लन्डन । विवादास्पद छवि बनाएका र सधैं रहस्मयको घेरामा रहिरहने नेपालका धनाढ्य व्यापारी अजेयराज सुमार्गी मंगलबार सांझ बेलायतका नेपालीमाझ उपस्थित भए । बेलायतका माओवादी नेता सुरेन्द्र श्रेष्ठले बेलाउंदा उनकाबारे लेखिएको पुस्तक ‘अजेयराज सुमार्गी’ विमोचनका लागि भनिएपनि कार्यक्रम अनौपचारिक बन्यो, विमोचन अर्को महिना सारियो ।
श्रीमति, दुई छोरा र केही आफन्तसहित लन्डनस्थित भेन्यू फाइभमा उनको मन्तव्य प्रायः ‘डिफेन्सिभ’ रह्यो । अध्यात्ममा समेत चासो राख्ने अजेय कुनै पनि प्रश्नको जवाफ बडो ‘डिप्लोमेटिक’ ढंगले दिन्थे । उनले वाल्यकाल, व्यवसायका उतारचढाव, मिडिया टिप्पणीबारे पनि उल्लेख गरे ।
हेटौंडामा जन्मिएका सुमार्गीले १३ वर्ष ९ महिना हुंदा बुबा गुमाए । आफ्नो बुबा माधवराज पराजुली क्रान्तिकारी पत्रिका ‘निर्मल’ साप्ताहिकका प्रधान सम्पादक रहेको र उनी पटक पटक जेल समेत परेको स्मरण गर्दै उनले अहिले नयां पुस्ता अध्ययन कम र लहैलहैमा लागेको बताए । सञ्चारकर्मीलाई तथ्यपरक समाचार हाल्न समेत उनको अनुरोध थियो ।
‘स्याउ हजारौं पटक खस्यो होला, अहिले पनि खस्छ तर आइन्सटाइन (हुनुपर्ने न्यूटन) त जन्मंदैनन् नि ?’ उत्प्रेरक टिप्पणी सुनाउंदै उनले भने, ‘सबैको यात्रा, जन्म, घट्नाक्रम आ आफ्नै विशिष्ट हुन्छ, कसैसंग मेल खान्न । सबैको संघर्षको इतिहास आफैंमा गरिमामय हुन्छ, उपलव्धि प्राप्त भयो भने चर्चा परिर्चाको विषय बन्छ ।’
केही मिडियामा स परिवार बेलायत भाग्यो भन्ने आक्षेप सहनुपरेको बताउंदै उनले मन्तव्यका क्रममा भने, ‘मलाई नेपालप्रति माया छ, म त्यहीं जन्मेको हो, मेरा मलामी त्यहीं छन् । मलामीका लागि म गर्व गर्ने मान्छे हुं । मलामीमा गर्व जो पायो त्यसले गर्न सक्दैन । त्यसका लागि त गट्स चाहिन्छ नि ।’
सहभागीको तालीले खुब जोसिएका उनले अगाडि थपे, ‘म सबैका लागि हुं, हामी सबैका लागि हौं भन्ने हिम्मत सबैमा हुनुपर्छ । त्यत्ति भयो भने मलामी बढ्छन् । काम गर्दा बाधा अडचन त आउंछ नै । म बसिरहेको घरमा अर्कोले मुद्दा हाल्यो भने मुद्दा लाग्छ । लाइफ भनेको मुद्दा हो । प्राक्टिकल्ली नै यो लाइफ मुद्दा हो ।’
आफ्नो धन सम्पत्तिबारे पनि उनी खुलेर बोले । काठमाडौं गएर व्यवसाय गर्न खोज्दा विभिन्न परिस्थिति सिर्जना भएका उनले सुनाए । ‘म धनी नहुने सवालै छैन्’, सुमार्गीले भने, ‘राज्यलाई कुनै बाधा दिएको छैन, व्यवसाय गरेको हुं । व्यवसाय गरेपछि उपलब्धि हुनु स्वभाविक थियो ।’ आफूले नेपालमै व्यवसाय गर्न चाहेको उल्लेख गर्दै उनले त्यसक्रममा अन्तर्राष्ट्रिय बिजनेश हाउससंग धेरै डिल भएको उनले बताए ।
व्यवसायका क्रममा धेरै हण्डर खानु परेको अनुभव पनि उनले सुनाए । ‘नेपालमा कसले कसलाई भत्काउने भन्ने काम मात्र बढि हुंदो रहेछ’, उनले भने, ‘व्यवसायीभन्दा कमिसन एजेन्ट बढी रहेछन् हाम्रो देशमा ।’
मुक्तिश्री ग्रुपका मालिक सुमार्गीले ब्रिटिश भर्जिन आइल्याण्डबाट ११ अर्ब रुपैयां नेपाल लान खोज्दा राष्ट्र बैंकले रोकिदिएको थियो । त्यस प्रसंगमा पनि उनले प्रष्टयाए । ‘विदेशबाट नेपाल गएको मेरो ११ अर्ब रुपैयां हो । ११ अर्बमा ८ अर्ब रुपैयां चलाएको हुं । मैले अस्ती क्याबिनेटको बैठकमा भन्दिएं- मलाई किन ८ अर्ब रुपैयां मात्र चलाउन दिएको ? त्यो मेरो पैसा होइन, साथीहरुबाट नेपाल ल्याएको हुं । ८ अर्ब रुपैयां चलाउन दिने मान्छे र मलाई पनि जेल हाल । मैले यो बोलेको कुरा लेखिदिए हुन्छ । यदि होइन भने यो ३ अर्ब रोक्नेलाई जेल हाल, मेरो पैसा ब्याजसहित फिर्ता देऊ ।’
उनले अझ अगाडि भने, ‘पैसा एउटै चिठीमा एकै पटक ११ अर्ब गएको हो । मैले खल्तीमा हालेर लगेको होइन । त्यत्ति पैसा खल्तीमा हालेर लैजान सकिंदैन भन्ने कुरा सामान्यतः सबैलाई थाहा छ । २, ४ हजार पाउण्डभन्दा बढि लन्डनका नेपालीहरुले पनि बोकेर नेपाल जान सक्दैनन्, आवश्यक परयो भने आइएमइ प्रयोग गरिन्छ । मैले कसरी लैजानु, त्यत्रो पैसा, मसंग हेलिकप्टर, प्लेन छैन् । पैसा सिस्टमबाट गएको हो, ११ अर्ब गएको थियो, ८ अर्ब चलाउंदासम्म नेपाल सरकार आंखामा पट्टी बांधेर बसे वा म संग घुस खाए । होइन भने मैले दिएको घुस उनीहरुलाई पुगेन र मेरो ३ अर्ब रुपैयां रोके । त्यसपछि साथीहरुलाई पैसा नेपालमा लैजानु हुंदैन भन्न बाध्य भएं । अब नेपालमा पैसा लैजान सक्दिनं, यही निष्कर्ष निकाल्न अन्तिम बैठकमा म लन्डन आएको हुं ।’
बेलायतमा हरेक फोरममा देखिने अनुहार नै उक्त डिनर अनि ड्रिंक्समा सामेल थिए । कार्यक्रममा एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, केन्द्रिय प्रवक्ता रन्जु थापा, युरोप संयोजक कुल आचार्य देखि सोलिसिटर राजु थापा, डा. कपिल रिजाल, रामशरण सिंखडा, कृष्ण भट्ट, बिजन भट्ट, चिरञ्जीवी ढकाल, कृष्ण तिमल्सेना, अमृत खरेल, बिराज भट्ट, राजेन्द्र पुडासैनी, कमल पौडेल, श्रीमति आरती श्रेष्ठ, क्याप्टेन आर एस श्रेष्ठ, ध्रुव केसी, रोशन सापकोटा, बीपी खनाल, सुरेशजंग शाह, रोहित गुरुङ, हरिसिंह थापा, सुरेश गौतम, सपनकुमार राई दम्पति, सुरज पौडेल सहित स्थानीय सञ्चारकर्मीहरुको पनि बाक्लै उपस्थिति थियो ।
सुमार्गीको पुस्तक सेप्टेम्बर १३ मा विमोचन गरिने
सुमार्गीको पुस्तक आगामी सेप्टेम्बर १३ तारिखमा अल्डरसटको एम्पायर हलमा पुनः विमोचन गरिने भएको छ । सामाजिक कार्यमा जुटेको लक्ष्मी प्रतिष्ठानको सहयोगार्थ बेलायत विमोचन गर्न लागिएको प्रतिष्ठानका युरोप संयोजक सुरेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा कम्तीमा ५ सयको सहभागिता गराउने लक्ष्य छ ।
निर्मल कुमार थापा र अरुणराज सुमार्गीले सम्पादन गरेको पुस्तकमा अजेयको अनुभूति, उनको वाल्यकालका साथीहरु, परिवारका सदस्यहरुको अनुभूति, युवा उमेरमा हुंदा रुदानेको थाहा आन्दोलनका जनमुखी सहकर्मीहरु, नेपाली उद्योग र राजनीतिसंग जोडिएकाहरुको अनुभव समावेश छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो