यांगुन, ३ असोज (रासस-एएफपी) – म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो ।
उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले गत हप्ता जनाएको थियो । तर उहाँले उक्त सभामा सहभागी हुनुपर्ने माग विश्व समुदायबाट आएको प्राप्त समाचारमा जनाइएको छ ।
म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ । जसका कारण उहाँले उक्त भ्रमण नै रद्द गर्नुभएको बताइएको थियो ।
म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै चार लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतीको विषयमा व्यापक विवाद सुरु भएको छ ।
तर म्यानमार सरकारले भने उनीहरुलाई देश छोड्न बाध्य पार्ने काम सरकारले नगरेको र यहाँका आतङ्ककारीविरुद्ध सेनाको कारबाही मात्र गरेको स्पष्ट गर्दै आएको छ ।
यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल हुने भएको छ । उक्त विवादले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि विवादमा तानेको छ ।
म्यानमार सरकारका प्रवक्ता जा एचतेले भन्नुभयो– विदेशमन्त्री एवम् म्यानमारका राज्य सल्लाहकार सुकीले संयुक्त राष्ट्रसंघीय महासभामा आफ्नो उपस्थिति जनाउनुहुने छैन, उहाँले सो भ्रमण रद्द गर्नुभएको छ ।
तर गतहप्ता उहाँले सो भ्रमण रद्द गरेपछि विश्वका विभिन्न समुदायबाट उहाँले उक्त सभामा सहभागी हुनुपर्ने र रोहिङ्गा समुदायका नागरिकमाथि के भएको हो भन्ने बारेमा त्यहीँबाट नै विश्वलाई जानकारी दिनुपर्ने भनी दबाब आएको बताइएको छ ।
तर समाचारमा सो अन्तर्राष्ट्रिय समुदाय को हुन् र के कसरी दबाब आइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन । उहाँले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर यस विषयमा स्पष्ट गर्नुपर्नेमा जोड दिइएको सो समाचारमा स्पष्ट गरिएको छ ।
राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण गएको २५ अगष्ट देखि उनीहरु देशभित्र र बाहिर विस्थापित भएका हुन् । सो विवादका कारण देश छोडेका रोहिङ्गा बङ्गलादेश छिरेका छन् ।
उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ ।
म्यानमारका विदेशमन्त्री सुकीले पनि रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादती गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउदै आउनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि उनीहरुमाथि भएको मानवअधिकार हननको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त आयोगका प्रमुख जियाद राद अल हुसेनले म्यानमारको उक्त समुदायमाथिको ज्यादती नियोजित भएको बताउनुभएको थियो ।
अन्तर्राष्ट्रिय निगरानी स्वीकार्य छ–सुकी
नेपित, ३ असोज- सुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गर्नुभएको छ ।
साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताउनुभएको छ ।
अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न बाध्य भएका छन् । उक्त हिंसाबारे पहिलो पटक उहाँले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।
उहाँले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अगष्ट २५ देखि सुरु भएको हिंसा अहिले भने रोकिएको दाबी पनि सो सम्बोधनमा गर्नुभएको छ ।
उहाँले देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुपर्नाको कारण खोजीगर्ने र त्यसका लागि सरकारले अब अनुसन्धानको प्रक्रिया थाल्ने पनि जानकारी सो सम्बोधनका क्रममा दिनुभएको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ ।
म्यानमारको सेनाद्वारा उक्त समुदाय विरुद्ध भएका दमनबारे उहाँले केही उल्लेख गर्नुभएको छैन । तर उहाँले निर्दोष मानिसहरुलाई यसरी देश छोड्नुपर्ने गरी कारबाहीको प्रक्रिया अघि नबढाउन सेनालाई निर्देशन दिइएको जानकारी भने उहाँले दिनुभयो ।
म्यानमारको सेनाले गरेको रोहिङ्गमाथिको धर पकडको बारेमा जवाफ दिन विश्व समुदायबाट उहाँमाथि दवाव पर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उक्त जातिमाथिको मानाअधिकार हनन्को अवस्था रोक्न र देश छोडेर भागेकाहरुलाई घर फर्किने वातावरण निर्माण गर्न म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन् ।
उहाँले उक्त समुदायको बारेमा नबोलेको र बचाउ पनि नगरेको भन्दै उहाँको कडा आलोचना भएको छ । म्यानमार भित्र र बाहिरबाट उहाँले पाएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज समेत उठाउँदै आएका छन् ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत