सृजनशील नेपाली समाज युकेको दशौँ वार्षिकोत्सव

लण्डन । सृजनशील नेपाली समाज युकेको दशौँ वार्षिकोत्सव शनिबार अल्डरसटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।

सो अवसरमा बोल्दै राजदूत सुवेदीले सृजनशील नेपाली समाजलाई विगत सम्झेर लघुताभाष नहुन र वर्तमानलाई सम्झेर हीनताबोध नगर्न आग्रह गरे । उनले अहिलेको नेपाल पहिलेको जस्ता नरहेको र सामाजिक विभेदलाई अन्त्य गर्न संविधान, कानुनमा धेरै प्रावधानहरु आइसकेको सन्दर्भ कोट्याउँदै अबको नेपाल उज्यालो नेपाल हुने धारणा व्यक्त गरे ।

समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका उपाध्यक्ष शेर सुनारले आफ्नो पहिचानमा गर्व गर्नुपर्ने बताए । एनआरएनए युकेका अर्का उपाध्यक्ष प्रेम गाहामगरले समाजलाई दशौँ वार्षिकोत्सवको शुभकामना दिए । ओभरसिज नेपलिज फोरम, युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले समाजमा हुने विभेदका विरुद्ध लड्न आफू साथै रहने प्रतिवद्धता व्यक्त गरे । ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष जीव बेल्बासेले विगतका तीता अनुभव बिर्सेर समाजका सबै सदस्यसरह हुँ भन्ने मनोबल लिएर अघि बढ्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सृजनशील समाजका सदस्यहरुलाई पत्रकारिता तालिम दिलाउन सहयोग गर्ने र समाजले गर्ने कार्यक्रमहरुमा पत्रकारहरुको साथसहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोरखा तमु समाजका अध्यक्ष फडकजीत गुरुङ, विश्वकर्मा सेवा समाज युकेका अध्यक्ष थाम विश्वकर्मा र समाजका सल्लाहकार श्यामलाल सुनारले शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु बिबी अनुरागी र मञ्जु बिक लगायतले मनोरञ्जन दिलाए । संस्थापक महासचिव विकास रनपैलीको संचालनमा भएको सो कार्यक्रममा हेल्थ एण्ड सेफ्टी सचिव दिलबहादुर नेपालीले र स्वागत मन्तब्य उपाध्यक्ष राजकुमार सुनारले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री