एनआरएनए यूकेको बुथ सार्ने ‘षडयन्त्र’ बिफल

लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि लन्डन साउथ हयारोमा निर्धारित बुथ रेडिङमा सार्ने षडयन्त्र बिफल भएको छ । आइतबार एनआरएनए यूकेका न्यून पदाधिकारी, उम्मेदवार र निर्वाचन समितिका सदस्यहरुबीच अल्डरसटमा भएको अनौपचारिक बैठकमा बुथ सार्ने एकपक्षीय प्रस्ताव पारित भएन ।

एनआरएनए यूके अध्यक्षका प्रत्यासी योगकुमार फगामीको प्यानलमा रहेका महासचिवका उम्मेदवार राजकुमार त्रिपाठीले भौगोलिक हिसाबले क्षेत्र समायोजन भएन भन्दै हयारोको सट्टा रेडिङमा बुथ लैजानुपर्ने हांस्यास्पद प्रस्ताव गरेका थिए । हयारो क्षेत्र अध्यक्षका अर्का प्रत्यासी कृष्ण तिमल्सेनाको पकड ठानिन्छ ।

गत ८ जुलाईमा सम्पन्न संस्थाको १३ औं बैठकले निर्वाचन सम्वन्धि निर्देशिका जारी गरेको थियो । सो निर्देशिकाको धारा ५.३ मा निर्वाचन समितिले आवश्यकता अनुसार मतदान केन्द्र निर्धारण, केन्द्रको व्यवस्थापन, सञ्चालन, मतदान अधिकृत नियुक्त तथा अन्य कर्मचारीको पारिश्रमिक तथा वितरण गर्न सक्ने उल्लेख छ । निर्वाचन समितिलाई दिइएको उक्त अधिकार खोसेर बुथ सार्ने षडयन्त्र गरिएपनि त्यो बिफल भएको बैठकका एक सहभागीले बताए ।

फगामीको पक्षमा खुलेर लागेका एनआरएनए आइसीसी सल्लाहकार डमर घले र एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीको दवावमा बैठक सञ्चालन भएको श्रोतको दावी छ ।

बैठकले निर्वाचनको समयसीमा भने सांझ ८ बजेसम्म सारेको छ । यसअघि बिहान ८ देखि दिउसो ३ बजेसम्म निर्वाचन गर्ने समय तोकिएको थियो ।

यही साता ९ सेप्टेम्बरमा हुने निर्वाचनका लागि अल्डरसटको एम्पायर हल, प्लमस्टिडस्थित गेसो हल, साउथ हयारोको गोल्डेनसीप रेष्टुरेन्ट र लेस्टरमा मतदान केन्द्र तय गरिएको छ ।

उक्त बैठकमा केही उम्मेदवारहरु अनुशासनहीन र असभ्य पारामा प्रस्तुत भएका थिए । केहीले निर्वाचन समितिका संयोजकको कार्यक्षमतामाथि नै प्रश्न उठाएका थिए ।

समाचारप्रति नेपलिज युथ यूकेको ध्यानाकर्षण

लन्डन । नेपलिज युथ यूकेले वीनेपालीमा हालै प्रकाशित ‘एनआरएनए यूकेको बुथ सार्ने षडयन्त्र बिफल’ शीर्षक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपलिज युथ यूकेका तर्फबाट प्रेमगाहामगरले मंगलबार एक विज्ञप्तिमार्फत आफूहरुको आव्हानमा एनआरएनए यूके कार्यसमिति, सल्लाहकार, संरक्षक र उम्मेदवारहरुको बैठक बोलाइएको र बुथ सार्नेबारे छलफलमात्र गरिएको प्रष्टयाएका हुन् ।

बैठकमा हाल अल्डरसट, हयारो, प्लमस्टिड र लेस्टरमा तोकिएका बुथ कायमै राखि सम्भव भए केन्ट र रिडिङमा समेत बुथ हुंदा सदस्यहरुलाई पायक पर्ने धारणा गैर आवासीय नेपाली संघ बेलायतका संरक्षक, पूर्व अध्यक्ष तथा आइसीसी सल्लाहकार डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, आरके त्रिपाठी, रिचार्ड गुरुङ, प्रेम गाहा मगर र धिरज राईले धारणा राखेका र यसमा कुनै षडयन्त्र नभएको विज्ञप्तिमा उल्लेख छ ।

साथै निर्वाचन समितिले मतदान गर्ने समय दिउसो १५.०० सम्म तोकेकामा मतदाताहरुको सहजताका लागि बेलुकी ८ बजेसम्म गर्न कार्यसमिति र निर्वाचन समितिले सदर गरेको पनि विज्ञप्तिमा बताइएको छ ।

नेपलिज युथ यूकेले समाचारका कारण अग्रजहरुलाई अपहेलना भएको जनाउंदै त्यसको खण्डन पनि गरेको छ ।

(क्षमायाचना : समाचारमा उल्लिखित  केही त्रुटीका कारण  एनअारएन  अाइसिसी सल्लाहकार डमर घलेमा  पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । सं)

प्रतिक्रिया

सम्बन्धित सामाग्री