भारतमा सगुनबारे तीव्र चासो, संस्थापक गिरी थप उत्साहित

नयां दिल्ली । सोसल इकमर्श साइट सगुन डटकमबारे भारतमा तीव्र चासो व्यक्त भएको छ । सगुनका संस्थापक गोविन्द गिरीको हालै भएको भारत भ्रमणमा भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने तहसम्म सगुनबारे चासो व्यक्त भएको हो । बेग्ला बेग्लै भेटमा भारतीय नेतृत्वले सगुनलाई सहयोग गर्ने आश्वासन दिएको छ ।

भारतीय सरकारको नीति निर्माण र कार्यान्वयनमा सहयोग गर्ने 
’थींक ट्याङक’ संस्था ‘नीति आयोग’ ले भारतमा समेत कार्यालय राखि सञ्चालनमा आएको स्टार्ट अप कम्पनी ‘सगुन’ लाई भारत सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको वचन दिएको छ ।

सगुनका संस्थापक गिरीसंगको भेटमा भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अभिताभ कान्तले भारत सरकार सगुनलाई कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको बताए । सगुनका भावी योजना र परियोजनाहरुमा भारतीय सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन कान्तले दिएका थिए ।

अमेरिकामा स्टार्ट अप कम्पनीका रुपमा स्थापना भएको सगुनले अहिले भारतमा समेत कार्यालय खोलेर आफ्नो परियोजना विस्तार गरिरहेको छ । सगुनले भारतस्थित आफ्नो कार्यालयमा डिजाइन र डेभलपमेन्टको काम गर्छ ।

आयोगका प्रमुख कार्यकारी अधिकृत कान्तसंगको भेटमा सगुनका सहसंस्थापक स्वाती दयालको पनि उपस्थिति थियो  ।

यसअघि सगुनका संस्थापक गिरीले भारतीय केन्द्रीय गृहमन्त्री 
राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसंग पनि भेट गरेका थिए । भारत सरकारका ति उच्च नेतृत्वकर्तासंगको भेटमा उनीहरुले सगुनको योजना र लक्ष्यबारे जानकारी लिएका थिए ।
सगुनलाई सफल बनाउन भारत सरकारको तर्फबाट दिनुपर्ने सबै किसिमका सुविधा दिन भारत सरकार तयार रहेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताएका थिए ।

सगुनले सर्वसाधारणलाई शेयरमा लगानी गर्न अवसर दिएकोमा पनि सिंहले खुसी व्यक्त गर्दै दक्षिण एसियामा पनि स्टार्ट अप कल्चरलाई बढावा दिनुपर्ने आफ्नो राय राखेको सगुनले बताएको छ ।

अमेरिकामा शुरु भएपनि सगुनमा नेपाली मुलका संस्थापक भएको जान्न पाउंदा आफूलाई खुसी लागेको जनाउंदै सिंहले सगुनको सफलता नेपाली मुलको एक नेपालीको मात्र नभइ दक्षिण एसियाकै आम नागरिकको सफलतासंग जोडिएको समेत बताए ।

उता, गिरीसंग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको पनि भेटघाट भएको थियो । उक्त क्रममा डोभलले भारत सरकारका तर्फबाट सगुन जस्ता स्टार्ट अप कम्पनीहरुको प्रवर्धनमा सहयोग गर्ने आश्वासन दिएका थिए । भारतीय उच्च नेतृत्वसंग भएको भेटले आफू निकै उत्साहित भएको उल्लेख गर्दै सगुनका संस्थापक गिरीले स्टार्ट अप कम्पनीहरुलाई वढावा दिने भारतीय नीतिबाट आफू प्रभावित भएको सुनाए ।

सगुन इन्डियाले स्टार्ट अप व्यवसायी, लगानीकर्ता र मार्केटिङ एक्जुकेटिभसंग बेग्लै अन्तरक्रिया समेत गरयो । उक्त अवसरमा भारतीय जनता पार्टी (बीजेपी) का पूर्व महासचिव सन्जय विनायक जोशीले सगुनले दक्षिण एसिया क्षेत्रमा वैकल्पिक टेक प्लेटफर्म ल्याएकामा खुशी व्यक्त गर्दै यसले अर्थतन्त्र बलियो बनाउन र रोजगारीको अवसर सृजना गर्न सघाउने विश्वास व्यक्त गरे ।

जोशी सगुन इन्डियाले आफ्नै कर्पोरेट अफिस बाटिका माइन्डस्केप, फरिदावादमा आयोजना गरेको अन्तरक्रियामा समेत प्रमुख अतिथी थिए । उक्त कार्यक्रममा स्थानीय बिजेपी नेता र नेपालका हितैषी रणशिव शंकर पनि विशेष अतिथीका रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रममा संस्थापक गिरीले सगुनको विस्तृत प्रिजेन्टेसन दिंदै नयां प्रविधिले भारत र विश्वलाई कसरी जोड्छ भन्नेबारे स्पष्ट पारेका थिए । जोशीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रविधि मन्त्री रवि शंकर प्रसादसमक्ष सगुन योजनाबारे कुरा लैजाने र यसलाई हरसम्भव सहयोग दिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सगुनका सहसंस्थापक स्वाती दयालका साथ भारत भ्रमणका क्रममा संस्थापक गिरीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र अन्य वरिष्ठ अधिकारीहरुसंग समेत भेट गरेका छन् । भेटमा भारत सरकारका तर्फबाट सगुनलाई सहयोग हुने आश्वासन पाएकापछि गिरी झन् बढि आशावादी देखिएका छन् ।

सगुन आफ्नो एन्ड्रोइड भर्जनको ‘मोवाइल एप’ ल्याउने अन्तिम तयारीमा छ । भारतबाटै सार्वजनिक हुने सो मोवाइल एपपछि प्रयोगकर्ता बढ्ने अपेक्षा सगुनको छ ।

सगुन शेयरमा आधारित विजनेश भएको बताउंदै कम्पनीले कतिपय व्यक्तिमा यो नेटवर्किङ विजनेश हो भन्ने भ्रम परेको देखिएकोले त्यो नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री