
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री ए आयोजनाको सुरुङमार्ग । तस्बिर – सौजन्य–माथिल्लो त्रिशुली थ्रीए, रासस
काठमाडौँ, ६ असोज (रासस)- भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ ।
आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ । सुरुङको लम्बाइ चार हजार ७६ मिटर रहेको छ । सधैँ विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को सुरुङ गएराती ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको कूल प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ ।
प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण उठ्नै नसक्ने गरी प्रभावित भएको आयोजना चिनियाँ ठेकेदारले गत वैशाखदेखि युद्धस्तरमा काम गरेपछि सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना एउटा लयमा फर्किएको र अरू कामसमेत यही तरिकाले अगाडि बढे आयोजनामा लामो समय नलाग्ने बताउनुभयो ।
चीनको गेजुवा ग्रुप अफ कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सो निर्माण कम्पनीसँग इपिसी मोडलमा ठेक्का गरेको थियो । भूकम्पका कारण आयोजना निर्माण नगर्ने भन्दै पछाडि हटेको चिनियाँ ठेकेदारलाई सरकारले उच्च कूटनीतिक पहलमार्फत निर्माणका लागि सहमत गराएको थियो । भूकम्पका कारण ठूला ढुंगा खस्दा ठेकेदारको रु एक अर्ब बराबरको क्षति पुगेको दाबी गरेको छ ।
आयोजना प्रमुख जोशीले आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले भौतिक निर्माणको काम ८२ प्रतिशतको हाराहारीमा पुगेको र त्यसले आयोजनालाई थप गति दिएको बताउनुभयो । भूकम्पले आयोजनाको बाँधमा ठूलो क्षति पुरयाएका कारण त्यसलाई पुनः निर्माण तथा मर्मतका लागि निर्माण व्यवसायी र प्राधिकरणबीच सहमति भएको छ । पहुँच मार्ग निर्माणका लागि सरकारले नेपाली सेना परिचालन गरेको थियो । सो कार्यका लागि मात्रै रु ६१ करोड खर्च भएको थियो ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणका लागि चौतर्फी पहल गर्नुभएको थियो । आयोजनाको भौतिक प्रगति राम्रो भए पनि त्रिशूली काठमाडौँ मातातीर्थ १३२ केभी प्रसारण लाइन निर्माणमा भने केही समस्या रहँदै आएको छ । आयोजनामा पछिल्लो पटक सिमेन्टका कारण प्रभावित भएको छ । जग्गा प्राप्ति र मुआब्जा वितरणका विषयमा कुरा मिल्न नसक्दा प्रसारण लाइन निर्माणमा सम्स्या आएको आयोजनाले जनाएको छ ।
परियोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर प्रमाणपत्र चिह्न लिनुपर्ने प्रावधान राखेका कारण सिमेन्ट अभाव हुन पुगेको छ । आयोजनालाई दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ । यस्तै आयोजनाबाट निकास भएको पानी प्रयोग गरेर ३७ मेगावाट क्षमताको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना निर्माणको काम शुरु भएको छ । सो आयोजनामा प्राधिकरण र नेपाल टेलिकमले संयुक्त रुपमा लगानी गर्न लागेका छन् ।
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता