लन्डन
मनलाई रोकें खारें गालें
उनलाई पनि मुद्दा हालें
आखिर दोषी आंखा रैछन्
व्यर्थै यस्ता कदम चालें
अमेरिकाबाट साता दिनको बिदा लिएर बेलायत आएका ७१ वर्षीय साहित्यकार एवं मुक्तकमणि तीर्थराज अधिकारी आइतबार बडो रोमाण्टिक मुडमा प्रस्तुत भए ।
उल्टो देख्ने पनि जवानी रहेछ
भिरमा टेक्ने पनि जवानी रहेछ
बल्ल यसबेला आएर होस पाइयो
बाटो छेक्ने पनि जवानी रहेछ
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले पारिजात जयन्ती तथा अधिकारीको मुक्तक वाचन कार्यक्रम राखेको थियो चाल्टन एफसी हलमा । बेलायतको हिमपातपछि केही सुधारिएको मौसम छोपेर स्थानीय साहित्यानुरागीहरु साक्षी थिए त्यहां ।
‘शब्द र अर्थबीचको भाव नै मुक्तक हो’, अंग्रेजीमा रुपान्तरित नेपालको पहिलो मुक्तक संग्रह झटारोका लेखक अधिकारी वाचन रोकेर बीच बीचमा भन्दै थिए, ‘साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो ।’ उनले कार्यक्रममा झण्डै दुई दर्जन मुक्तक सुनाए ।
करिब तीन दशक समय सरकारी सेवामा बिताएर उपसचिवबाट सेवानिवृत्त उनका जुनकिरी (०५३), ऐना (०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (०७१) जस्ता कृति र कयौं रचना पत्रपत्रिकामा प्रकाशित छन् । समसामयिक लेख, निवन्ध, कथा, गीत, कविता जस्ता हरेक विद्यामा निरन्तर कलम चलाउने अधिकारी अमेरिकामा बसेर पनि नेपाली साहित्यलाई मलजल गरिरहेको बताए ।
‘प्रवासी साहित्य मुल घर भन्दा अलिक टाढा विदेशलाई कर्मभूमि बनाएर सृजना भएको साहित्य हो’, साहित्य लेखनमा अझै सक्रिय उनले थपे, ‘प्रवासी साहित्यकारहरुले नेपाली साहित्यलाई जिउंदो राख्ने हर प्रयास गरिरहेका छन् ।’
कार्यक्रममा समाजका अध्यक्ष सुमलकुमार गुरुङ, उपाध्यक्ष लारा (लक्ष्मी राई) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डा. रुपक श्रेष्ठले अधिकारी र उनकी धर्मपत्नि सीतालाई सम्मान गरे ।
लाराले स्वागत मन्तव्यका क्रममा अधिकारी र पारिजातको साहित्यिक जीवनी र योगदानबारे बेलिविस्तार लगाइन् । सहभागीले पारिजातको तस्विरमा माल्यार्पण गरि श्रद्धासुमन पनि अर्पण गरे ।
कार्यक्रममा स्थानीय श्रष्टाहरु सुमलकुमार गुरुङ, विजय हितान, लारा, मन्जु भण्डारी, डा. रुपक श्रेष्ठ, सन्तोष कार्की, निर्मला न्यौपाने, डम्बर सिंह, सेमन्त राई, मोहन आचार्य, भरत राई लगायतले पनि आ आफ्ना रचना वाचन गरेका थिए ।
तस्विर- गणेश खड्का
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित