हाङपाङ समाज युकेमा नयाँ नेतृत्व

लण्डन । हाङपाङ समाज युकेको नयाँ अध्यक्षमा यमबहादुर आङबुहाङ निर्वाचित भएका छन् । समाजको आइतबार लण्डनमा सम्पन्न दोस्रो अधिवेसनले आङबुहाङको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा टेक खपाङ्गीमगर, उपाध्यक्षमा मेदिनी फोम्बो, महासचिवमा सरला सुब्बा, सचिवमा चन्द्रकुबेर आङबुहाङ, कोषाध्यक्षमा दिपेन्द्र याक्सो र सहकोषाध्यक्षमा बबिता याक्सो लिम्बु चयन भएका छन् । समितिमा रिक्त चार पद कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक काजीमान याक्सोले खादा लगाई बधाई ज्ञापन गरे । निर्वाचन कार्यक्रम सम्पन्न गर्न याक्सोको संयोजकत्वमा नरेश खपाङ्गीमगर सचिव र मिना याक्सो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष विश्वराज फेयङ साँवा, रत्न फोम्बो र मिना याक्सोले बधाई तथा शुभकामना दिए भने नवनिर्वाचित अध्यक्ष आङबुहाङले प्रतिवद्धता मन्तब्य व्यक्त गरे ।

यसअघि समाजका महासचिव टेक खपाङ्गीमगरले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र याक्सोले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । साथै, समाजका सदस्यहरुको कल्याणका विभिन्न उपायका बारेमा छलफल पनि गरिएको थियो ।

ताप्लेजुङ जिल्लाको तत्कालिन हाङपाङ गाविस (हालको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ३) बाट युकेमा बसोबासरतहरुले केही वर्षअघि सो संस्था स्थापना गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री