जमुना हारका प्रमुख कारण

जमुना घले

विश्वभरका नेपालीहरुको साझा संस्था मानिएको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलन नयां नेतृत्व चयन गर्दै 
काठमाण्डौंमा समापन भएको छ । नेतृत्वको झन्डै दुईतिहाई भन्दा बढि पदहरुमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ । लगभग अठार सय प्रतिनिधिहरुले भाग लिएको निर्वाचनमा इलेक्ट्रोनिक मतदान प्रक्रिया प्रयोग गरिएकाले अपेक्षितरुपमा परिणाम चाडै प्रकाशित भयो । मुलतः विदेशमा बस्ने र स्वदेशका पनि आम नेपालीहरुको जिज्ञासा र चासोको विषय रहेको यस सम्मेलनको मुल नेतृत्व वा अध्यक्षको निर्वाचनमा जमुना घलेको पराजयका सम्बन्धमा यस आलेखमा केही चर्चा र विश्लेषण गर्ने जमर्को गरिएको छ ।

कारणहरु

१. अस्वाभाविक उम्मेदवारी

दुई कार्यकाल अध्यक्ष निर्वाचित भएका निवर्तमान अध्यक्ष शेष घलेकी जीवन संगिनी श्रीमती जमुना घले पनि अध्यक्ष कि उम्मेदवार थिइन् । जित्ने पूर्ण आत्मविश्वासकासाथ उठेकी उनी लज्जास्पदरुपमा आफ्ना प्रतिस्पर्धी भवन भट्टसंग दोब्बर मतले पराजित भइन् । वास्तवमा उनको उम्मेदवारीमा कुनै स्वाभाविकता थिएन र यो अव्यवहारिक र 
महत्वाकांक्षी थियो ।

कुनै जमनामा बि. सं. २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले काठमाडौंमा लौरो उठाए पनि जित्छ भन्ने गलत आंकलनले उनकी श्रीमती, छोरा, छोरी सबै नराम्रोसंग पराजित भएका थिए । ठिक यसैगरी एनआरएनएमा शेष घलेले जो उठाए नि जित्छ वा जितिन्छ भन्ने दम्भ र अहंकारले आफ्नै श्रीमती उठाउंदा नमिठो हार बेहोर्नु परेको हो ।

श्रीमती घले ब्यक्तिगतरूपमा क्षमतावान, योग्य र सक्षम महिला हुन् र छन्, यसमा कुनै शंका छैन । तर, एनआरएनएको डेढ दशक लामो इतिहासमा उनको योगदान भनेको आफ्ना पतिको 
चार वर्षे कार्यकालमा प्रमुख सहयोगीको रुपमा रहनु भन्दा अरु केही थिएन । जुन अध्यक्ष हुनका लागि पर्याप्त होइन् । विलक्षण क्षमता, चमत्कार र कहिलेकाहीं अप्रत्यासित घट्नाका कारणहरु बाहेक सामान्यतय नेतृत्वको निर्माण एउटा लामो र नियमित प्रक्रिया, अनुभव तथा संयोजनबाट हुने हो जुन सबै कुरा जमुनामा पूरा भइसकेका थिएनन् । एनआरएनएको स्थापनाकालदेखि सक्रिय योगदान दिंदै आएकाहरुलाई नजर अन्दाज गर्नु उनको भुल थियो ।

भूकम्प पछिको गोर्खा लाप्राक बस्ती र एनआरएनए भवन निर्माण परियोजनाको चर्चा यसरी गरियो कि त्यो सबै शेष र जमुना घले एक्लैले गरेका हुन् । पैसा पनि उनीहरु कै हो । तर वास्तविकता के हो भने प्रत्येक गैर आवासीय नेपालीहरुको एक एक थोपा रगत पसिनाबाट उठाएको रकमले त्यी परियोजना निर्माण भइरहेका हुन्, ती कसैका निजी विषय र काम होइनन् । अध्यक्षको हिसाबले घलेले त्यसको अगुवाई गर्नु स्वाभाविक कुरा हो, तर यसलाई यति अस्वाभाविक ढंगले ‘ब्यक्तिकरण’ र ‘निजीकरण’ गर्ने प्रयत्न गरियो, जसलाई आम एनआरएनहरुले शालिनतापूर्वक अस्वीकार गर्दा जमुना पराजित हुन पुगिन् ।

