
लन्डन । सन् १९६० को दशक । नेपालमा नर्सिङ पेशाप्रति त्यति आकर्षण थिएन । न जागिरको चार्म, न अध्ययन स्कोप । छोरीहरुले
नर्सिङ पढे ‘लौ यो बिग्रिइ’ झैं ठानिन्थ्यो । संकुचनमा जेलिएको त्यो नेपाली समाजलाई चुनौति दिंदै स्कुलमा माध्यमिक तहबाटै नर्सिङ पढ्न शुरु गरेर यो क्षेत्रमा स्थापित भइन् उनी । अहिले नाम, दाम र पहिचान छ । बेलायतमा पहिलो नेपाली महिला नर्सको इतिहास उनैको नाममा
रचिएको छ, उनी अर्थात बेलायतस्थित नेपाली समुदायमा चिर परिचित टुका क्षेत्री स्याण्डवेल ।
सालिन व्यक्तित्व, कम बोल्ने तर सहयोगका बेला कहिल्यै पछि नहट्ने उनी बेलायतमा कार्यरत नेपाली नर्सहरुका लागि अभिभावक हुन्, प्रेरणाको श्रोत हुन् र अनुभव अनि ज्ञानको भण्डार । उनले आफ्नो नर्सिङ होममा १०९ जना नेपाली नर्सलाई ‘एडप्टेसन’ गराइन् । सयौं नेपाली नर्सले उनकै सुपरिवेक्षणमा ज्ञान लिए, जागिर खाए र यूकेमा ‘सेटल्ड’ भए । ‘मलाई गर्व लाग्छ छोरी सरहका नेपाली नर्सहरुलाई आफ्नो ‘एक्सपरटिज’ बांड्न पाएकामा’, उनले सुनाइन्, ‘कसैलाई मैले केही सहयोग गर्न सक्छु भने सधैं तत्पर छु ।’
नेपाल लमजुङमा जन्मिइन् उनी । लमजुङ दुराडांडास्थित सर्वोदय हाइस्कुलमा ८ कक्षा पास गरेपछि राजधानी काठमाण्डौं आइन् । क्षेत्रपाटीको कन्या मन्दिरमा ९ क्लासमा भर्ना भइन्, फागुन महिना थियो । तर, तीन महिना नपुग्दै जेठबाट ९ कक्षामै नर्सिङ पढ्न शुरु गरिन् बीर अस्पताल अन्तर्गत स्कुल अफ नर्सिङमा । क्षेत्रपाटीमा अवस्थित उक्त नर्सिङ स्कुलमा गाउंबाट आएका विद्यार्थीलाई प्राथमिकता दिइन्थ्यो, टुकाले अवसर पाइन् पढ्न ।
नेपाल, पञ्जाब विश्वविद्यालय भारत र अमेरिकाबाट नर्सिङ विषयमा उच्च शिक्षा हासिल गरेपछि उनी नेपाल, भारत र बेलायतको रजिष्टर्ड नर्स भएर लामो अनुभव संगालिन् । टुकासंग सन् १९६४ देखि १९८० सम्म काठमाडौं, बुटवल, नेपालगन्ज र राजधानीस्थित स्वास्थ्य मन्त्रालयमा जागिर गरेको अनुभव छ । तर, १५ वर्ष नेपालमा जागिर गर्दा सरकारी कामको भने तीतो अनुभव रहेछ । ‘नेपालमा मन्त्री, सचिव सबैले पेल्ने । म अन्याय सहन नसक्ने भएपछि नेपाल छाडेर बेलायत आएं’- टुकाले विगत सम्झिइन् ।
इष्ट वेष्ट हाइवे इन्जिनियर जोन स्याण्डवेलसंग सन् १९७९ मा बिहे गरेपछि सन् १९८० मा बेलायत पाइला टेकिन् टुका । बेलायत आएपछि सन् १९८१ देखि १९८८ सम्म उनले हस्पिटल र निजी क्षेत्रमा काम गरिन् । साथमा छोरी जोसेफिन रचना स्याण्डवेल (हाल गाइनो कन्सल्टेन्ट) र छोरा जेम्स आशिस स्याण्डवेल (युनिभर्सिटी अफ हल ग्रयाजुएटस) सानै थिए । बालबच्चाको रेखदेख, जागिर अनि अन्य पारिवारिक दायित्व । संघर्ष त नयां ठाउंमा हुनु स्वभाविक थियो, तैपनि सहज व्यवस्थापन गरिन् ।
