लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधी आचार्यले पर्वतका वालवालिकालाई न्यानो कपडा उपलव्ध गराइदिएका छन् । आचार्यले आफ्नो गृह जिल्ला पर्वत फलेवास ३ स्थित जनसहयोगी मावि, चाउकामा अध्ययनरत कक्षा १ देखि १० सम्मका सबै बालबालिकालाई न्यानो कपडा पठाएका हुन् । १७० थान न्यानो कपडा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले विद्यालयमै पुरयाएर वितरण गरे ।
जलजला – ७ धाइरिङ घर भई हाल लन्डनमा व्यवसाय समेत गर्दै आएका समाजसेवी दधी आचार्यले स्थानीय कान्तिपुरकर्मी अगन्धर तिवारीको आग्रहमा न्यानो कपडा पठाएका हुन् ।
खोला किनार र जंगलबीचको विद्यालय । कात्तिकदेखि फागुनसम्म विद्यालयको छानाले समेत सूर्यको प्रकाश देख्न पाउंदैन । यही विद्यालयमा मध्य माघको ठिहिरयाउने ठण्डीमा एकसरो कमिज र पाइण्टको भरमा लुगलुग काम्दै विद्यालय आउंछन् विद्यार्थी ।
सामुदायिक विद्यालय भएकाले यहां गाउंमा मजदुरी गर्नेले मात्रै पढ्न पठाउंछन् । जातिय हिसावले कथित उपल्लो (ब्राम्हण, क्षेत्री) वर्गका बालबालिका अधिक रहे पनि बिहान बेलुका छाक टार्नकै लागि मजदुरी गर्ने परिवारको बाहुल्यता छ । चिसोकै कारण यो समयमा अधिक विद्यार्थी अनुपस्थित हुन्छन् ।
बालबालिकाहरुको यही समस्या बुझेका आचार्यको मन पग्लियो र जिल्लाकै जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका दधी आचार्यले न्यानो कपडा पठाए ।
न्यानो लुगा पाएपछि विद्यार्थी दंग छन् । आइतबार दिउंसो चिसोमा दांत किट्किट्याउंदै बसेका बालबालिका सांझ न्यानो लुगामा घर फर्किए । ‘लुगा किन्ने पैसा घरमा कहिल्यै हुंदैन,’ कक्षा १० का सुशान्त अधिकारीले भने, ‘लुगा छैन भनेर पढ्न छोड्न त भएन ।’ दयनीय अवस्थाका यसोधा रेग्मी, योगमाया तिवारी लगायत बालबालिकाहरुले यसअघि जाडोकै कारण कक्षामा पढाएको पनि बुझ्न कठीन भएको बताए । ‘अब यो वर्ष ढुक्कले पढिन्छ’-विद्यार्थीले भने ।
विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापाले राज्यले जातिय आधारमा गर्ने विभेदको चरम मार कथित उपल्लो जातीका बालबालिकाले भोग्न वाध्य भएको बताए । ‘एउटा व्यक्ति पजेरो चढेर राज्यको विशेष सुविधा लिन जांदा कथित उपल्लो जातको व्यक्ति भोको पेटमा बसेर टुलुटुलु हेर्छ । ऊ केहि बोल्न सक्दैन’- थापाले भने, ‘यहांका अधिकांश बालबालिका त्यही विभेदको शिकार बनेका हुन् ।’
विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट छ । शैक्षिक अवस्थाकै कारण यहां डेढ घण्टाको बाटो हिंडेर कुश्मा नगरपालिका र फलेवास ४ मुडीकुवाका विद्यार्थीसमेत आउंछन् । तर, राज्यले दिने सुविधाबाट यहांका सबै बालबालिका वञ्चित छन् । राज्यबाट वञ्चित भए पनि विभिन्न दाताहरुको सहयोगमा जेनतेन चलेको विद्यालयमा अहिलेसम्म माध्यमिक दरबन्दीको शिक्षक छैन् । सिमित स्रोतबाट सञ्चालित न्यून पारिश्रमिक दिएर अधिकांश शिक्षकलाई स्थानीय स्रोतबाटै व्यवस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर थापाले बताए ।
शिक्षा अधिकारी पौडेलले न्यून अवस्थाबीच विद्यालय र विद्यार्थीको लगनशिलताको प्रशंसा गरे ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न