माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री ए आयोजनाको सुरुङमार्ग । तस्बिर – सौजन्य–माथिल्लो त्रिशुली थ्रीए, रासस

काठमाडौँ, ६ असोज (रासस)- भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ ।

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ । सुरुङको लम्बाइ चार हजार ७६ मिटर रहेको छ । सधैँ विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को सुरुङ गएराती ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको कूल प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण उठ्नै नसक्ने गरी प्रभावित भएको आयोजना चिनियाँ ठेकेदारले गत वैशाखदेखि युद्धस्तरमा काम गरेपछि सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना एउटा लयमा फर्किएको र अरू कामसमेत यही तरिकाले अगाडि बढे आयोजनामा लामो समय नलाग्ने बताउनुभयो ।

चीनको गेजुवा ग्रुप अफ कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सो निर्माण कम्पनीसँग इपिसी मोडलमा ठेक्का गरेको थियो । भूकम्पका कारण आयोजना निर्माण नगर्ने भन्दै पछाडि हटेको चिनियाँ ठेकेदारलाई सरकारले उच्च कूटनीतिक पहलमार्फत निर्माणका लागि सहमत गराएको थियो । भूकम्पका कारण ठूला ढुंगा खस्दा ठेकेदारको रु एक अर्ब बराबरको क्षति पुगेको दाबी गरेको छ ।

आयोजना प्रमुख जोशीले आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँले भौतिक निर्माणको काम ८२ प्रतिशतको हाराहारीमा पुगेको र त्यसले आयोजनालाई थप गति दिएको बताउनुभयो । भूकम्पले आयोजनाको बाँधमा ठूलो क्षति पुरयाएका कारण त्यसलाई पुनः निर्माण तथा मर्मतका लागि निर्माण व्यवसायी र प्राधिकरणबीच सहमति भएको छ । पहुँच मार्ग निर्माणका लागि सरकारले नेपाली सेना परिचालन गरेको थियो । सो कार्यका लागि मात्रै रु ६१ करोड खर्च भएको थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणका लागि चौतर्फी पहल गर्नुभएको थियो । आयोजनाको भौतिक प्रगति राम्रो भए पनि त्रिशूली काठमाडौँ मातातीर्थ १३२ केभी प्रसारण लाइन निर्माणमा भने केही समस्या रहँदै आएको छ । आयोजनामा पछिल्लो पटक सिमेन्टका कारण प्रभावित भएको छ । जग्गा प्राप्ति र मुआब्जा वितरणका विषयमा कुरा मिल्न नसक्दा प्रसारण लाइन निर्माणमा सम्स्या आएको आयोजनाले जनाएको छ ।

परियोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर प्रमाणपत्र चिह्न लिनुपर्ने प्रावधान राखेका कारण सिमेन्ट अभाव हुन पुगेको छ । आयोजनालाई दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ । यस्तै आयोजनाबाट निकास भएको पानी प्रयोग गरेर ३७ मेगावाट क्षमताको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना निर्माणको काम शुरु भएको छ । सो आयोजनामा प्राधिकरण र नेपाल टेलिकमले संयुक्त रुपमा लगानी गर्न लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री