प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद अध्यक्षबीच भेटवार्ता

ओमनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा ओमन सरकारका मन्त्रिपरिषदका अध्यक्ष सइद फहद मोहम्मुद अल–सइद संग देवान अफ रोयल कर्ट राजदबारमा उच्चस्तरीय भेटवार्ता गर्नुहुँदै । तस्वीर ः भीष्मराज ओझा, ओमन, रासस

मस्कट (ओमन), १० असोज – प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएको छ ।

देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।

भेटमा दुई देशबीच सहयोग तथा सम्बन्ध विस्तार गर्ने र सहयोगका क्षेत्र कसरी पहिचान गर्ने, पर्यटन, सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले नेपालले संयुक्त राष्ट्रिय संघीय मानव अधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको अवगत गराउँदै सहयोगका लागि ओमन सरकारसँग आग्रह गर्नुभएको डा भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा राजनीतिक स्थायित्व हुँदै गएको र लगानीको उचित वातावरण बनेकाले नेपालमा लगानीका लागि आग्रह गर्नुभएको थियो भने ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदले त्यसमा आफू सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

नेपाल र ओमन सरकारबीच परराष्ट्र मन्त्रालयस्तरमा आपसी सरसल्लाह गर्न कूटनीतिक संयन्त्र बनाउने विषयको सम्झौतामा बुधबार हस्ताक्षर हुने बताइएको छ । भेटमा नेपालमा तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, सल्लाहकार डा भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र यहाँस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकाल हुनुहुन्थ्यो ।

त्यस्तै ओमन सरकारका तर्फबाट मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइद, वाणिज्य र उद्योगमन्त्री डा अली अल सुनैदे, मानव संशाधन मन्त्री सेख अब्दुल्ला नासेर अल बाक्री, शिक्षा मन्त्री डा मदिह अहमद अल सैबानिया, सामान्य प्रशासन (सिभिल सर्भिस) मन्त्री सेख खालिद ओमर अल मर्हूनलगायत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुदै सोमबार यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।

प्रधानमन्त्री देउवालाई मस्कट विमानस्थलमा ओमनका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदलगायत मन्त्रीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा प्रधानमन्त्री देउवालाई रोयल ओमन प्रहरीले गार्ड अफ अनरद्वारा सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाले आजै ग्राण्ड सुल्तान मस्जिद, राष्ट्रिय संग्राहालय, रोयल ओपेरा हाउसको अवलोकन गर्नुभएको थियो ।

ओमनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा ओमनको मस्कटमा ग्राण्ड सुल्तान मस्जिद, राष्टिय संग्राहालय र रोयल ओपेरा हाउसको अवलोकन गर्नुहुँदै । तस्वीर ः भीष्मराज ओझा, ओमन, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री