लेखक राजकुमार थापा

२. परिवारवादको फन्दा
शेष घले दोश्रो कार्यकालका लागि निर्वाचित भए पश्चात उनी आफ्नो एउटा सीमित घेरा भित्र परिवारवादको मोहमा फंस्दै गए । नेपालमा परिवार र नातागोतावाद देखेर देश डुबाए भनेर रातदिन खैरो खन्ने अधिकांश विदेशका नेपाली अर्थात एनआरएनहरु आफ्नै संस्थाका अध्यक्ष त्यस्तै लोभ र मोहको फन्दामा रुमल्लिए देखेपछि यो ‘घलेले घलेलाई राजा बनाउने लिगलिग कोटे दौड होइन’ भनेर परिवारवादको कोटरी खडा गरेका घलेलाई त्यस्तो कार्य स्वीकार्य नभएको भन्ने स्पष्ट सन्देश जमुनालाई हराएर दिए ।

३. जातीय जन्जिर
शेष घलेको कार्यकालमा नचाहिंदो ढंगले एनआरएनए भित्र जातीय रंग र गन्ध मिसाउन खोजिएको हो कि भन्ने व्यबहार आम अनुभव भएको देखिथ्यो । त्यो नयां बोतलमा पुरानै रक्सी भर्ने सूत्र प्रयोग गर्ने प्रयत्न अत्यन्तै प्रतिउत्पादक सावित भयो । नेपालको राजनीतिमा समेत प्रयोग गर्न खोजिएको जातीय कलेवरका प्रयत्नहरु असफल भइसकेको सन्दर्भमा परदेशिएका नेपालीहरुको साझा संस्थामा केही जाती र वर्ग विशेषको वर्चस्व स्थापित गर्न खोज्दा जमुना त हारिन् नै अरु उनलाई समर्थन र सहानुभूति राख्ने पनि सबै बढारिने स्थिति आयो, जुन दुःखद कुरा हो । सबै जाती, वर्ग, क्षेत्र, लिंग र समुदायको एनआरएनएमा समुचित प्रतिनिधित्व हुनु आवश्यक छ । भोलिका दिनमा नव निर्वाचित नेतृत्वले त्यतातिर ध्यान पुरयाउनु बान्छनीय छ ।

४. पार्टीहरुलाई चुनौती
अरु त कुरै छाडौं नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश, अख्तियार प्रमुख त राजनैतिक भागबन्डामा नियुक्ति गर्ने सिन्डिकेट चलाएका पार्टीहरु र तिनै पार्टीहरुबाट दिक्षित र विदेशमा पनि एउटा न एउटा पार्टी समाएर बसेका नेपालीहरुलाई पार्टीहरु केही होइनन्, पार्टी निषेध छ र गरिन्छ भन्ने घलेजीहरुको दम्भलाई यसपाला सबै पार्टीहरु मिलेर सबक सिकाएका छन् । यद्यपि एनआरएनए भित्र पार्टी 
राजनीति घुसाउनु अत्यन्त घातक विषय हो । अन्ततः यसले राम्रो नतिजा दिंदैन, तर अहिलेको तीतो यथार्थ के हो भने हर क्षेत्रमा पार्टीहरुको बोलवाला र दवदवा छ भन्ने कटु सत्यलाई पनि भुल्न 
मिल्दैन । भोलि सुधार होला, परिवर्तन होला त्यो बेग्लै सवाल हो ।

