बेजिङस्टोकमा चासोक तङनाम  

लन्डन । बेजिङस्टोकमा बसोबासरत किरांत लिम्बु समुदाय ले चासोक तङनाम (न्वागी पूजा) शनिबार 
हर्षोल्लासका साथ मनाएका छन् ।

ओक्रिज वेस्ट कम्युनिटी हलमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा पूजारी (फेदाङबा) लाल बोखिम लिम्बुले विभिन्न परिकारको फलफूल, अन्न, भेटीहरु माङ्ग (भगवान) लाई चढाइ पूजा शुरुवात गराएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा किरांत याक्थुङ चुम्लुङ यूके बेजिङस्टोक शाखा अध्यक्ष श्रीमति अमृता पालुङवा सबेनहिमको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा शाखा कोषाध्यक्ष ज्ञानेन्द्र मेन्याङबोद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने शाखा सचिव चन्द्रकुबेर आङबुहाङद्वारा वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

किरांत याक्थुङ चुम्लुङ यूकेका सहअध्यक्ष तिलबिक्रम सोम्बाहाम्फे प्रमुख अतिथि र तेह्रथुम समाज यूकेका अध्यक्ष सूर्य खापुङ र श्रीमति रीता खापुङ अतिथि रहेको कार्यक्रमको सञ्चालन शाखा सचिव चन्द्रकुबेर आङबुहाङले गरेका थिए । स्वागत मन्तब्य शाखाका उपाध्यक्ष पेपराज कुरुङबाङले दिए । उक्त सभामा केन्द्र र शाखाको सम्बन्धबारे राजेन्द्र पाहिम लिम्बु, धन माबो, राजु लिम्बु, तिल बिक्रम सोम्बाहाम्फे, पेपराज कुरुङबाङ, विजय लिङथेपले आ आफ्नो धारणा राखेका थिए । साथै अन्य महत्वपूर्ण विषयहरुमा व्यापक छलफलका साथ ठोस निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा विभिन्न तहको शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरियो । साथै नव आगान्तुक सदस्यहरुलाई पनि सम्मान गरिएको थियो भने तोङबा पकाउने दिदीबहिनीलाई प्रोत्साहित गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक दिलिप बोखिम लिम्बु र नितेश थाङदेनको गायनलाई सबैले रुचाए । साथै चन्द्रकला आवाजङ लङवाको कविता वाचन र नृत्यले भरपुर मनोरन्जन दिलायो । जङबीर लिम्बु, युवराज चोङबाङ, लाल चोङबाङ र राम बोखिम लिम्बुको च्याब्रुङ नाचमा सबैले तालमा ताल मिलाउंदै हर्षोउल्लासका साथ चासोक तङनाम मनाए ।

अन्त्यमा शाखा अध्यक्षले उपस्थित अतिथी र प्रत्यक्ष अप्रत्यक्ष सबै सहयोगी सदस्यहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री