लन्डनमा मोती जयन्तीसहित रामकाजी कोनेको एकल मुक्तक वाचन


लन्डन । १५२ औं मोतीराम भट्ट जयन्तीको अवसरमा ३० जुलाई २०१७ का दिन चार्लटनस्थित चार्लटन एफसी सभाहलमा नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेको १२ औं मुक्तक एकल वाचन श्रृंखला सम्पन्न भएको छ ।

अन्तर्राष्टिय नेपाली साहित्य समाज बेलायत तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका सभापति अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ थिए ।

कार्यक्रमका नायक रामकाजी कोने तथा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले संयुक्त रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ भएको थियो ।

विशेष अतिथि तथा अन्य अतिथिमा अनेसासका केन्द्रिय उपाध्यक्ष (युरोप च्याप्टर) डा. रुपक श्रेष्ठ, वरिष्ठ मुक्तककार कृष्ण पहारी, नेपाली साहित्य संगमका अध्यक्ष विनोद अधिकारी र आरजीएनएसका अध्यक्ष हरिगोविन्द गुरुङ थिए । कार्यक्रमको पहिलो चरण अनेसासका महासचिव सन्तोष कार्कीले सन्चालन गरेका थिए । दोश्रो चरण अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष लारा (लक्ष्मी राई) ले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष कवि दुर्गाप्रसाद पोख्रेलले स्वागत मन्तव्य दिंदै मोतीराम भट्टले नेपाली साहित्यमा गरेको योगदानबारे चर्चा गरे । वरिष्ठ मुक्तककार कृष्ण पहारी र कार्यक्रमका नायक कोनेको संक्षिप्त जीवनी एवं नेपाली मुक्तकका आयामबारे डा. रुपक श्रेष्ठले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा कोने दम्पत्तिलाई सम्मान गरियो । त्यसै क्रममा सुप्रमा पुरस्कार २०१७ विजेता दुर्गाप्रसाद पोख्रेललाई अनेसास बेलायत च्याप्टरद्वारा सम्मानित गरिएको छ ।

प्रमुख अतिथि राजदूत अन्य दुई कार्यक्रममा अनिवार्य उपस्थित हुनु परेको जनाउंदै समापन अघि नै बाहिरिएका थिए ।

कोनेका एकल वाचन दुई चरणमा सञ्चालित थियो । बीचमा अन्य कविहरु, गोकुल भण्डारी, डा. रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोख्रेल, प्रतिमा केसी, विशन थापा, सन्तोष कार्की, विनोद अधिकारी, सुमलकुमार गुरुङ तथा लाराले आ—आफ्नो मुक्तक वाचन गरेर दर्शकदीर्घालाई मनोरन्जन दिलाए ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरद्वारा रामकाजी कोने र कृष्ण पहारीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका लागि हलको प्रवन्ध फत्ता थापा तथा सोनिया थापाले गरेका थिए । अन्तमा सभाध्यक्ष सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री