एनआरएनए युके टोलीको उपराष्ट्रपति र सभामुखसित भेट

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र सभामुख ओनसरी घर्तीमगरसित भेट गरी युकेका नेपालीहरुको विभिन्न समस्याका बारेमा जानकारी गराएका छन् । एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौँमा उहाँहरूसित अलगअलग भेट गरी सो ध्यानाकर्षण गराएका हुन् ।
उपराष्ट्रपति र सभामुखलाई बुझाइएको ज्ञापनपत्रमा प्रवासमा बसेका नेपालीहरुको नागरिकताको निरन्तरता र उनीहरुको सन्तानलाई वंशजका रुपमा सहज नागरिकता प्राप्ति, गोरखा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन, क्षतिपूर्तिको व्यवस्थाका लागि बेलायतसित पहल गर्न अनुरोध, वृद्धावस्थाका गोरखाहरुलाई २८ दिनभन्दा बढी बेलायतबाहिर बसे सुविधाहरु रोक्का हुने गरेकोमा सो समयावधि लम्ब्याउन माग, राष्ट्रिय गौरवका आयोजनामा प्रवासमा रहेका नेपालीहरुलाई पनि लगानी गर्ने अवसर दिन अनुरोध लगायत समावेश छन् ।
ज्ञापन पत्र ग्रहणपछि उपराष्ट्रपति पुनले नेपाल संविधान कार्यान्वयनको चरणमा रहेकाले लगानीको वातावरण बनेको बताउनुभयो । उहाँले प्रवासमा रहेका नेपालीलाई कस्तो र कुन किसिमको परियोजनामा लगानी गर्ने रोज्न पनि आग्रह गर्नुभयो । अबको आठ-दश वर्षमै नेपाल धेरै विकसित हुनसक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रवासमा रहेर पनि बेलायतका नेपालीहरुले नेपाली कला साहित्य संस्कृति भेषभूषा लगायतको संरक्षण र सम्वर्धनमा पुरयाएको योगदानको प्रशंसा गर्नुभयो ।
एनआरएनए युकेका अध्यक्ष फगामीले यसअघि उपराष्ट्रपतिलाई युकेमा स्वागत गर्न आतुर रहेको भनी दिएको निमन्त्रणाको प्रत्यूत्तरमा उपराष्ट्रपति पुनले यसअघि नै बेलायतका नेपालीहरुसित भेटघाट गर्ने अति चाहना रहेको तर प्रोटोकल लगायतका कारणले पूरा नभएको बताउनुभयो ।
यसैगरी, सभामुख ओनसरी घर्तीले बेलायतबासी नेपालीको समस्या र अवस्थाका बारेमा आफू अवगत रहेको र उनीहरुको समस्याको समाधानका लागि नेपाल सरकारले गर्नपर्ने कार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने वचन दिनुभयो ।
भेटका अवसरमा प्रतिनिधिमण्डलको परिचय नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगरले गराएका थिए भने ज्ञापन पत्र वाचन एनआरएनए युकेका प्रवक्ता रमेश सराङकोटीले गरेका थिए । एनआरएनए युकेका अध्यक्ष फगामीले ज्ञापन पत्र हस्तान्तरण गर्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री