‘युरोपमा एनआरएन अभियानलाई अगाडि बढाउन मेरो उम्मेदवारी’

स्विटजरल्यान्ड । गएको १४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत डा. विनय श्रेष्ठ एक क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। नेपाल र युरोपमा उच्चस्तरीय पेशागत अनुभव र शिक्षा हासिल गरेका श्रेष्ठ गत एक दशकदेखि अनवरत रूपमा गैरआवासीय नेपाली संघमा आबद्ध हुनुहुन्छ। गैरआवासीय नेपाली संघ स्विटजरल्यान्डमा  संस्थापक उपाध्यक्ष (सन २००८-२००९), दुई कार्यकाल अध्यक्ष (२००९-२०११ र २०११-२०१३) र हाल आईसीसी सदस्य रहनु भएका श्रेष्ठले आउँदो कार्यकालकालागि  गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय संयोजक पदकालागि उम्मेदवारी घोषणा गर्नुभएको छ। प्रस्तुत छ सोही उम्मेदवारीको सेरोफेरोमा रहेर डा. श्रेष्ठसंग वीनेपालीडटकमले गरेको कुराकानीको संपादित अंश:

तपाईं एनआरएनमा सहभागी हुनुभएको कतिभयो? तपाईं किन यो अभियानप्रति आकर्षित हुनुभयो?

सन २००८ मा हामीले स्विटजरल्याण्डमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको गठन गरेका हौं । म संस्थापक उपाध्यक्ष थिएँ । त्यसपछि म निरन्तर र सक्रिय रुपमा एनआरएन संघमा संलग्न छु । यस क्रममा मैले राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको दुई कार्यकाल अध्यक्ष र  एक कार्यकाल आईसीसी सदस्यको हैसियतमा कार्य गर्ने सौभाग्य प्राप्त गरें ।

एनआरएन अभियानमा सहभागी भएदेखि नै मैले विश्वभरि छरिएर रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुसँग नेपाल, नेपाली  र गैरआवासीय नेपालीहरुका चासोका विषयहरुमा अन्तरक्रिया र सहकार्य गर्ने अवसर प्राप्त गरेको छु ।

हाम्रो कर्मभूमि युरोप भएपनि नेपाल हाम्रो मातृभूमि हो,  मूल घर हो । हामीलाई नेपाली माटो, परिवेश र संस्कृतिले हुर्काएको हो । म युरोपेली समाजमा घुलमिल भए पनि नेपाली भाषा, कला र संस्कृति अर्थात नेपालीपन नै मेरो मूल मर्म हो भन्ने ठान्दछु । मैले एनआरएन संघलाई नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुका बीचको भावनात्मक पुलको रुपमा ग्रहण गरेको छु ।

संघले हरपल नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुको सुखदुःखको साथी बन्ने कोशिस गरेको मैले पाएको छु । नेपाल र नेपालीजनको दु:खमा सक्दो मल्हमपट्टि लगाउने प्रयास गरेको देखेको छु । नेपाल र प्रवासी नेपालीबीचको सेतु बन्न यसप्रकारको संस्था हुनु आवश्यक छ र यस्तो अभियानलाई हामीले प्रतिबद्ध भएर सहयोग गर्नुपर्छ भन्ने मेरो पहिल्यैदेखिको बुझाई हो । पक्कै पनि सबैले अपेक्षा गरे जति संघले सफलता प्राप्त गर्न सकेको छैन तर हामी निरन्तर प्रयासरत छौं ।

म यस अभियानमा सामेल भएदेखिनै मैले यसलाई एक विश्वविद्यालयको रुपमा लिएर गैरआवासीय नेपाली समाजको विविध पक्ष र पाटाहरुको सूक्ष्म विश्लेषण गर्दै आफ्ना विचार राख्ने र लेख-रचनाहरु प्रकाशित गर्ने गरेको छु । संस्थागत रुपमा मैले विगतका १० वर्ष खासगरी यसै अभियानमा बिताएँ । मेरो मन, वचन र कर्ममा एनआरएन संघ छ ।

तपाईंले एनआरएनएको युरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी घोषणा गर्नुभएको छरु तपाईंका एजेण्डा के के छन्?

गैरआवासीय नेपाली संघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै युरोपमा एनआरएन अभियानलाई समन्वयात्मक रूपमा अगाडि बढाउने हेतुले मैले उम्मेदवारी दिएको हुँ ।

पहिलो, युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने मेरो योजना छ ।

दोस्रो एजेण्डा हो, संघका संस्थागत चुनौतीहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउन युरोपले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

तेस्रो कुरा, प्रवासी नेपालीहरूको प्रतिनिधि संस्था गैरआवासीय नेपाली संघ भए पनि अझैसम्म पनि थुप्रै साथीहरू संस्थामा आबद्ध हुनुहुन्न । त्यस्तै दोस्रो पुस्तालाई पनि आकर्षित गर्नु आवश्यक छ । यसको निम्ति गतिशिल नेतृत्व आवश्यक हुन्छ ।

अर्को कुरा, युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने मेरो योजना छ ।

त्यसैगरी, नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्नेछौं। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिन मेरो भूमिका रहनेछ ।

तपाईंले खासगरी युरोपमा एनआरएनको अभियानलाई नजीकबाट नियाल्नुभएको छ। युरोपका नेपालीहरुको सीप र अनुभवलाई कसरी उपयोग गर्न सकिन्छ जस्तो तपाईंलाई लाग्छ?