५. अग्रजको बेवास्ता
वास्तवमा शेष घले अध्यक्ष बनेपछि उनी र उनका निकटस्थहरुले अग्रजहरुलाई सम्मान गर्न नसकेको वा नचाहेको एक किसिमले बेवास्ता र अपमानित गरेको भन्ने बारेमा व्यापक चर्चा परिचर्चा हुंदै आएको सुनिथ्यो । संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि आफूलाई पहिलो कार्यकालमा अध्यक्ष बनाउन प्रमुख भूमिका खेल्ने पूर्व अध्यक्ष जीबा लामिछाने लगायतका अग्रजहरुलाई खासमा उनीहरुले मान्छे गनेनन् जसको मुख्य कारण पैसा र एनआरएनएको सत्ता शक्तिको दम्भ थियो, जुन कुराहरु जमुनासंग पनि संगै जोडिएर वा जेलिएर आए । जसका कारण अग्रजहरुलाई घले सत्ता तोड्न उत्प्रेरित र वाध्य बनाएको हुनसक्छ । त्यतिमात्र होइन घलेले आफ्नो कार्यकालका सहकर्मीहरुसंग पनि राम्रो सम्बन्ध कायम राख्न सकेनन् । उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरुसंग उनको निरंकुश र एकलकाटे कार्यशैलीका कारण सधैं टसल नै भइ रह्यो । यस्ता कारणहरुबाट पनि घले दम्पती एकै घानमा पिसिन पुगे ।

६. गुमाएको अवसर
वास्तवमा एनआरएनएबाट शेष घले ‘हाइ-हाइ’ भएर बिदा हुने र जमुनालाई सम्मानजनक ‘सेटल’ हुने ठूलो अवसर थियो तर त्यो गुम्यो । घलेमा चार वर्षे कार्यकालले एक किसिमको ‘चार्म’ दिएको थियो जसलाई उनको आफ्नै दम्भ, महत्वाकांक्षा, पारिवारिक मोह र कथित गणेशपन्थी र हनुमानगिरी सल्लाहकार र उनीहरुको अतृप्त इच्छाहरुका कारणबाट त्यो सुनौलो र सम्मानजनक विदाइको मौका प्राप्त भएन ।

त्यतिमात्र होइन जमुनालाई अध्यक्ष बाहेक अन्य पदमा उठाएको र आफ्नो टिमलाई समेट्ने प्रयत्न गरेको भए एनआरएनएको अन्तर्राष्ट्रिय परिषदमा घलेको वर्चस्व कायम रहने ठूलो सम्भावना थियो । अब त्यो अवसरबाट पनि उनी वन्चित भए । घले दम्पतीको पराजय संगै सम्मेलनले अमिलो मन गर्दै पारित गरेको घलेको ड्रिम भिजन ‘भिजन-२०२० एन्ड बियोन्ड’ अलपत्र पर्ने छांट देखिन्छ । सम्भवतः यो कार्यक्रम हुन्छ हुन्छ, हो हो भन्ने बाहेक कार्यान्वयन आउने सम्भावना कमै होला ।

र अन्त्यमा,

माथिका यी, यस्ता र अन्य जे जस्ता कारणहरुबाट जमुना घलेको पराजय भएपनि जित्नेले ज्यादै मात्तिनु र हौसिन जरुरी छैन् । शेष घलेको कार्यकालका कमजोरीहरु सच्याउने र राम्रा कामलाई अगाडि निरन्तरता दिंदै अझै राम्रो गर्न सक्दा मात्रै भवन भट्ट र उनको टिमको यो भब्य जीतको औचित्य पुष्टि हुनसक्छ । त्यसकालागि काम गरेर देखाउनु नै मुख्य कुरा हो । जमुना घले र उनको टिमलाई पनि उत्तिकै सम्मान र सहकार्यका साथ संग संगै लिएर जानु नयां नेतृत्वकालागि आवश्यक र वान्छनीय छ ।

(थापा युरोपमा नेपाली पत्रकारितासंग आवद्ध छन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री