
न्यूयोर्क । नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ सम्पन्न भएको छ । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक न्यूयोर्कमा महोत्सव आयोजना गरेको हो ।
तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र ‘लोम्वा’ ले नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले उत्कृष्ट चलचित्र अवार्डसंगै एक लाख नगद र प्रमाणपत्र पायो । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार चलचित्रलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन-अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरे भने अवार्ड मगर संघ अमेरिकाका अध्यक्ष कुलद्वीप रानामगरले ग्रहण गरेका थिए ।
महोत्सवमा विभिन्न भाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न ११ वटा विधामा उत्कृष्ट हुनेलाई ट्रफी तथा सर्टिफिकेट प्रदान गरिएको हो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो’, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही’, लिम्बु भाषाको ‘हेलुक्वा’, मगर भाषाको ‘लोम्बा’, नेवारी चलचित्र ‘कृष्णा गौतमी’ राई भाषाको ‘सुम्निमा’ र मुस्ताङी चलचित्र ‘शेरढाक’ प्रर्दशन गरिएको महोत्सवका मिडिया संयोजक मच्छे गुरुङले जानकारी दिइन् ।
त्यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’, राई भाषाको पुवालो र मुगालको ‘फेके’ प्रर्दशन गरिएको थियो ।
महोत्सवमा उत्कृष्ट नायकको उपाधि मुस्ताङ भाषाको चलचित्र ‘शेरढाक’ का नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् ।नोमिनेशनमा परेका मैरिमोका गमन घले, कृष्णा गौतमीका कर्मा शाख्य र लोम्बाका जनक बुढामगरलाई पछि पार्दै गुरुङले उत्कृष्ट नायकको उपाधि उचाल्न सफल भए । उत्कृष्ट नायिकाको उपाधि गुरुङ भाषाको चलचित्र ‘मैरिमो’ की नायिका सपना गुरुङले जितेकी छिन् । मैरिमोसहित सेम तावा म्हीबाट सुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, हेलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई उत्कृष्ट नायिकाको लागि नोमिनेशनमा परेका थिए ।
महोत्सवमा उत्कृष्ट कथाको उपाधि राई भाषाको चलचित्र ‘सुम्निमा’ का प्रविण पुमालाई प्रदान गरियो । लोम्वाबाट अनिल बुढामगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णागौतमीबाट रामकृष्ण खड्गी अवार्डका लागि नोमिनेशनमा परेका थिए ।
त्यस्तै, तामाङ भाषी चलचित्र ‘सेम तावा म्ही’ का राजकुमार मोक्तानले उत्कृष्ट संगीत निर्देशकको उपाधि जिते । उनले लिम्बु भाषाको चलचित्र ‘हेलुक्वा’ का गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ट संगीत निर्देशकको उपाधि हात पार्न सफल भएका हुन् ।
महोत्सवमा उत्कृष्ट छायांकनको उपाधि भने सेम तावा म्हीले हात पारेको छ । उपाधिका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी नोमिनेशनमा परेका थिए ।
यसैबीच, उत्कृष्ट सम्पादनको उपाधि कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारे । कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही यो उपाधिका लागि नोमिनेशनमा परेका थिए । त्यस्तै उत्कृष्ट भेषभूषातर्फ लोम्वाका अनिल बुढा मगरले उपाधि प्राप्त गरे । लोम्वासंगै सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा उत्कृष्ट भेषभूषाका लागि नोमिनेशनमा परेका थिए ।
यसैगरी, उत्कृष्ट चलचित्र निर्देशकको उपाधि पनि लोम्वाका अनिल बुढामगरले नै प्राप्त गरेका छन् । मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधि भने पुवालोले जितेको छ । यो उपाधिका लागि फेके र कल्ली नोमिनेशनमा थिए ।
महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा विशेष समारोहकाबीच समुद्घघाटन गरि शुरु गरिएको थियो । राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक मणि बांग्देलले जानकारी दिए । महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार सवाललाई उजागर गर्दै पहिचानको मुद्धा स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताए । अध्यक्ष वाइवाले भविष्यमा पनि यस्ता महोत्सव आयोजना गर्दै जाने जानकारी दिए । उनले फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
यसैबीच, चलचित्र उपाधि वितरण गर्दा धांधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमै विरोध गरेका थिए । समापन समारोह बिनिता तामाङ र प्रहन एलुङ राइले सञ्चालन गरेका थिए । विभिन्न स्थानिय कलाकारले हामी आदिवासी जस्ता गीतमा नृत्य प्रस्तुत गरे ।
चलचित्र महासंघ फिन्फी र इन्डिजिनियस फिल्मस् अर्काइभ आइफा सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड विशेष सहयोगी संस्थाको रुपमा रहेको फिप्नाले जनाएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त