पार्टी एकताबारे ओली प्रचण्ड डेढ घण्टा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार बालकोटस्थित ओली निवासमा भेटवार्ता गर्दै । तस्बिर – रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर, ६ माघ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

आज बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ ।

भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताउनुभयो । उहाँले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छ । साथै कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमा समेत छलफल भएको बताइएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री