लन्डनमा नेपालको भूकम्प जोखिमबारे चिन्ता

लन्डन । नेपालमा भूकम्प सुरक्षाकालागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले दुई वर्षअघि बैशाख २०७२ मा शनिबारका दिन भूकम्प गएकाले झण्डै ३० हजार बालबालिका, शिक्षक, शिक्षिका र कर्मचारीहरुको ज्यान जोगिएको बताएका छन् ।

यसै साता लन्डनको इन्स्टिच्यूट अफ एडुकेशनस्थित शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्रद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल भूकम्प प्रविधि समाज (एनसेट) का संस्थापक महासचिव तथा कार्यकारी निर्देशक डा. दीक्षितले सो भूकम्पमा परी ज्यान गुमाउनेमध्ये झण्डै ९८ प्रतिशतको घर भत्किंदा चेपिएर ज्यान गएको बताए ।

‘७.८ रिक्टर स्केलको भूकम्पका कारण झण्डै ९ हजार जनाको ज्यान गयो भने ३५ हजार जति विद्यालय भवनहरु क्षतिग्रस्त भए। विद्यालय चलिरहेको बेला भूकम्प गएको भए हामीले अरु बढी क्षति बेहोर्नुपर्दथ्यो’, उनले भने।

नेपालमा भूकम्पको सम्भावना टरिनसकेको र अझै ठूलो भूकम्प आउने सम्भावना कायमै रहेकाले आवासीय घरहरु, विद्यालय, पसल, कार्यालय आदिलाई बलियो र सुरक्षित बनाउन ढिला गर्न नहुने उनले बताए । एनसेटले सञ्चालन गरेको विद्यालय भूकम्प सुरक्षा कार्यक्रमलाई अहिले दक्षिण एसियाका विभिन्न मुलुकमा नमुनाको रुपमा अनुकरण गरिएको बताउंदै दीक्षितले भूकम्पको बेला सवलीकरण गरिएका सबै ३०० विद्यालय सुरक्षित रहेको र तिनले स्थानीय समुदायलाई अस्थायी आश्रय उपलब्ध गराउनुका साथै उद्धार कार्यकालागि समन्वय केन्द्रको रुपमा पनि काम गरेको बताए । ‘तर अरु हजारौं विद्यालयलाई भूकम्प प्रतिरोधी बनाउने चुनौती हाम्रा सामु छ जसकालागि स्थानीय समुदाय, सरकार र दातृसंस्थाहरुले हातेमालो गर्नुपर्छ’, उनले भने ।

नेपालमा विभिन्न कारणले गर्दा भूकम्पपछिको पुनर्निर्माणको काम ढिलो भएको बताउंदै दीक्षितले दक्ष निर्माणकर्मीको अभाव पनि एउटा कारण भएको बताए। एनसेटले अहिले डकर्मीहरुलाई तालीम दिइरहेको र तालिमप्राप्त डकर्मीहरुले पुनर्निर्माण अभियानमा ठूलो योगदान पुराइरहेको पनि उनले बताए । ‘तर दुःखको कुरा के छ भने केही अन्तर्राष्ट्रिय संस्थाहरु नेपालका 
राष्ट्रिय संस्थाहरु सबल भएको रुचाउंदैनन् र त्यसमा नेपाल सरकारबाट पनि हामीलाई चाहेको जस्तो सहयोग प्राप्त भएको छैन’, उनले गुनासो गरे ।

भूकम्पपछि झण्डै आठ लाख घरका क्षतिको सर्वेक्षण भइसकेको बताउंदै दीक्षितले अब नयां बन्ने घरहरु राष्ट्रिय भवन संहिता अनुकूल बनुन् भन्ने सुनिश्चित गर्न स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए ।

एनसेटले काठमाडौं उपत्यका भित्र ८८७ वटा खुला स्थानहरुको पहिचान गरेको बताउंदै दीक्षितले ती सार्वजनिक स्थलहरुलाई जोगाइ राख्न र भूकम्प लगायतका संकटहरुको अवस्थामा तिनलाई सबै समुदायको आश्रय थलोको रुपमा प्रयोग गर्ने जिम्मेवारी पनि स्थानीय निकायकै भएको कुरामा जोड दिए ।
सोही अवसरमा बोल्दै एनसेटकी प्रशासकीय प्रमुख निभा उप्रेतीले भूकम्पपछि सही पीडितको पहिचान गर्न र तथ्यांक 
संकलन गर्ने काम निकै चुनौतीपूर्ण भएको र त्यसमै बढी समय लागेको बताइन् । उनले भूकम्पले जमीनको बनावटमात्रै होइन, समाज, जनसंख्या, अर्थनीति र संस्कृति समेत बदलिदिएको बताउंदै यसले चुनौती मात्रै हैन, अवसर पनि उपलब्ध गराएको बताइन् ।

डा. दीक्षितको प्रस्तुतिमाथि टिप्पणी गर्दै सोसाइटी अफ नेप्लीज इन्जिनियर्स यूकेका अध्यक्ष घनश्याम पौडेलले भूकम्पलाई प्राविधिक दृष्टिकोणले मात्रै नहेरेर व्यापक सामाजिक, सांस्कृतिक परिप्रेक्षमा यसको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भूकम्पबाट जोगिन नेपालले गरिरहेको अभ्यास दक्षिण एसिया र अन्य मुलुकहरुकालागि पनि एउटा उदाहरण बनेको बताउंदै कामको सिलसिलामा बुर्किना फासो, माली, गिनी जस्ता अफ्रिकी मुलुकहरु घुम्दा त्यहांको तुलनामा नेपाली समाज र संस्थाहरु निकै सुदृढ र जीवन्त रहेको आफूले पाएको बताए ।

अर्का टिप्पणीकार डा. विनोदलाल अमात्यले भूकम्पपछि काठमाडौं उपत्यकामा आफूले एउटा सर्वेक्षण गरेको र त्यसमा आवासीय भवनहरुलाई विद्यालयको रुपमा प्रयोग गरिएको पाएको जनाए । यसले जोखिम निकै बढाएको बताउंदै उनले विद्यालय भवन सञ्चालन गर्न बनाइएका मापदण्डहरुलाई कडाइका साथ लागू गरिनुपर्ने सुझाव दिए ।

इन्स्टिच्युट अफ एडुकेशनका वरिष्ठ लेक्चरर तथा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेका अध्यक्ष डा. तेजेन्द्र फेरालीले नेपालमा झण्डै ८० हजार विद्यालय भवनहरु जोखिमपूर्ण अवस्थामा रहेको जानकारी चिन्ताको विषय भएको बताए । उनले विद्यालयहरुलाई वहुसांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने र जोखिम न्यूनीकरणको विषयलाई पाठ्यक्रममै समावेश गरेर उपलब्ध ज्ञान र अनुभवलाई जनसमुदायसम्म पुराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा ब्रिटेनस्थित प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुको सहभागिता थियो । आफ्नी सहकर्मी निभा उप्रेती सहित हाल ब्रिटेनको भ्रमणमा रहेका दीक्षितले ब्रिस्टल विश्वविद्यालय तथा डर्हम विश्वविद्यालयमा पनि नेपालमा भूकम्पपछिको स्थिति र प्राप्त अनुभवहरुबारे प्रस्तुति दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री