सन् १९८८ मा हेस्टिङमा ‘सेन्ट मेरिज नर्सिङ होम’ किनेपछि टुकाले आफ्नो नर्सिङ होममा १०९ जना नेपाली नर्सलाई ‘एडप्टेसन’ उपलव्ध गराइन् । धेरैलाई काम दिइन् । सन् २००८ मा नर्सिङ होम बेचेपछि केही समय विश्राम लिएर सन् २०१० देखि नर्सिङबाट अवकास लिइ त्यसयता सामाजिक कार्यमा निरन्तर सक्रिय छन् टुका ।
टुका सन् २००९ देखि २०१३ सम्म एनआरएनए यूकेमा निक्कै सक्रिय भइन् । उनलाई संस्थामा लागेर न पैसा कमाउनु थियो, न नामको लोभ थियो । उनको स्वार्थ थियो त केवल सामाजिक काममा तल्लिन हुने । एनआरएनए यूके अध्यक्ष थिए सूर्य गुरुङ । संघले एउटा प्रोजेक्ट गर्ने निधो गरयो । सन् २०१३ मा जुम्लामा बर्थिङ सेन्टर (प्रसुति गृह) निर्माण गर्ने योजना शुरु भयो टुकाकै अगुवाइमा । उक्त प्रसुति गृह बनाउन उनले चन्दामात्र दिइनन्, कोष अभिवृद्धि, आर्थिक संकलन र परिश्रम पनि गरिन् । उक्त प्रसुति गृह गत वर्ष सन् २०१७, अक्टोबरमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ ।
जुम्लाको सानीगाउंस्थित मितेरी बर्थिङ सेन्टर जुन, ३३५० मिटर उचाईंमा अवस्थित छ । सन् २०१३ देखि यो प्रसुति गृह सञ्चालनमा आएपछि अहिले मातृ मृत्युदर घटेको टुकाले बताइन् । ‘गरिवी, जनचेतना अभाव आदिले शुरुमा महिलाहरुलाई स्वास्थ्य सेवा (प्रोफेशनल केयर) बारे थाहै थिएन, प्राय सबैजना जोखिम लिएर घरैमा बच्चा जन्माउने गर्दथे । अहिले महिलाहरु प्रसुति गृहमा गएर सुत्केरी हुन अभ्यस्त भएका छन्’- उक्त प्रसुति गृह हस्तान्तरण कार्यक्रममा जुम्ला पुगेर फर्किएकी टुकाले सुनाइन् । सन् २०१३ मा पनि जुम्ला पुगेकी थिइन् उनी । यस प्रसुति गृह बन्न नर्स राधा पौडेल, एसएनएस हेस्टिङस, एनआरएनए यूके, एक्सन वक्स नेपाल र शारदा रोकायाको योगदान पनि टुकाले स्मरण गरिन् ।
सन् २०१५ मा नेपालमा विनाशकारी महाभूकम्प आएपछि सामाजिक काममा उनको संलग्नता झन् बढ्यो । उनले त्यो प्राकृतिक विपत्तिमा आर्थिक सहयोग जुटाउने काम मात्र गरिनन्, काभ्रे, धादिङ र मकवानपुरमा फिल्डमै उत्रिएर उद्दारकर्मी तथा स्वास्थ्य स्वयंसेवकको भूमिका समेत निर्वाह गरिन् । त्यतिबेला रोइरहेका घाइतेहरुको चिच्याहट र मृत शरीर आंखा अगाडि अझै आइरहन्छ उनको ।
टुका अहिले नेपलिज नर्सिङ एसोसिएसन यूकेले करिब ६० लाख रुपैयांको लागतमा जुम्लामै निर्माण गर्न लागेको अर्को ‘बर्थिङ सेन्टर’ प्रोजेक्टमा लागेकी छन् । मार्च देखि निर्माण शुरु गर्न एसोसिएसन अहिले गृह कार्यमा जुटेको छ । नेपलिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार टुका सम्भव भएसम्म एसोसिएसन र नेपाली नर्सहरुलाई आफ्नो ज्ञान, सल्लाह सुझाव बांडिरहेकी हुन्छिन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?