लन्डनमा ‘थेम्स्का काव्यिक छालहरु’ विमोचित

लन्डन । साहित्य चौतारी यूकेले आफ्नो वार्षिक श्रृंखलाको अवसर पारेर आयोजित एक समारोहबीच 
’थेम्स्का काव्यिक छालहरु’ नामक काव्य संगालो विमोचन गरेको छ । समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत एवं वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीले उक्त काव्य संगालो विमोचन गरेका हुन् ।

साहित्य चौतारी यूकेका लागि गोर्खा पब्लिकेशन्स्, काठमाडौंद्वारा प्रकाशित ‘थेम्स्का काव्यिक छालहरु’ मा साहित्य चौतारी यूके र साहित्य संगम यूकेमा आवद्ध ३५ कवि र ३ जना अतिथि कविको समेत गरी ७ दर्जन कविता समावेश छन् ।

मन्तव्यका क्रममा प्रमुख अतिथि डा. दुबसु क्षेत्रीले साहित्य चौतारी यूकेको विशिष्ट कार्यशैलीसंग आफु प्रभावित भएको र विमोचित ग्रन्थ थेम्स्का काव्यिक छालहरु यसको एउटा महत्वपूर्ण कदम भएको बताए । उनले नेपाली साहित्यको विभिन्न कालखण्डको संक्षिप्त चर्चा गर्दै प्रवासमा रहेर स्रष्टाहरुले नेपाली भाषा साहित्यको संरक्षण, संवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गरे । क्षेत्रीले विमोचित ग्रन्थ बिक्रिबाट प्राप्त रकम बाढी पीडितलाई प्रदान गर्ने र नेटवर्क लाइब्रेरी सञ्चालनमा ल्याउने संस्थाको योजनाको सराहना गर्नुका साथै आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

साहित्य चौतारी यूकेका संयोजक वासु शर्माको सभापतित्वमा सञ्चालित उक्त समारोहमा हाल बेलायतको निजी भ्रमणमा रहेका बरिष्ठ साहित्यकार एवं भाषाविद् प्राज्ञ मुकुन्द शरण उपाध्याय, बरिष्ठ साहित्यकार घनेन्द्र शर्मा न्यौपाने तथा बरिष्ठ साहित्यकार कृष्ण पहारी विशेष अतिथिका रुपमा सहभागी थिए ।

कवि दिनेश पौड्यालद्वारा सञ्चालित समारोहमा विमोचित ग्रन्थका सर्जक, विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि र अन्य साहित्यानुरागीहरु गरी करिब ५० जनाको उपस्थिति थियो ।

कार्यक्रममा विमोचित ग्रन्थबारे प्राज्ञ मुकुन्द शरण उपाध्यायले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुका साथै आफ्नो एउटा मिठो छन्द कविता समेत वाचन गरेका थिए । त्यसै गरी अन्य विशेष अतिथिहरु सहित करिब डेढ दर्जन कविहरुले आ आफ्ना मन्तव्य राख्नुका साथै कविता वाचन गर्दा समारोहस्थल काव्यमय बनेको थियो ।

मन्तव्य दिने र कविता वाचन गर्ने कविहरुमा मुकुन्द शरण उपाध्याय, कृष्ण पहारी, घनेन्द्र शर्मा न्यौपाने, खगेन्द्र नेपाली, विनोद अधिकारी, विनोद न्यौपाने, प्रतिमा केसी, गीता खरेल, डा. बच्चु कैलाश कैनी, डा. रुपक श्रेष्ठ, सञ्जु देउजा, डा. कृष्ण उपाध्याय, चन्द्र कार्की, केशव रुपाखेती, ओमकार अधिकारी, निर्मला न्यौपाने, गोपाल शाही पथिक, विजय हितान, दुर्गा प्रसाद पोख्रेल, दिनेश पौड्याल र वासु शर्मा थिए ।

समारोहका सभापति वासु शर्माले मन्तव्यका क्रममा भने, ‘साहित्य चौतारी यूके एक अनौपचारिक समूह हो र यसको कुनै सांगठनिक संरचना छैन् ।’ उनले हरेक महिना एक दिन एकाध घण्टा स्रष्टाहरु भेला हुने, आ-आफ्ना रचना वाचन गर्ने र अन्य सहभागी स्रष्टाहरुबाट प्रतिक्रिया लिने गरिएको पनि बताए । ‘मूलतः यसका ३ वटा उद्देश्य छन्’, शर्माले जानकारी दिए, ‘वाचन गरिएका सिर्जनाहरुलाई आवश्यक परेमा सबैको सहयोगले सुधार गर्ने, बेलाबखत विज्ञहरुद्वारा प्रशिक्षण सत्र सञ्चालन र प्रकाशन सहयोग गर्ने ।’

पहिलो र दोश्रो उद्देश्यहरु नियमित रुपमा हुंदै आइरहेका जनाउंदै शर्माले प्रकाशन सहयोगको उद्देश्य प्राप्ति तर्फको पहिलो पाइला थेम्स्का काव्यिक छालहरु रहेको बताए । सो अवसरमा शर्माले विमोचित ग्रन्थको विक्री वितरणबाट प्राप्त रकम नेपाली दूतावास मार्फत हालै नेपालमा गएको बाढी पहिरोबाट पीडितहरुका लागि प्रदान गर्ने र आगामी एक वर्ष भित्र नेटवर्क लाइब्रेरी सञ्चालन गर्ने दुई घोषणा समेत गरे ।

उलवीच लाइब्रेरीको सभाकक्षमा बिहान ११ बजे देखि सञ्चालित कार्यक्रममा लाइब्रेरीका मेनेजर टोनी मेरियोनले अतिथि एवं सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री