प्रधानमन्त्री देउवा न्यूयोर्कमा

देउवा

न्यूयोर्क, ४ असोज – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (अमेरिकी समयअनुसार) बिहान ९ः३० बजे यहाँ आइपुग्नुभएको छ ।

न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।

‘जनतामा केन्द्रित ः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका निम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही असोज ३ गतेदेखि शुरु भएको हो ।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले असोज ५ गते अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले असोज ६ गते इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

मुलुकभित्र सबै दलको सहभागितामा सहमतिको वातावरण बनाई उत्साहपूर्वक स्थानीय तहका सबै चरणका निर्वाचन सम्पन्न गरी भएको प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण महत्वपूर्ण मानिएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा असंलग्न आन्दोलनका सदस्यराष्ट्रहरुको मन्त्रिस्तरीय वैठकलाई सम्बोधन गर्दै । तस्वीर सौजन्य – उपप्रधानमन्त्रीको सचिवालय-रासस

साथै संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा र यसअघिका ७० औँ र ७१ औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले पनि प्रधानमन्त्री देउवाको यो भ्रमण निकै महत्वपूर्ण हुनेछ ।

प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै असोज ६ गते नै न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुनेछ । त्यसैगरी उहाँ न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले असोज ७ गते नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।

नेपालले संयुक्त राष्ट्र संघको सन् १९५५ मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ । नेपालको तर्फबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री