प्रधानमन्त्री देउवा हैदरावाद पुगे

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज विशेष चार्टर विमानबाट हैदरावाद पुग्नुभएपछि त्यहाँ रहेको सूचना प्रविधि एवम् कम्प्युटर सफ्टवेयर निर्माण कम्पनी इन्फोसिस् कलेजको निरीक्षण पछि कलेजको परिसरमा बृक्षारोपण गर्नुहुँदै । तस्वीर ः रोशन सापकोटा, नयाँ दिल्ली

हैदरावाद (भारत), ९ भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो हैदरावाद आइपुग्नुभएको छ ।

भ्रमणको तेस्रो दिन आज उहाँ नयाँ दिल्लीबाट विशेष चार्टर विमानमार्फत हैदरावाद आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवा राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा तेलंगना राज्यका उपमुख्य मन्त्री र यस राज्यका प्रमुख सचिवले उहाँलाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको नेतृत्वको प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्र नारायण देव, सांसद र उच्च पदस्थ अधिकारी सहभागी हुनुहुन्छ ।

आज बिहान नयाँ दिल्लीबाट प्रस्थान गर्नुअघि प्रधानमन्त्रीसँग भारतका विभिन्न राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्नुभएको थियो । प्रधानमन्त्री बस्नुभएको भारतीय राष्ट्रपति भवनमा ती भेटवार्ताहरु भएका थिए ।

आज हैदरावाद आइपुगेपछि प्रधानमन्त्री देउवाले हैदरावादमा रहेको एक सूचना प्रविधि एवं कम्प्युटर सफ्टवेयर निर्माण कम्पनी इन्फोसिस्को निरीक्षण गर्नुभएको थियो । आज दिउँसो हैदरावाद आएलगत्तै देउवाले तेलङगाना राज्यमा सूचना तथा प्रविधिको क्षेत्रमा गरेका उपलब्धि र त्यसमा इन्फोसिसको अन्वेषणका बारेमा जानकारी लिनुभएको थियो ।

उहाँले इन्फोसिस क्याम्पसको पनि भ्रमण गर्नुभएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री देउवालाई सो राज्यले सूचना तथा प्रविधिलाई सरकारी सेवा प्रदान गर्ने काममा के कसरी राज्यका हरेक निकायहरुमा प्रयोग गरिएको छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कृषि, स्वास्थ्य, यातायात, ऊर्जालगायत क्षेत्रमा सूचना प्रविधिको कसरी प्रयोग भइरहेको छ भनी उनीहरुले जानकारी गराएका थिए । साथै उनीहरुले यहाँ प्रयोग भएका सूचना र प्रविधिलाई नेपालमा पनि पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्नका लागि जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँग तेलंगना राज्यका गभर्नरद्धारा शिष्टाचार भेट 

यसैबीच आजै प्रधानमन्त्री देउवासँग तेलंगना राज्यका गभर्नर इ एस एल नरसिंहमले शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र अरु विविध समसामयिक विषयमा कुराकानी भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री देउवा गभर्नर नरसिंहम्ले उहाँको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभयो । प्रधानमन्त्री देउवा शनिबार हैदरावादबाट तिरुपति बालाजीको दर्शनका लागि जाने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री