डायमन्ड बुद्धिस्ट सेन्टर युकेको च्यारिटी

लण्डन । डायमन्ड बुद्धिस्ट सेन्टर युकेको पहिलो च्यारिटी कार्यक्रम शनिबार लण्डनस्थित एसकेएसएस हिन्दु मन्दिर, वुलवीच कमन हलमा सम्पन्न भएको छ । दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि एउटा बौद्ध गुम्बा निर्माण गर्ने अभियानका लागि सो च्यारिटी आयोजना गरिएको हो ।

कार्यक्रमबाट गुम्बा निर्माणका लागि पहिलोपटक लगभग ६० हजार पाउण्ड रकम संकलन भएको जानकारी अध्यक्ष सुमलकुमार गुरुङले दिएका छन् ।

संस्थाले केही समयदेखि धार्मिक कार्यक्रमहरूमा सक्रियता जनाइ आर्थिक संकलन गर्दै आएको छ । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा युकेका विभिन्न संघ संस्थाहरूका प्रतिनिधि सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथि एनआरएन आईसीसीका अडभाइजरी काउन्सिल सदस्य मोहन गुरुङले यस क्षेत्रमा एउटा बौद्ध गुम्बाको निर्माण कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रम नेपालबाट आएका बौद्ध धर्मगुरुहरू र आमा समूहको बुद्ध प्रार्थनाबाट सञ्चालन गरिएको थियो । कार्यक्रमलाई अतिथिहरू एनआरएनए यूकेका उपाध्यक्ष पुनम गुरुङ, तमुधिं यूके कोषाध्यक्ष दिपक गुरुङ, बीसीसी यूकेका अध्यक्ष नारायण प्रसाद गुरुङ ‘बीईएम’ तथा साउथईस्ट लण्डन, पासा पुचः गुठीका अध्यक्ष सुशील प्रजापतिले सम्बोधन गरेका थिए ।

कार्यक्रमको प्रथम चरणमा नेपालमा विमान दुर्घटनामा परी दिवंगत भएका नेपाली डाक्टरहरूको स्मरणमा श्रद्धान्जली स्वरुप एक मिनट मौन धारणा गरेर डाक्टर सुदर्शन गुरुङले बुद्ध भजन प्रस्तुत गरेका थिए । यसै अवसरमा यस क्षेत्रमा बसोबास गरेका नेपाली चेलीद्वय एलिसा क्षत्री र सरिता श्रेष्ठले लोक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा ट्रस्टी, आजिवन सदस्य तथा साधारण सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । झण्डै चारसय जनाले ट्रस्टी, आजिवन सदस्य तथा साधारण सदस्यमा आफ्नो नाम दर्ता गरेको जानकारी अध्यक्ष गुरुङले दिएका छन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्षद्वय मीना गुरुङ र हितमान गुरुङले स्वागत तथा शुभकामना मन्तव्य प्रकट गरेका थिए । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले संस्थाको पृष्ठभूमि, कृयाकलापहरू र भावी योजनाबारे ‘पावर प्वाईन्ट’ माध्यमबाट सहभागीहरूलाई अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री