सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्

याङगोन, १२ मङसिर – सोमबार म्यानमार पुग्नुभएका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको आलोचना भइरहेको समयमा सुरु भएको यो पोपको भ्रमणलाई महत्वका साथ पनि हेरिएको छ ।

म्यानमारमा गएको अगष्ट २५ देखि सुरु भएको उक्त जातीय समहूमाथिको ज्यादतिका कारण नोवेल शान्ति पुरस्कार विजेता समेत रहेकी सुकीको पनि निकै आलोचना भएको छ ।

मुलुकको विदेशमन्त्री मात्र नभएर विश्वमै सुपरिचित प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्ति देशको शासन सत्तामा रहेका बेला आफ्नै देशबाट यसरी नागरिक लखेटिएर शरणार्थीका रुपमा विदेशमा बस्नुपर्ने अवस्था आएको भन्दै उहाँको आलोचना भएको हो ।

कतिपय देशका नगारिकले त उहाँले प्राप्त गरेको नोवेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहित नोवेल कमिटीलाई हस्ताक्षर गरेर पनि बुझाएका थिए ।

म्यानमारकी यी वरिष्ठ प्रजातन्त्रवादी नेतृ सुकीसँग यो विवादका बीचमा पोपले गर्न लाग्नुभएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

म्यानमारको विदेशमन्त्री मात्र नभएर राष्ट्रपतिपछिकै एक शक्तिशाली र सम्मानित पदका रुपमा राज्य सल्लाहकार भनेर सिर्जना गरिएको भएपनि उहाँको यो भूमिका अहिले भने म्यानमारमा निरीह भएको देखिन्छ ।

म्यानमार बौद्ध धर्मको बाहुल्यता भएको देश हो । यहाँका अल्पसंख्यक मुस्लिमहरुमाथि समय समयमा ज्यादती हुने गरेका समाचारहरु आउने गरेका छन् ।

अहिले पनि रोहिङ्ग्या मुस्लिम समुदायमाथि यस्तै ज्यादति भएको थियो । जसका कारण उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए । उनीहरु हाल बङ्गलादेशमा शरणार्थीका रुपमा रहेका छन् ।

म्यानमारमा यस्तो अवस्था रहेको बेला पोपले त्यहाँ धार्मिक र साम्प्रदायिक सहिष्णुताको सन्देश दिनुहुने अनुमान गरिएको छ ।

मङ्गलबार उहाँले सुकीसँगको भेटवर्ताका क्रममा पनि यस्तै धार्मिक सहिष्णुताको सन्देश दिनुहुने र रोहिङ्ग्या समुदायका नागरिकलाई स्वदेशमै फिर्ता गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुहुने अनुमान गरिएको छ ।

सोमाबार यहाँ आइपुग्नुभएका पोपको योङ्गोन विमानस्थलमा भव्य रुपमा स्वागत तथा अभिवादन गरिएको थियो । उहाँको यो भ्रमण अकस्मात तय भएको बताइएको छ ।

चार दिनको भ्रमणका क्रममा उहाँ सोमबार म्यानमार पुग्नु भएको हो । यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको बङ्गलादेशको विदेशमन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

म्यानमारकी नेत्री सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा सम्पन्न बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयास दुई महिनाभित्र शुरुगर्ने सहमति भएको समाचारमा जनाइएको थियो ।

तर यस कार्यका लागि मिति भने तय भएको छैन । म्यान्माली शरणार्थीहरुले बङ्गलादेशको तटीय सहर कोक्स बजारमा गएको अगष्ट २५ देखि कष्टपूर्ण रुपमा दिन व्यतित गरिरहेका छन् ।

म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्ग्या मुस्लिम समुदायका करिब साढे छ लाख नागरिक भागेर बङ्गलादेश पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री