एनआरएन संघको स्थापना र विकास युरोपबाट नै भएको तथ्य सर्वविदितै छ । युरोप क्षेत्र संघको सबैभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु भएको क्षेत्र पनि हो । यस क्षेत्रले यसैअनुसार संघमा आफ्नो भूमिका पनि खेल्दै आएको छ । तर यो काफी छैन । समयानुकूल दृष्टिकोण र ‘रोल-प्ले’ को आवश्यकता छ । हामीलाई त्यस्तो खालको नेतृत्व चाहियो जसले नवीन सोच, प्रज्ञा र प्रवासी नेपालीका दोस्रो पुस्ताको चाहनालाई समेत ग्रहण गरेर काम गर्न सकोस् ।

युरोप क्षेत्रमा २७ राष्ट्रिय समन्वय परिषदहरु छन् । जसमा हजारौं सदस्य भएका राष्ट्रहरुदेखि एक सयभन्दा कम मात्रले सदस्यता लिएका राष्ट्रहरू पनि छन् । अर्को पक्ष हेर्ने हो भने केही राष्ट्रिय समन्वय परिषदहरु अत्यन्तै सक्रिय छन् त  केही कम सक्रिय छन् । अझै गहिरो अध्ययन गर्ने हो भने युरोपमा पनि फरक फरक आर्थिक उन्नति र आयस्तर भएका राष्ट्रहरु छन् । यी सबै राष्ट्रहरुलाई सामूहिक रुपमा गाडि बढाउनु पर्ने आवश्यकता म देख्दछु । थोरै सदस्यता भएका राष्ट्रिय समन्वय परिषदले पनि क्षेत्रीय र केन्द्रिय स्तरमा सशक्त भूमिका खेल्न सक्ने वातावरणको सृजना हुनु जरुरी छ । त्यस्तै ठूलो संख्यामा सदस्यहरु हुने परिषदहरुलाई पनि आकार अनुसारको जिम्मेवारी दिनुपर्ने हुन्छ । त्यसैले हरेक राष्ट्रिय समन्वय परिषदको आवश्यकता र संभावनालाई बुझेर सटिक ढँगले व्यवस्थापन र प्रोत्साहन गर्नु आवश्यक छ । जसले गर्दा हरेक युरोपेली देशमा रहेका मित्रहरूको सीप र अनुभवलाई उपयोग गर्ने वातावरण बनोस् ।

एनआरएनमा सीप, ज्ञान तथा इनोभेशन कमिटी SKI गठन भएको निकै भयो, तर खासै काम भएको देखिंदैन। किन होला?

युरोपको नेपाली समाजले सिकेको सबैभन्दा ठूलो कुरा भनेको यहाँको काम गर्ने पद्धति, गुणस्तरीय शैली र कामलाई सम्मान गर्ने संस्कृति हुन् भन्ने मलाई लाग्दछ ।  त्यसका साथसाथै नेपालीहरुले बढ्दो रूपमा पेशागत क्षेत्रहरुमा ज्ञान, सीप र विशेषज्ञता हासिल गरेका छन् । यी सबै दक्षता र विशेषज्ञतालाई कुनै न कुनै रुपमा हामीले नेपाल भित्र्याउन सक्नु नेपालको हितमा हुन्छ । यसका निम्ति एउटा समिति मात्र सक्रिय भएर पुग्ने अवस्था छैन । पुरा क्षेत्र र केन्द्र नै लाग्नु पर्ने देखिएको छ । यो गहन कुरा हो । मैले युरोपमा हामीले आर्जन गरेको शिप र ज्ञानलाई नेपाल भित्र्याउन क्षेत्रगत रुपमै एक योजना बनाई कार्य गर्ने सोच राखेको छु ।

तपाईंको अरु केही भन्नु छ कि?   

गैरआवासीय नेपाली संघप्रति घरदेश र परदेशमा निकै चासो र आशा रहेको छ । निःसन्देह यो संस्था यहाँसम्म आइपुग्न एनआरएन अभियन्ता र अग्रज नेतृत्वको देन छ । तर पछिल्लो समयमा विद्वान मित्रहरू, सचेत एनआरएनकर्मीहरू र पत्रकार साथीहरूले पनि एनआरएन संघमा राजनीतिकरण ज्याद्री हुनथाल्यो र भिजन भएका व्यक्तिहरू पाखा लागे भनेर चिन्ता व्यक्त गर्नु भएको छ । मेरो संस्थागत लगाव, उच्चशिक्षा र अनुभवसिद्ध प्रोफाइल खुला पुस्तक जस्तै छ । यस परिप्रेक्ष्यमा म संघका सबै सदस्यहरूलाई के निवेदन गर्न चाहन्छु भने तपाईंहरूले नेतृत्व चयनका बेला मेरो प्रोफाइल र अन्य उम्मेदवार साथीहरूको प्रोफाइललाई तुलनात्मक रूपमा हेरेर निर्णय लिनुहोस् । हाम्रो मिसनमा, हाम्रो उद्देश्यप्राप्तिमा र दूरगामी कार्यनीति लिएर संस्थालाई अगाडि बढाउने सवालमा म खरो उत्रन्छु भन्ने कुरामा म सबै मित्रहरुलाई विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री