आइतबार, कार्तिक १६ २०७७ | Sun, November 01, 2020
नेपालको समय: ०६:१९ | UK Time: 00:34

केन्टका चार किराती संस्थाले एकै ठाउँमा मनाए यले सम्बत

छत्र वनेम
२०७४ माघ २ गते २२:३०

आसफोर्ड (केन्ट) । युकेको केन्टमा रहेका किरातीहरुले यले सम्बत संयुक्त रुपमा मनाएका छन् । किरात सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा र किरात याक्थुङ्ग चुम्लुङ्गका केन्ट शाखाहरुले संयुक्त रुपमा यले सम्बत ५०७८ मनाएका हुन् ।

नर्टन नाच्वुल स्कुल हलमा गत शनिबार भएको सो कार्यक्रमको अध्यक्षता किरात राई यायोख्खा, केन्ट आसफोर्ड शाखाका अध्यक्ष ध्यान राईले गरेका थिए । प्रमुख अतिथि आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्याल थिए । अन्य अतिथिहरुमा चुम्लुङ्ग अध्यक्ष दिलसिंह मेन्याङ्गबो, सुनुवार सेवा समाजका अध्यक्ष यादव तुसा, याख्खा छुम्माका धन रोगु, यायोख्खा उपहासचिव श्रीमती चन्द्रवती राई, सगरमाथा नेपाली कम्युनिटी आसफोर्डका उपाध्यक्ष चक्र राई, एभरेष्ट टाइम्स साप्ताहिकका सम्वाददाता नगेन्द्र नेम्वाङ्ग, नेपाल पत्रकार महासंघ युकेका सदस्य छत्र वनेम, आयोजक कमिटीका सल्लाहकारहरु राजेन्द्र खिम्दिङ्ग, सिरी लिम्बु, किरण राईलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

आयोजक कमिटीका सल्लाहकार चक्र राईले कार्यक्रम स्थलको सुरक्षाबारे जानकारी गराए पश्चात सुरु भएको औपचारिक कार्यक्रम सन्चालन सचिव काजी साम्योले गरेका थिए ।

कार्यक्रम संयोजक ध्यान राइ र प्रमुख अतिथी तुल छन्त्यालले किराती राजा यलम्बर हाङ्गको तस्बिरमा माल्यार्पण गरे पश्चात प्रमुख अतिथी लगायत चारै किरात संस्थाका प्रतिनिधि तथा अध्यक्षद्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गरिएको थियो ।

कार्यक्रम विषयमा सल्लाहकार गणेश इजमले प्रकाश पारे । इजमले हाल मानिँदै आएको यले सम्बत ५०७८ अन्योल अवस्थामा रहेकोले आ-आफ्नो संघ संस्थाको केन्द्रिय स्तरको छलफल तथा बृहत सम्मेलन पश्चात खोज अनुसन्धानबाट प्राप्त तिथि मितिलाई आधिकारिक धारणा मानेर एउटा उत्सब घोषणा गरी अघि बढ्न सकिने विचार राखेका थिए ।

‘किरात येले संवत्’ अध्ययनको क्रममा अन्य तिथि मिति पनि चर्चामा आएकोले यस्तो अन्योलको अवस्थामा यलम्बर फाउन्डेसनले नयाँ तिथि मितिको अध्ययन अनुसन्धान गरिरहेको छ ।

कार्यक्रममा आयोजक कमिटीका उपसचिव सोदिप थोप्राले शुभकामना तथा स्वागत गरेपछि सुनुवार समाजका यादव तुसुचा, कियाचु युके केन्द्रका अध्यक्ष दिलसिँ मेन्याङ्बो, याख्खा छुम्माका अध्यक्ष धन रोगुले आफ्नो संस्थाको तर्फबाट मन्तब्य राखेका थिए ।

‘नेपालमा आदिबासी जनजातिमाथि सधैं हरेक कुरामा ओझेल पार्ने काम हुँदै आएको उदाहरण धेरै छन् । नेपाली इतिहासमा गोपाल वंशको उल्लेख भएपनि आधिकारिक र लिखित इतिहास किरात कालबाटै सुरु भएको तथ्यहरु छन्’-  प्रमुख अतिथी तुल छन्त्यालले भने-‘हामीसंग आफ्नै यले सम्बत् रहेछ, फेरि हामी किन विक्रम सम्बत् मान्नु परिरहेको छ ? यसरी नै एकजुट भएर हाम्रो पहिचानका कुराहरु स्थापित गर्न र संरक्षण गर्न नितान्त आवश्यक छ ।’

कार्यक्रमका अध्यक्ष ध्यान राईले नयाँ वर्ष (माघे संक्रान्ति) को अवसरमा ‘किरात यले संवत सांझ’ सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यबाद ब्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

चार किरातहरुसंग सम्बन्धित नृत्यहरुसंगै सुरु भएको सांस्कृतिक कार्यक्रम सन्चालन भने कल्चरल सेक्रेटरी शिखर लिम्बुले गरे ।

किराती समाजमा माघ १ गतेलाई किरात येले संवत् (नयाँ वर्ष) का रुपमा मनाइन्छ । तर, देश-विदेशबाट व्यक्त शुभकामनामा (२०७४ माघ १) एकातर्फ कलिगत आधार ५०७८ र अर्कोतर्फ ३७९८ उल्लेख गरेको पाइन्छ ।

बहुभाषिक किरात समाजमा यो संवत्‌लाई येले तङ्बे, येले दोङ र येले थोचे भनेर बुझ्दछन् । राजनीतिक इतिहासमा उल्लेख वल्लो किरात, माझ किरात र पल्लो किरात क्षेत्रमा प्रत्यक्षरूपमा यो संवत् प्रयोगले समाजमा अन्योल सिर्जना गरेको देखिए पनि लिम्बुवान, खम्बुवान, याक्खावान र कोइँचवानका किरातीले इतिहासमा उल्लेख भएको प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा प्रचलनमा ल्याएको संवत् हुनाले समुदायमा बहुसंख्यकले कलिगत आधारित ५०७८ चलन चल्तीमा ल्याएको पाइन्छ ।

सांस्कृतिक कार्यक्रममा स्थानीय याक्थुङ कलाकारहरुद्वारा लिम्बु जातिको पहिचानकै रुपमा स्थापित च्याब्रुङ नाच ‘के लाङ’ प्रदर्शन भएको थियो । किरात राइ यायोख्खाका स्थानीय कलाकारहरुद्वारा राई जातिको लोकप्रिय नृत्य ‘साकेला’ प्रस्तुत गरिएको थियो । सुनुवार समाजले सुनुवार जातिको प्रसिद्ध नाच ‘श्याँदर सेल’ र याख्खा छुम्माको तर्फबाट ‘ढोल नाच’ प्रस्तुत भयो ।

गायक गंगाराज राईले ‘हामी किराती हौं’ बोलको गीत गाए । याख्खाहरुको प्रसिद्ध ‘डोके नृत्य’ सहित ४ किरातीहरुसंग सम्बन्धित अन्य विविध नृत्यहरुको प्रस्तुतिपछि सबै किरातीहरुको जातिय नृत्य संयुक्त रुपमा प्रस्तुत हुँदा माहोल झनै रोमान्चक बनेको थियो ।

कार्यक्रम बेलुकी ५ बाट सुरुभै साझ ११ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक