बन्टओकमा दशैं-तिहार शुभकामना कार्यक्रम

लण्डन । लण्डनस्थित बर्न्टओक नेपाली समाजले दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

स्थानीय संगम हलमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा लण्डनको हेण्डन क्षेत्रबाट निर्वाचित सांसद डा. म्याथु अफोर्डले नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै क्षेत्रमा पुराइरहेको योगदानबाट आफू गौरवान्वित भएको बताउनुभयो । उहाँले स्थानीय क्षेत्रमा सरसफाइ लगायतका काममा बर्न्टओक नेपाली समाजको सकृय सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले भूतपूर्व गोर्खा लगायत नेपाली समुदायले ब्रिटेनलाई सामाजिक र सांस्कृतिकरुपले समृद्ध बनाउन योगदान पुराइरहेको पनि बताउनुभयो ।

बार्नेट काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर ह्यु रेनर, काउन्सिलरहरु चार्ली म्याकाले तथा अमर नकबीले नेपाली समुदायले बहुसांस्कृतिक बृटिश समाजमा थप रङ्ग थपिदिएको भन्दै अनुशासित र मेहनती नेपालीहरु सबै प्रवासीहरुकालागि अनुकरणीय रहेको बताउनुभयो ।

सो अवसरमा समाजको आजीवन सदस्यता लिएका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा इम्पेरियल कलेज लण्डनबाट माइक्रो बायोलोजीमा पिचडी पुरा गरेकी इश्वरी गुरुङ लगायत स्नातक तह तथा जीसीएससी पुरा गर्ने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सन्चालन समाजका उपाध्यक्ष टेकमान गुरुङले गर्नुभएको थियो भने समाजका अध्यक्ष रमेश गुरुङले कार्यक्रम सफल पार्न सघाउने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु उदय गुरुङ तथा लक्ष्य गुरुङले पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो । त्यस्तै आमा समूहका सदस्यहरुले पाहुनाहरुलाई खादा र व्याच लगाइदिनुभएको थियो । पेय पदार्थको संयोजन नन्द गुरुङ तथा नवीन गुरुङले गर्नुभएको थियो भने दुर्गा गुरुङले अतिथि सत्कारमा सघाउनुभएको थियो ।

कार्यक्रमको दोश्रो चरणको सांस्कृतिक कार्यक्रम संयोजन कमला गुरुङ तथा उदय गुरुङले  र सन्चालन अनुपमा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट आउनु भएकी चर्चित गायिका मौसमी गुरुङले लोकप्रिय गीतहरु गाएर सहभागीलाई नचाउनु भयो । त्यसैगरी खमीरजङ गुरुङ तथा उमेश खडकाले पनि लोकप्रिय गीतहरु गाएर मनोरन्जन दिलाउनु भएको थियो । बर्न्टओक युवा समाजका सदस्यहरु रनीज, अजय र मिलानले विभिन्न चर्चित गीतहरु गाएका थिए भने ससाना नानी एवम् अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको शुरुवात समाजका महासचिव मोहनजंग गुरुङको सुरक्षा सम्बन्धि जानकारीबाट भएको थियो । बर्न्टओक नेपाली समाजले हरेक वर्ष दशैं तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री