नाटक पनि गरे बौद्ध विहारमा । उनी आफैंलाई बढि चित्त बुझेको नाटक रहेछ त्यो ।
‘जंगबहादुर’ टेलिसिरियल गर्न लाग्दा सनम बेलायत आए । बेलायत आएर पनि सनमको नाटयकर्म रोकिएन । सन् २००० तिर ‘माइन्ड द ग्याप’ नामक नाटक देखाएको हेक्का उनलाई छ । द्वन्द्वकालिन विषयमा केन्द्रित थियो उक्त नाटक । त्यतिबेला कलाकार विस्थापित भइरहेको वास्तविकतालाई उतारेका थिए उनले । प्लमस्टिडमा उक्त नाटक देखाउंदा भने सनम बडो दुःखी भए । ‘नाटक देखाउंदा दर्शकलाई वास्तै छैन् । खाने पिउने, बारतिरको हल्लाले डिस्टर्ब भइरहेको छ । कलाकारको सम्मान, इज्जत नै नगर्ने । यस्तो देखेपछि मेरो मनै मरयो’, सनम पुरानो दिन सम्झन्छन्, ‘ब्रिटिश, फ्रेन्च नाटकमा कस्तो सम्मान र इज्जत हुन्छ कलाकारको । नेपालीले भने नाटक हेरुन्जेल पनि कदर नगर्ने देखेर त्यतिबेला मलाई दुःख लाग्यो ।’
लन्डनमा रहंदै गर्दा भारती भवनले ‘भागवत गीता’ नाटकमा अभिनय गर्न अफर गरयो उनलाई । सनम अडिसनमा गएका थिए आयोजकले तुरुन्त छानिहाले । सनमले त्यसमा दुर्योधनको रोल गरेका थिए जुन नाटक बेलायतका २५ शहरमा देखाइएको थियो ।
‘त्यसपछि हामीले पनि यस्तै गरि नेपाली नाटकलाई विस्तार र विकास गर्न पाए हुन्थ्यो भन्ने लाग्यो’, सनमले सुनाए, ‘यही क्रममा तेन्जी पाख्रिनले भूकम्प गएको विषयमा नाटक बनाऔं न भन्नुभयो । मैले शुरुमै पैसा चाहिं आउन्न तर गरौं भनेपछि उहां जोखिम लिन राजी हुनुभयो र समय दृष्य बनाइयो ।’
२३ जना कलाकार राखेर गरिएको उक्त नाटक रेडिङ र हन्स्लोमा देखाइएको र दर्शकहरुले रुचाएको सनम बताउंछन् । तर विविध कारणले अझ पर्याप्त ठाउंमा देखाउन नसकिएको उनले गुनासो गरे ।
‘समय दृश्य’ गरिसकेपछि मानिसहरुले सोधिरहे अब के गर्ने योजना छ ? सनमलाई एक किसिमको ‘प्रेसर फिल’ भयो । उनले सोचे ‘जीगिषा’ बनाउंछु । सुवर्ण थापासंग मिलेर नेपालमै गरेका थिए उनले ‘जीगिषा’ । सनमले अलिकति परिमार्जन गरेर यूकेमा पनि जीगिषा देखाए जसलाई दर्शकले औधि रुचाए । ‘जीगिषा भनेको जित्ने इच्छा हो’, उक्त नाटकबारे सनम प्रष्टयाउंछन्, ‘सरकार माओवादी युद्धमा धेरैले ज्यान गुमाए । पछि माओवादी लडाकु शान्ति वार्तामा आए । विडम्बना नेताहरु सत्तामा पुगे तर तिनै मध्ये कति लडाकु अयोग्य ठहरिए । बन्दुक बोक्दा अयोग्य नहुने पछि अयोग्य भनेर तिनलाई घर न घाटको बनाइयो । नाटक यस्तै सेरोफेरोमा घुमेको थियो ।’
राजदूत डा. दुर्गाबहादुर सुवेदीले रुचाएपछि बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको २०० वर्षको अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित साताव्यापी कार्यक्रमका बेला पनि देखाइएको थियो ‘जीगिषा’ ।
बेलायतमा नाटकप्रति नेपालीको त्यति रुची नभएको सनमको गुनासो छ । ‘तर, उत्कृष्ट नाटक दिने मेरो प्रयास जारी रहन्छ’, सनम भन्छन्, यसबाट अहिले नै दाल, भात तरकारी खान पुग्दैन तर भविष्यमा व्यवसायिक बनाउन सकिने अठोटले म निरन्तर लागिरहेको छु ।’
उनले आगामी वर्ष आयो गोर्खाली नामक अंग्रेजी नाटक र फिल्म निर्देशन गर्ने योजना समेत सुनाए ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित