नायक अनुप विक्रम शाही लन्डनमा सम्मानित

लन्डन । हांस्यप्रधान नेपाली चलचित्र ‘कमलेको बिहे’ को रेड कार्पेट प्रिमियर शोका लागि बेलायत आएका नायक अनुप विक्रम शाही लन्डनमा सम्मानित भएका छन् । माया पब साउथ हयारोले शाहीको सम्मान तथा स्वागतका लागि बुधबार सांझ एक कार्यक्रम गरेको हो ।

नायक शाहीले आफूलाई सम्मान र न्यानो आतिथ्य दिएकामा माया पबप्रति आभार व्यक्त गरे । ‘मलाई यूके आएको फिल नै भएको छैन्’, अनुपले भने, ‘यो माया-सम्मानले नेपालमै भए जस्तो महशुस भइरहेको छ ।’ उनले अल्डरसटको वल्ड प्रिमियर शो अत्यधिक सफल भएको बताउंदै राजदूतसहित सयौं दर्शकले मन पराएर पुरै फिल्म हेरिदिनु नै मुख्य उपलब्धि भएको धारणा राखे ।

‘हामी हाइ बजेटमा फिल्म बनाउन सक्दैनौं । त्यसैले विदेशी फिल्मसंग तुलना नगरि नेपाली फिल्मलाई माया गरिदिन मेरो आग्रह छ’, अहिलेका व्यस्त नायकले भने, ‘नेपाली अर्गानिक कमेडी फिल्म हो कमलेको बिहे । कृपया बेलायतका बांकी शोहरुमा आएर हेरिदिनुहोला ।’

उक्त कार्यक्रममा सोलिसिटर राजु थापाले फिल्मले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘अपराधिक क्रियाकलाप बढाउन र समाज सुधार गर्न फिल्मको भूमिका हुन्छ’, थापाले भने, ‘यसले कला, संस्कृति र भाषाको जगेर्नामा समेत ठूलो सहयोग पनि  गरिरहेको छ ।’ थापाले कलाकारको सम्मान गरे आफूहरुको पनि सम्मान हुने जनाउंदै आयोजकलाई सेवा शर्त अनुरुप कलाकारहरुको पारिश्रमिक दिन सुझाए ।

मन्तव्यका क्रममा यती नेपाली एसोसिएसनका कार्यवहाक अध्यक्ष शशीधर नेपाल र यती पूर्व अध्यक्ष एवं नेपाल कलाकार संघ यूकेका भूतपूर्व अध्यक्ष उमेशराज मोक्तानले पछिल्लो समय नेपाली फिल्महरु गुणस्तरिय बन्न थालेका जनाउंदै विदेशमा हुने फिल्म प्रदर्शनले नयां पुस्ता आफ्नो मातृभूमिप्रति नजिक भइरहने बताए ।

एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बेलायत आएकी वल्ड मेरिटकी फेसिलिटेटर तृष्णा थापाले देश विकासमा युवाहरुको भूमिकाबारे बताइन् ।

कार्यक्रम सञ्चालन गर्दै माया पबका एकजना सञ्चालक सिद्धार्थविक्रम क्षेत्रीले आफू फिल्म समिक्षक नभएपनि ‘कमलेको बिहे’ उत्कृष्ट फिल्म भन्न सक्ने आधार चाहिं भएको बताए । उनले नेपालबाट आउने कलाकार, खेलाडीहरुलाई हौसला प्रदान गर्न माया पबले सधैं सम्मान गर्ने गरेको जनाए । नेपाली युवाहरुको लगानीमा केही महिनादेखि सञ्चालित माया पबले नेपालबाट आउने खेलाडी, कलाकार र अन्य प्रतिभाहरुलाई प्रोत्साहन र हौसला स्वरुप सम्मान तथा स्वागत गर्दै आएको छ ।

नेपलिज इन्टरटेनमेन्ट यूके र शशी गुरुङको पहलमा ‘कमलेको बिहे’ बेलायत ल्याइएको हो । कार्यक्रममा कवि गुरुङले ८ तारिख साउथ हयारो लन्डन, १० तारिख आसफोर्ड र १६ तारिख रेडिङमा उक्त फिल्म प्रदर्शन हुने जनाउंदै शोमा आइदिन सबैमा अपिल गरे ।

कार्यक्रममा माया पबका तर्फबाट रविन गुरुङ, बीरेन खड्का लगायतले अतिथी सत्कार गरेका थिए ।

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री