मुटुरोगको जोखिम कम गर्ने औषधि ‘स्टाटीन्स’

आचार्य

खराब कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने स्टाटीन्स औषधिले पुरुषमा २८ प्रतिशतले मुटुरोगको जोखिमबाट बचाउने कुरा भर्खर प्रकाशित अध्ययनले जनाएको छ । यस औषधिबारे अहिले सम्म गरिएको सबैभन्दा ठूलो अध्ययन हो यो । ४५ देखि ६४ वर्षका २,५६० जना पुरुषबारे बीस वर्ष लगाएर अनुसन्धान गरिएको थियो । यी सबै व्यक्तिमा खराब कोलेस्ट्रोल (एलडी एल) ४.९ मिलिमोल प्रति लिटर रगतमा थियो, तर कसैमा पनि मुटुरोगको प्रमाण थिएन ।

इम्पेरियल कलेज लन्डन तथा ग्लास्गो युनिभर्सिटीको अनुसन्धानले २७ प्रतिशत कोरोनरी मुटुरोगको जोखिम कम हुने, २८ प्रतिशत यसबाट मर्नसक्ने जोखिम कम हुनुको साथै २५ प्रतिशत ह्दयाघात हुने जोखिम कम गर्ने पाइएको छ ।

यस अध्ययनले बीस र तीस दशक उमेरमा रहेका लाखौं मानिसहरुलाई स्टाटीन्स औषधि दिई मुटुरोग कम गर्नुपर्ने पनि बताएको छ । उत्पादन लागत ५ पी (करिब ७ रुपैयां) पर्ने 
स्टाटीन्स औषधि कोरोनरी मुटुरोग तथा स्ट्रोकको जोखिम भएका युवाहरुलाई डाक्टर मार्फत सहज उपलब्ध गराइनुपर्ने पनि जिकिर गरेको छ । कोलेस्ट्रोल, स्टाटीन्स र मृत्युदरको बीचको सम्बन्ध बारेको गरिएको यो सबैभन्दा विस्तृत अध्ययन हो ।

स्टाटीन्स औषधिले बेलायतमा वर्षमा असी हजार ह्दयाघात तथा स्ट्रोक हुनबाट बचाएको पनि यस अध्ययनले जनाएको छ ।

कोलेस्ट्रोल किन कम गर्न जरुरी हुन्छ ?
हाम्रो शरीरलाई सवल तरिकाले कार्य गर्न कोलेस्ट्रोलको महत्वपूर्ण भूमिका हुन्छ, तर चाहिने भन्दा बढी नराम्रो कोलेस्ट्रोल (जसलाई एल डी एल या लो डिन्सिटी लिपोप्रोटिन भनिन्छ) रक्त सञ्चार गर्ने आर्टरीहरुमा बोसो जम्मा हुने क्रियालाई सघाउ पुरयाउंछ । जसको कारणले एन्जाइना, ह्दयाघात र स्ट्रोक हुने जोखिम बढाउंछ । स्टाटीन्स औषधिले शरीरले बनाउने खराब कोलेस्ट्रोलको परिणाम कम गर्छ ।
डाक्टरको सल्लाह दिइएको स्टाटीन्स औषधि हर दिन नियमित रुपले खानुपर्छ । स्टाटीन्सको फाइदा लामो समयावधिमा बढी हुन्छ ।

ह्दयाघात, स्ट्रोक भएको व्यक्तिलाई अर्को यस्तो हुने जोखिम कम गर्न स्टाटीन्स औषधि डाक्टरले दिन सक्छन् । मधुमेह तथा पेरीफेरल आर्टरी रोग भएका व्यक्तिलाई पनि जोखिम कम गर्नको लागि स्टाटीन्स औषधि दिन सक्छन् । राम्रो स्वास्थ्य भएको व्यक्तिलाई पनि निजको परिवारको इतिहासमा मुटुरोगको कडा इतिहास भएमा डाक्टरले स्टाटीन्स औषधि दिन सक्छन् ।
डाक्टरले तोके बमोजिम स्टाटीन्स लगातार सेवन गर्नुपर्छ । स्टाटीन्सका पनि अनेक किसिमहरु हुन्छन् । धेरै स्टाटीन्सहरु बेलुकी खानुपर्छ किनभने यही बेलामा शरीरले कोलेस्ट्रोल उत्पादन गर्दछ ।

स्टाटीन्स औषधि खानेले भोगटे खानाले साइड इफेक्ट हुनसक्ने हुन्छ । स्टाटीन्सले दिने अरु साइड इफेक्टहरुमा मांशपेशी दुख्ने, कब्जियत हुने आदि पाइएको छ । स्टाटीन्सले कोलेस्ट्रोल बनाउने कलेजोको कोषहरुलाई लक्षित गर्दछ । त्यसैले कलेजोको कार्य हेर्नका लागि रगत परिक्षणबाट डाक्टरले कति मात्रामा दिने भन्ने निरक्यौल गर्छन् । कुनै साइड इफेक्ट भएमा डाक्टरसंग परामर्श गर्नुपर्छ तर औषधि खान छोड्नु हुंदैन । गर्भवती, स्तनपान या निकट भविष्यमा गर्भवती हुन चाहना गर्नेले स्टाटीन्स औषधि प्रयोग गर्नु हुंदैन । स्टाटीन्स औषधि पहिले नै दिइएको छ भने डाक्टरसंग सल्लाह लिनुपर्छ ।

सन्तुलित भोजन, ठिक वजन, नियमित शारीरिक क्रियाकलापले ‘कोलेस्ट्रोल’ कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । जनाबरबाट पाइने चिल्लो तथा व्यापारिक हिसाबले बनाइएका खानाहरु कम गर्ने, प्रोसेस गरिएका खानामा लगाम लगाउने गरे खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसको बदलामा धेरै फलफूल सब्जी, हप्तामा दुई पोर्सन तेलयुक्त माछा (ओइली फिस), थोरै मात्रामा शुद्ध तोरीको तेल, ओलिभ, हाडे बदाम तथा तोफू लाभदायी हुन्छ ।

हाम्रो शरीरले दिनमा एक ग्राम जति कोलेस्ट्रोल बनाउंछ । हामीले परिवर्तन गर्न नसकिने ८० प्रतिशत शरीरले ‘कोलेस्ट्रोल’ बनाउंछ भने करिब २० प्रतिशत खानपिन या जीवनशैलीले प्रभाव पारेको हुन्छ ।

वर्षमा घटीमा एक पटक रगत जांच गरि आफ्नो कोलेस्ट्रोलको मात्रा थाहा पाउनु पर्छ र यहि अनुरुप जीवनशैली अबलम्बन गरि जरुरीमा डाक्टरलाई भेट्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री