नेपाल आइडल विजेताहरुको बेलायत शो नोभेम्बर पहिलो सातादेखि

तस्विर- शिव भण्डारी

लन्डन । देश विदेशमा अत्यधिक रुचाइएको पहिलो रियालिटी शो ‘नेपाल आइडल ०१७’ का विजेताहरु पहिलो पटक बेलायत आउने निश्चित भएको छ । नोभेम्बर पहिलो साताबाट बेलायतका विभिन्न ५ शहरमा हुने लाइभ कन्सर्टमा आफ्नो कला देखाउन उनीहरुको भिजा लागिसकेको आयोजकले जनाएका छन् ।

सोमबार सांझ लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजकहरुले अक्टोबर ३० मा नेपाल आइडलका विजेताहरु बुद्ध लामा (नेपाल आइडल), निसान भट्टराई र प्रताप दास एवं टप टेनभित्रकी प्रमिला राई बेलायत आउन लागेको जानकारी दिए ।

नेपाल आइडल विजेताको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हलमा हुने तयारी छ । त्यसैगरि, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकमध्ये एक मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले जनाए । मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल ल्याउन लागेका हुन् । हयारो लिजरमा हुने शो उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई र प्लमस्टेड शो दीपक थापाले आयोजना तथा व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन् ।

वीकडेज शो सांझ ६.३० र वीकेन्ड शो सांझ ५ बजे हुनेछ भने टिकट ढोकामा खरिद गरे २५ पाउण्ड र एडभान्स बुकिङमा २० पाउण्ड हुने जनाइएको छ । दश वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश र १० देखि १५ वर्षभित्रकालाई टिकट शुल्क १५ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।

पत्रकार सम्मेलनमा मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले नेपाल आइडलकै सरहको गुणस्तरिय शो बेलायतमा पनि गरिने जनाए । देश विदेशका लाखौं श्रोता दर्शकले नेपाल आइडल विजेताको प्रस्तुति टेलिभिजनबाट हेरेपनि बेलायतवासी नेपालीलाई विजेताहरुसंग प्रत्यक्ष साक्षात्कार गराउने आफूहरुको उद्देश्य रहेको गिरीले बताए । नेपाल आइडलमार्फत नयां प्रतिभालाई प्लेटफर्म र नेपाली संगीत अन्तर्राष्ट्रियस्तरमा पुगेको बताउंदै गिरीले समस्त बेलायतवासी नेपालीलाई शो हेरिदिन आग्रह गरेका छन् । ‘बेलायतका हजारौं नेपालीले नेपाल आइडल बनाउन आफ्नो समय र पैसा खर्चनुभयो । अहिले उनीहरु आफ्नै शहरमा आउंदा हामीलाई साथ र कलाकारलाई हौसला दिनुहुने आशा छ’, गिरीले भने ।

पत्रकार सम्मेलनमा नेपाल आइडल लाइभ इन यूकेका सह आयोजकहरु उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रममा कुनै ‘कम्प्रमाइज’ नगरिने विश्वास दिलाए । ब्यानरको 
सट्टा स्क्रिनमा लाइभ प्रोजेक्सनसहित लाइभ म्यूजिक र भिआइपीलाई बेग्लै सिट प्लान गर्ने सोच आयोजकको छ । साउण्ड सिस्टमको जिम्मा अनुभवी हेम विष्टलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री