काठमाडौँ, २३ कात्तिक – प्रमुख राजनीतिक दलले देशको अर्थतन्त्रको दरो आधारका रूपमा रहेको पर्यटन क्षेत्रमा गुणात्मक परिवर्तन गरी ठूलो संख्यामा पर्यटक भित्राउने लक्ष्य लिएका छन् ।
नेपाली काँग्रेस, वाम गठबन्धन नेकपा (एमाले) र माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल), राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति पार्टीले आफ्नो चुनावी घोषणपत्रमार्फत पर्यटन प्रवर्धनका महत्वकांक्षी योजना अघि सारेका हुन् ।
वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख र नेपाली काँग्रेसले १० वर्षमा ३२ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएका छन् ।
नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्व–पश्चिम हिमाली क्षेत्रमा ‘बृहत् पर्यटकीय पदमार्ग’ निर्माणदेखि पुरातात्विक एवं सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य जैविक विविधतालाई पर्यटनसँग जोडी आवश्यक पूर्वाधार निर्माणमा सबै दलको जोड छ ।
नेपाली काँग्रेसले आगामी १० वर्षमा ३२ लाख पर्यटक पुरयाउने लक्ष्यका साथ नेपाललाई आन्तरिक पर्यटन, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवर्धन कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।
आन्तरिक पर्यटन प्रवर्धन गर्न सरकारी कर्मचारीलाई वर्षमा पाँच दिन घुमघाम बिदा रु २५ हजार नगद प्रोत्साहन दिइने काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।
नयाँ गन्तव्यमा होटल तथा होमस्टे (घरबास कार्यक्रम) मा लगानी प्रोत्साहन गर्ने, पवित्र धार्मिकस्थल लुम्बिनी, जनकपुर, पशुपति, मुक्तिनाथ, खप्तड क्षेत्रजस्ता धार्मिक, पुरातात्विक तथा पर्यटकीयस्थलमा पूर्वाधार विकासमा उक्त दलले जोड दिएको छ ।
पर्यटन विस्तारका लागि नेपालसँग मिल्दोजुल्दो संस्कृति भएका दक्षिण पूर्वी, एशियाली देशहरूबाट मध्यमवर्गीय पर्यटक आकर्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।
त्यसैगरी वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख पर्यटक पुरयाउने गरी प्रचारप्रसार, बजार प्रवर्धन, पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणपत्रमा उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग निर्माणलाई जोड दिएको घोषणपत्रमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति र आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने जनाइएको छ ।
त्यस्तै दुई वर्षभित्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, सबै आन्तरिक विमानस्थललाई आधुनिक सुविधासम्पन्न बनाइने लक्ष्य गठबन्धनले लिएको छ ।
नेपाल वायु सेवा निगमको विमान संख्या बढाई निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्नुका साथै कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने तथा उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिने सो घोषणमा उल्लेख छ ।
पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित बनाउने, पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण गरिने योजना छ ।
उक्त घोषणापत्रमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, हलेसीलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिने उल्लेख छ ।
त्यस्तै, नयाँ शक्ति पार्टीले काठमाडौँदेखि सगरमाथासम्म केवल कार निर्माणदेखि पूर्व–पश्चिम हिमाली भेगलाई ‘बृहत् हिमाली पदमार्ग’ बनाउने घोषणापत्रमा समेटेको छ । दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ हुँदै पोखरा, जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुंगा–धनकुटा–खाँदबारी केवलकार निर्माण गर्ने नयाँ शक्तिको लक्ष्य छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको छ ।
नेपाललाई शैक्षिक पर्यटनको केन्द्रबिन्दु बनाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको समन्वयमा नेपालको पर्यटन क्षेत्रमा उच्च दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू विकास गर्ने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।
यता राप्रपा (प्रजातान्त्रिक) ले पर्यटक संख्या बढाउन आगामी १० वर्षमा कम्तीमा पाँच हजार शय्या र स्वतन्त्र तारे होटलमा १० हजार शय्या बढ्नेगरी ठूला तारे होटल स्थापनामा जोड दिएको छ ।
नेपाल वायु सेवा निगमको संरचना र व्यवस्थापनमा सुधार गरी थप तीन वटा वाइड बढी विमान आगामी पाँच वर्षभित्र ल्याउने घोषणापत्रमा उल्लेख छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा