भीम केसी ‘कमल’ एनआरएनए युरोप उप-संयोजकमा उठ्ने


लिस्बोन । एनआरएनए पोर्तुगलका निवर्तमान अध्यक्ष भीम केसी ‘कमल’ ले युरोप उप-संयोजकका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बेलायत पछि युरोपमा सबैभन्दा बढि नेपाली रहेको एनआरएनए पोर्तुगलको छैटौं कार्यसमितिले पोर्तुगलबाट उम्मेदवारको रुपमा उनलाई युरोप उप-संयोजकमा प्रस्ताव गरेको जनाइएको छ ।

एनआरएनए पोर्तुगलका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहमा केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी घोषणा गर्दै भनेका थिए, ‘एनआरएनएमा आफ्नो लामो अनुभव र विशेष गरि पोर्तुगलमा बिताएको एक दशकभन्दा लामो समयले यो माटो र सिंगो युरोपका नेपालीहरुको समस्याहरु राम्ररी बुझेको छु । यस्ता समस्याहरुलाई एनआरएनए अभियान कै माध्यमबाट समाधान गर्न सकिने विश्वास र योजनाको आधार नै मेरो उम्मेदवारी हो ।’

अन्तर्राष्ट्रिय समन्वय परिषदको यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुने विश्व सम्मेलन र निर्वाचनका सन्दर्भमा केसीको उम्मेदवारी घोषणा भएको हो ।

को हुन् केसी ?

लिस्बोनमा बस्दै आएका केसीले नर्वेबाट बिशेष शिक्षा शास्त्रमा पोष्ट ग्राजुएट गरेका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालबाट कानुनमा बिएल, लेखामा बीबीएस र शिक्षामा एमएड सम्मको अध्ययन समेत उनले पुरा गरेका छन् ।

एनआरएनएमा विगत लामो समयदेखि आवद्ध र सक्रिय केसीले सन् २००९–११ मा पोर्तुगल एनआरएनएको उपाध्यक्ष, सन् २०११–१३ मा अन्तर्राष्ट्रिय समन्वय समितिको मिडिया टास्कफोर्स सदस्य, सन् २०१३–१५ मा पोर्तुगल एनआरएनएको सल्लाहकार र २०१५ – १७ मा अध्यक्षको कार्यकाल सफलतापूर्वक पुरा गरेका छन् ।

कस्तो भूमिका छ युरोप उप-संयोजकको ?

एनआरएनएका क्षेत्रीय समितिहरुमा युरोपको क्षेत्रीय समितिलाई सबैभन्दा शक्तिशाली मानिन्छ । त्यसैले यो क्षेत्रीय समितिको संयोजक र उप-संयोजकमा धेरै आकर्षण र प्रतिस्पर्धा छ । अहिल्यै संयोजकमा आधा दर्जन र उप-संयोजकमा त्यो भन्दा बढीको उम्मेदवारी घोषणा भइसकेको छ ।

युरोपका सम्पूर्ण देशहरुका एनआरएनएका राष्ट्रिय समितिहरुको संयोजनकारी भूमिका खेल्ने र युरोपियन मापदण्डले विश्वब्यापी मान्यता पाएको हुँदा पनि यसको भुमिका र महत्व बढ्न गएको हो । युरोप क्षेत्रीय समितिमा संयोजक एक र उप-संयोजक दुई पदको ब्यवस्था विधानमा छ ।

जित्लान् त केसीले ?

निश्चय नै चुनाव हो को हार्छ, को जित्छ भन्न सकिदैन तर केही अनुमान र विश्लेषण भने गर्न सकिन्छ । केन्द्रीय परिषदको सम्मेलनमा सदस्यता संख्याको आधारमा युरोपमा बेलायत पछि सायद पोर्तुगल कै सबैभन्दा बढि प्रतिनिधि होलान्, जुन सय जनाको हाराहारी हुनेछ ।

यदि पोर्तुगलबाट केसी मात्र उम्मेदवार हुने र पोर्तुगलका प्रतिनिधि एकगठ भएर प्रस्तुत हुने हो भने केसीको दावी सबैभन्दा बलियो देखिन्छ र अरु युरोपियन मुलुकका केहीको समर्थन र बेलायतबाट केही भोट तान्ने हो भने उनले जित्ने सम्भावना अधिकतम देखिन्छ ।

पोर्तुगलबाट सम्पूर्ण प्रतिनिधि आए र एकताकासाथ प्रस्तुत भए भने केसी अहिले घोषणा गरिएका युरोप उप-संयोजकका उम्मेदवारहरुमा सबैभन्दा सशक्त दावेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री