कांग्रेस संसदीय दलको नेतामा ४४ मतका साथ देउवा विजयी, प्रकाशमानलाई १९ मत

संसदीय दलको नेतामा विजयी भएपछि देउवा पार्टी नेताहरूसँग । तस्वीरः रासस

काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । नेतृत्व परिवर्तनको माग गरिरहेको समूहबाट उम्मेदवार बनेका देउवा प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । देउवा प्रचण्ड बहुमतका साथ संसदीय दलको नेतामा विजयी भएसँगै नेतृत्व परिवर्तनको एजेण्डा बोकेकाहरूलाई समेत धक्का लागेको छ ।

रामचन्द्र पौडेल खेमाको समेत समर्थनमा उम्मेदवार बनेका सिंहलाई केही उनकै प्यानलका सांसदले पनि भोट नदिएको देखिएको छ । किनभने, सिंहका पक्षमा न्युनतम २७ मत खस्ने अनुमान गरिएको थियो । तर, उनका पक्षमा १९ मत मात्र खस्यो ।

जबकी पौडेल पक्षकै १९ सांसद छन्, त्यसमाथि कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षले पनि प्रकाशनमानलाई समर्थन गरेको दाबी गरिएको थियो ।

चार पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा यो निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेता भएका हुन् । उता नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका हुन् ।

कांग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाली सकेका छन् ।

कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहका सुपुत्र नेता प्रकाशमान सिंह यसअघि पार्टीको जिल्ला सभापति, केन्द्रीय उपसभापति, महामन्त्री हुँदै सरकारका उपप्रधानमन्त्री भएका थिए ।

पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा यसअघि पनि संसदीय दलको नेता थिए । नेता सिंह १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास गरयो त्यति नै लोकतन्त्र बलियो हुन्छ भन्नेमा आफूले विश्वास लिएको बताए । सिंहले पार्टीमा नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको चाहना गरेबमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै मतदान गर्ने सबैलाई धन्यवाद दिए ।

निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई बधाई तथा शुभकामना दिए । साथै, उनले नेता सिंहलाई प्रजातान्त्रिक प्रक्रियाअनुरुप निर्वाचनमा प्रतिस्पर्धा गरेकामा धन्यवाद दिए ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री