रत्ननगर (चितवन), १४ साउन । सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेकोमा अहिले बढेर ६२ पुगेको छ । चितवनमा आज बाघ दिवस मनाइएको छ ।
चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक रयालीसहित कार्यक्रम गरेको थियो
बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ । त्यसैले आजको सातौँ विश्व बाघ दिवशलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रित भएका छन् ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ । अब लक्ष्य पूरा गर्ने नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ ।
यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्याँक निकाल्दै छन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।
बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित हुनुपर्छ ।
बाघ जोगाउनका लागि मुख्य समस्या चोरी शिकार हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् ।
जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउनुहुन्छ निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ ।
सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ । मुख्य गरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो ।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्नुहुन्छ ।
पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ । हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ ।
मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।
बाघ आफैँमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो । “उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भन्नुभयो, मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो ।” अब हामीले नै उ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ ।
बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउनुहुन्छ । चितवनमा समुदायसँगकै हातेमालोमा बाघ गैँडाको संरक्षण प्रभावकारी भइरहेको छ । मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउनु हुन्छ ।
एकजना चराविज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउनुहुन्छ । समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उहाँले बासस्थान र आहारा प्रजाति जोगाउनु आजको चुनौती भएको उल्लेख गर्नुभयो ।
बाघ र मानिसको द्वन्द्व घटाउने चुनौती
काठमाडौँ, १४ साउन । स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्नेमा द्विविधा छैन, तर सुरक्षित व्यवस्थापन नभएमा मानिसको ज्यानकै खतरा सँगसँगै उत्पन्न हुँदै आएको छ ।
सरकारी आँकडाअनुसार नेपालमा बाघको संख्या उल्लेख्य वृद्धि भई १९८ पुगेको छ भने वर्षमा बाघकै आक्रमणका कारण ३० देखि ३५ जनासम्मको मृत्यु हुने गरेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले दिनुभएको यो विवरणलाई आधार मान्दा बाघको संख्या वृद्धि भए पनि यसको उचित संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
पछिल्लो समय वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याका रुपमा आएको विज्ञहरु औँल्याउँछन् । महानिर्देशक आचार्यका अनुसार सन् २००९ मा १२१ रहेको बाघको संख्या सन् २०१३ मा आइपुग्दा ६३ प्रतिशतले वृद्धि भई १९८ पुगेको छ । सन् २०२२ सम्म यो संख्या दोब्बर पुरयाउने सरकारको लक्ष्य छ ।
“वन्यजन्तु राख्नसक्ने क्षमता कति हो, त्यसको अनुसन्धान गरी उचित नीति बनाएर संरक्षण र संख्यालाई वृद्धि गरिनुपर्छ, भइरहेका वन्यजन्तुलाई पर्यावरण तथा स्वस्थ्य आहारको सुनिश्चितता गरी जनावर र मानिसबीचको द्वन्द्व घटाउनेतर्फ आगामी कार्यक्रम केन्द्रित हुनुपर्छ”–उहाँले भन्नुभयो ।
एक बाघलाई सातामा झण्डै ५० किलोग्राम आहारा चाहिन्छ । आहार र बाघको बासस्थान संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने महानिर्देशक आचार्यको भनाइ छ ।
सातौँ विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नै प्राङ्गणमा आज आयोजना गरेको कार्यक्रमका विज्ञ वक्ताले बाघको संरक्षणसँगै व्यवस्थापन चुनौतीलाई कसरी सामना गर्ने भन्नेबारे विचार मन्थन गरेका थिए ।
‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित आज देशैभरका यो दिवस मनाइएको छ । बाघ पारिस्थितीय प्रणाली (इकोसिस्टम) को उच्च तहमा रहेको प्रजाति भएकाले यसको संरक्षण गर्न सकेमा अरु धेरै वन्यजन्तुको संरक्षण हुन्छ भन्ने मान्यताका साथ दिवस मनाइएको वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल बताउनुहुन्छ ।
उहाँका अनुसार बाघ मांसहारी र उच्च तहको प्रजाति भएकाले यसको मानिससँगको द्वन्द्व र बासस्थानमा आएको ह्रास र खण्डीकरणले गर्दा यो प्रजाति संकटमा परेको छ । सोही दृष्टान्तलाई मध्यनजर गर्दै सन् २०१० माघ पाइने १३ वटै राष्ट्रका प्रमुख जम्मा भएको (बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) को प्रतिबद्धताअनुसार हरेक वर्ष जुलाई २९ का दिन यो दिवस मनाइँदै आएको छ ।
सहसचिव ढकालको भनाइमा बाघ संरक्षण गर्ने हो भने स्वस्थ्य ‘इकोसिस्टम’ चाहिन्छ, त्यसका लागि बाघ पाइने स्थानको पानीको स्रोत र घाँसे मैदानलाई व्यवस्थापन गरिनुपर्छ ।
बाघको ठूलो चुनौतीका रुपमा रहेको बाघ र मानिसबीचको द्वन्द्व घटाउने काम गरिनुपर्ने, बाघको छाला र हाडलाई अन्तर्राष्ट्रिय कालोबजारी गर्ने गिरोहलाई निस्तेज गरी त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याइनुपर्ने उहाँको भनाइ छ । साथै, बाघको निरन्तर अनुसन्धान र संरक्षण गर्दा स्थानीय समुदायलाई प्राथमिकतामा राखी बाघ संरक्षणको काम गर्नुपर्ने तथा बाघ पाइने देश तथा छिमेकी राष्ट्रबीचको सम्बन्ध मजबुद पारिनुपर्नेमा सहसचिव ढकालको जोड छ ।
नेपालमा तराई क्षेत्र बाघ पाइने क्षेत्र हो । निकुञ्ज क्षेत्र र आसपासका घना जंगलमा बाघ पाइन्छ भनिन्छ, तर कुन जिल्लामा कति बाघ पाइन्छ भन्ने यकिन विवरण नभएको बताइन्छ ।
सन् २०१३ को आधिकारिक गणनाअनुसार बाघको संख्या १९८ रहेको छ । अब सन् २०१८ र सन् २०२२ मा बाघ गणना गर्ने योजना छ ।
छिमेकी मुलुक भारतसहित विश्वका १३ देशमा बाघ पाइन्छ । सुरुमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रजातिका मात्र बाघ पाइन्छन् । पाटे बाघ सबैभन्दा ठूलो हो । हाल विश्वभर बाघको संख्या पाँच हजारभन्दा बढी रहेको छ । भारतमा सबैभन्दा बढी बाघ पाइन्छ ।
बाघको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोषले विश्व वन्यजन्तु संरक्षण कोषलगायत संस्थाको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालमा बाघको संरक्षणमा आगामी रणनीतिबारे सरोकार भएका निकायबीच छलफल भयो ।
कार्यक्रममा वन मन्त्रालयका सहसचिव ढकालले नेपालमा बाघको संरक्षण विषयमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतीकरणमा वन विभागका महानिर्देशक आचार्य, त्रिभुवन विश्वविद्यालयका प्रा डा रमेश श्रेष्ठ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुष्कर सिंहले टिप्पणी गर्नुभएको थियो । बाघको इकोलोजी तथा बासस्थान, अवैध चोरी शिकार तथा व्यापार नियन्त्रण, संरक्षणका नीति, संरक्षणमा स्थानीय समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व न्यूनीकरण र बाघ संरक्षणमा अबको बाटो विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वन मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघ पारिस्थितिक प्रणालीको उच्च तहका रहेको प्रजाति भएकाले यसको संरक्षण भएका खण्डमा समग्र वन, वनस्पति र अन्य वन्यजन्तुसमेत संरक्षण हुने बताउनुभयो ।
उहाँले वन नीति २०७१, जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४), बाघ संरक्षण कार्य योजना (२०१६) अनुसार कार्यक्रम सम्पन्न गर्न सबै सम्बद्ध पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सचिव माथेमाले बाघ र मानिसबीच बढ्दो द्वन्द्वलाई न्यूनीकरण गर्न उचित व्यवस्थापनमा सबैको सहयोग चाहिने उल्लेख गर्नुभयो ।
कोषका सदस्यसचिव गोविन्द गजुरे र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले बाघ संरक्षणसँगै मानिससँगको सम्बन्धलाई सुमधुर बनाउनेतर्फ कार्यक्रम ल्याइनुपर्ने धारणा राख्नुभएको थियो । सिवी अधिकारी/रासस