
फ्रयांकफर्ट । जर्मनीको फ्रयांकफर्ट शहरमा गैरआवासीय नेपाली संघको दशौं युरोप क्षेत्रीय बैठक तथा आठौं महिला सम्मेलन शुरु भएको छ । ‘युरोपका नेपालीको एकता, समृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित लिण्डर कंग्रेस होटेलमा शनिबार बिहान एक भव्य समारोहबीच दुई दिने बैठक उद्घाटन भएको थियो ।
उद्घाटन सत्रमा एनआरएनए अध्यक्ष शेष घलेले नेपालको सुखदुखमा गैरआवासीय नेपालीहरु सँधै साथमै रहेको बताउँदै गोरखाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघ खटिरहेको बताए ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल समृद्ध नभएसम्म जहांसुकै बसेपनि नेपालीहरुको इज्जत नबढ्ने बताउँदै नेपालीहरुको इज्जत र सामर्थ बढाउन यो अभियान शुरु गरिएको बताए ।
एनआरएनएका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान रहनुलाई उपलब्धि भन्दै नेपालको समग्र विकासमा योगदान दिनकालागि नै एनआरएन अभियान शुरु गरिएको धारणा राखे ।
एनआरएनएका उपाध्यक्ष कुमार पन्तले खाडी राष्ट्र, मलेसिया लगायतमा पसिना बगाएर ति मुलुक बनाउन काम गरिरहेका युवाहरुलाई देशमै काम गर्ने वातावरण नबनाउंदासम्म नेपालको विकास हुन नसक्ने बताए । यसकालागि नेपालमा लगानी भित्रयाउन एनआरएनहरु लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले विदेशमा बसिरहेका नेपालीहरु नेपालका निधि र राष्ट्रदूत भएको बताए । उनले हालै जर्मनीकी चान्सलर एंगेला मर्केलसंग भेटने मौका पाउँदा उनले भूकम्पपछि नेपालको स्थिति कस्तो छ भनेर निकै चासो राखेर सोधेको स्मरण गर्दै नेपालीहरुप्रति विश्व समुदायमा रहेको सद्भाव र माया जोगाइ राख्न काम गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।
सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले पोहोरसाल कोपेनहेगनमा सम्पन्न युरोप क्षेत्रको नवौं बैठकपछि नेपालमा लगानी भित्रयाउने अभियानमा युरोप क्षेत्र अग्रपंक्तिमा रहेको बताए । उनले लिखु, तमोर लगायतका जलविद्युत आयोजनाहरुमा एनआरएन इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट एनआरएन अभियानमा संलग्न साथीहरुले झण्डै एक अर्ब रुपियाँ लगानी गरिसकेको र विभिन्न कल्याणकारी परियोजनामा पनि युरोप क्षेत्र अगाडि रहेको दावी गरे ।
नेपालको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा एनआरएन जर्मनीका अध्यक्ष नवराज रोस्याराले स्वागत मन्तव्य र गंगाधर गौतम एवं कमला दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकारहरु विश्व आदर्श पण्डित, डा हेमराज शर्मा, पुष्प थापा, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, महिला विभाग संयोजक सपीला राजभण्डारी, संरक्षक दिल गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
दुई दिने बैठकमा नेपालमा लगानी प्रवर्धन, महिला सशक्तिकरण, युरोपका नेपालीका समस्या लगायतका विषयमा छलफल हुने बताइएको छ। कार्यक्रममा युरोपका २७ मुलुक साथै संसारभरिका झण्डै ५०० जनाले भाग लिइरहेका छन् ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल