लन्डन । क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खाहरु र तिनका परिवारले भरिभराउ थियो । ब्रिटिश आर्मीमा भर्ती हुन नेपालमा करिब पांच हजार प्रतिष्पर्धी मध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २७० जना गोर्खाहरुका लागि अर्को ऐतिहासिक क्षण । ति जवान ३९ हप्ताको कठिन प्रशिक्षण पुरा गरेर ‘ग्रयाजुएट’ हुंदै थिए र पास आउट क्षण पुरै खुशीयाली । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड कम चाखलाग्दो थिएन ।
नेपालको दुर्गम गाउं देखि नयां घर क्याट्रिक ग्यारिजनको यात्रा तय गरेका गोर्खाहरुले झण्डै एक वर्ष अवधिमा अंग्रेजी भाषासहित धेरै कुरा सिके । कतिपय त यसअघि जहाज नचढेका पनि थिए । उनीहरु जीवनको नयां खुड्किलो उक्लन सफल भएकामा दंग देखिन्थे ।
‘वास्तवमा गोर्खाहरुले नेपाल र नेपालीको नाम विश्वभर राखेका छन्’, परेडमा सहभागी राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘गोर्खा हामी सबैको गर्वका विषय हुन् । उनीहरुले बेलायत र नेपालको सम्बन्ध थप सुदृढ पारेका छन् ।’
नेपाली राजदूतका साथ बेलायतको आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टर पनि निरिक्षणका लागि समारोहमा सरिक थिए । पूर्व क्वीन्स गोर्खा इन्जिनियर ल्यानक्यास्टरले नै भूपू गोर्खाहरुको समान पेन्सन लगायत मुद्दा समाधानका लागि जारी वार्तामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
पासिङ आउट परेडमा सहभागी गोर्खाहरुलाई मन्त्री ल्यानक्यास्टरले बधाइ दिंदै ब्रिटिश आर्मी करिअरमा सफलताको शुभकामना दिए । नयां पुस्ताले ब्रिटिश आर्मीसंगको ऐतिहासिक सम्बन्ध कायमै राखेकामा मन्त्रीले खुशी पनि व्यक्त गरे । पहिलो दिन देखि उनीहरुको तालिम नियालेका कमाण्डिङ अफिसर प्रेम गुरुङले पास आउट समारोहलाई गर्वको क्षणका रुपमा लिएका छन् । ‘यहां देखिएका मध्ये कतिले त तीन चार पटकसम्म भर्ती हुन प्रयास गरेका थिए’, गुरुङले भने, ‘सजिलै आजको दिन आएको होइन । उनीहरुको ब्रिटिश आर्मी यात्रा गन्तव्यमा पुग्न सम्भवतः दुई तीन वर्ष लाग्यो ।’
उक्त अवसरमा गोर्खाहरुले तेक्वान्दो प्रदर्शन देखि खुकुरी नाच समेत देखाएका थिए ।
इन्फेन्ट्री ट्रेनिङ सेन्टरले वर्षेनी दुई हजार जनालाई प्रशिक्षण दिने गरेको छ । सेन्टरले आर्मी इन्फेन्ट्री ट्रेनिङ बटालियनबाट जिम्मेवारी लिइ गत १ मे १९९५ देखि तालिम दिन शुरु गरेको हो । ब्रिटिश आर्मीमा सन् १८१५ देखि गोर्खाहरुको भर्ती शुरु भएको थियो ।
तस्विरहरु- नर्दन इको
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक