को बन्ला एनआरएनए अध्यक्ष, भवन कि जमुना ?

पृष्ठभूमि-

गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनकालागि अहिले गैर आवासीय नेपालीहरुको महाकुम्भ मेला काठमाडौंमा शुरु भएको छ । अक्टोबर १४ देखि १७ सम्मकालागि आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्ष (२०१७- २०१९) का लागि नयां नेतृत्व समेत चयन गर्ने भएकोले नेतृत्व लिन चाहने एनआरएनहरुको दौडधुप, प्रचार प्रसार र लविङ तीब्र बनेको छ । यस संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै चलिरहेको छ । त्यसकारण एनआरएनएको भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्र नेपालीहरुमा छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ ।

रोचक मोड-

केही दिन अघिसम्म अध्यक्षका एक्ला दावेदार देखिएका जापानमा ब्यवसाय गरिरहेका हालका उपाध्यक्ष भवन भट्ट मात्र थिए । उनका प्रमुख प्रतिस्पर्धी ठानिएका जर्मनीमा ब्यवसाय गरिरहेका अर्का उपाध्यक्ष कुमार पन्तले यसपटक आफू अध्यक्ष नउठ्ने र एकपटकलाई पुनः उपाध्यक्ष मै निरन्तरता दिन चाहेको घोषणा गरेपछि भट्ट सर्वसम्मत हुने एनआरएन बीच चर्चा थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्त लगायतले भट्टलाई समर्थन गरेको ठानिएकाले भट्ट अध्यक्ष हुने चर्चाले एनआरएनबीच वातावरण गर्माएको थियो, तर अब त्यस्तो रहेन ।

केही समय अगाडि कतारमा बसेर ब्यवसाय गरिरहेका हालका अध्यक्ष शेष घलेसंग चुनाव लडेर हारेका टिबी कार्कीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । तर, त्यसलाई कसैले गम्भीरतापूर्वक लिएका थिएनन् । अब उनको उम्मेदवारी पनि 
हराउने जिताउने एउटा निर्णायक कडीको रूपमा देखापरेको छ ।

वर्तमान अध्यक्ष शेष घलेकी पत्नी श्रीमती जमुना गुरुङले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेपछि स्थितिमा व्यापक फेरबदल हुने सम्भावना देखिएको छ । उनको उम्मेदवारीपछि अध्यक्षको निर्वाचनको प्रतिस्पर्धा अत्यन्त कडा र रोचक मोडमा पुरयाएको छ ।

लेखक

अस्ट्रेलिया भर्सेज रसिया-

जमुना गुरुङको उम्मेदवारी घोषणासंगै फेरि एकपटक एनआरएनए भित्र अस्ट्रेलिया भर्सेज रसियाको शक्तिको होडबाजी सतहमा आएको छ । वर्तमानमा पनि एनआरएनए भित्रका प्रमुख खेलाडीहरु भनेका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीबा लामिछाने र हालका अध्यक्ष शेष घले नै हुन् । महतो र लामिछाने पूर्व सोभियत संघको रसिया र बेलारुसमा बसेर ब्यवसाय गर्दै आएका छन् भने घले दम्पत्ति अस्ट्रेलियामा ।

भवन भट्टलाई संस्थापक अध्यक्ष महतो र पूर्व अध्यक्ष लामिछानेको समर्थन रहेको मानिन्छ भने जमुनालाई आफ्नै श्रीमान वर्तमान अध्यक्ष घलेको पूर्ण समर्थन र सहयोग अनि जनजाती बल
रहेकोमा कुनै सन्देह छैन् । यसअर्थमा एनआरएनएको सत्ता हत्याउन अस्ट्रेलिया भर्सेज रसिया लबीको खेल निर्णायक चरणमा प्रवेश गरेको देखिन्छ । यी डलर अरबपतिहरुको महाभिडन्तले संस्थालाइ भने कुन मोडमा पुरयाउने हो त्यो अहिले नै अनुमान गर्नु हतारो हुनेछ ।

जातीय गन्ध-

दुईवर्ष अघि आफ्नो दोश्रो कार्यकालको शुरुआत मै अध्यक्ष घलेले आफ्नी श्रीमती जमुना गुरुङलाई एआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकारी समितिको सदस्यमा मनोनयन गर्दा यो एउटा रणनीतिक चाल थियोे वा हो भन्ने कुरा त्यहां भित्रका अन्य खेलाडीहरुले बुझेनन् वा बेवास्ता गरे । तर, घले योजनावद्धरुपमा आफ्नो उत्ताराधिकारी स्थापित गर्ने अभियानमा थिए जसको उत्कर्ष अहिले आफ्नै श्रीमतीलाई अध्यक्षमा अघि सार्नु एउटा ज्वलन्त दृष्टान्त हो ।

शेष घले अध्यक्ष भएपछि कतिपय देश र ठाउंका एनआरएनएहरुमा यसलाई जातीय रंग दिने प्रयास पनि भएका छन् । जनजाति र अरु भन्ने खालका दुष्भावनाहरुको बिजारोपण गर्ने प्रयत्न भएको छ । जमुना गुरुङको उम्मेदवारीपछि पनि त्यो गन्धको हावा चलाउने र चल्ने सम्भावना उत्तिकै छ । यस्तो खालको गतिविधि र सोच कसैको पनि हितमा छैन्, यस्तो जो कोहीबाट भए गरेपनि त्यो आम एनआरएनका लागि अस्वीकार्य विषय हो, जुन कार्यले एनआरएनएको संस्थागत एकता र भविष्य दुर्भाग्यपूर्ण पनि हुनसक्छ ।

आंकलन-

भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षको उम्मेदवारी घोषणा गरेपश्चात चुनावी पासा कसले पल्टाउंछ भन्ने अनुमान र आंकलन एनआरएनहरुबीच शुरु भएको छ । मुलरुपमा प्रतिस्पर्धा भट्ट र गुरुङबीच नै हुनेछ । कार्कीले ल्याउने भोटले हार जीतका लागि निर्णायक बनाउन सक्छ । संस्था स्थापना देखिको संलग्नता, एनआरएनएको विभिन्न पदमा बसेर काम गरेको लामो अनुभव, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष र वर्तमान कार्यसमितिका महत्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग भट्टका सवल पक्षहरु हुन् भने अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय समितिहरुसंगको सम्बन्ध विस्तार र वक्तृत्वकला उनका दुर्लभ पक्ष हुन् ।

अस्ट्रेलियाकै धनी महिलाको सूचीमा सूचीकृत हुनु, चारवर्षदेखि एनआरएनएको संस्थापन, आफ्ना पति हालका अध्यक्ष शेष घलेको पूर्ण साथ र सहयोग, नेपालका महत्वपूर्ण संबैधानिक पदहरुमा महिलाहरुको निर्णायक उपस्थितिले एकपटक एनआरएएमा पनि महिलालाई अध्यक्ष बनाउं न त भन्ने सहानुभूति र शुभेक्षा आदि जमुना गुरुङका सवल पक्षहरु हुन् भने उनका पतिले संस्थालाई संस्थागत रुपमा नचलाएको, निरकुंश कार्यशैली अपनाएको, पचास लाख नेपालीहरुको साझा संस्थामा परिवारवाद हावी गर्न खोजेको भनेर उठेका प्रश्नहरु उनका कमजोरीका कडीहरु हुन् ।

निष्कर्ष-

प्रतिस्पर्धाको यो तीब्र वेगमा जसले जतिसुकै ढाकछोप गरेपनि अन्तिममा निर्णायक पैसा हुनेछ किनकि त्यो अघिल्ला चुनावहरुको अनुभव र भोगाइ पनि हो । अहिले चुनावी मैदानमा उत्रिएका वा उनीहरूका पछाडिका खेलाडीहरु सबै डलर अरबपति नेपाली हुन् र छन् । त्यसकारण अघिल्ला चुनाव भन्दा यसपालि झन् बढी पैसाको चलखेल र छेलोखेलो हुनेमा कुनै आशंका छैन् । यी सबै पृष्ठभूमिबीच दुई पक्षीय कडा प्रतिस्पर्धाबाट को अध्यक्ष बन्ला अबका केही दर्जन घन्टाहरु कुर्नै पर्ला । तर, यति चैं यकिन हो भट्ट जिते एनआरएनएको नेतृत्व दोश्रो पुस्ताको युवामा सर्नेछ भने जमुनाले जिते उनी इतिहासमा पहिलो महिला एनआरएनए अध्यक्ष बन्नेछिन् ।

(लेखक युरोपमा नेपाली पत्रकारितामा आवद्ध छन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री