एनआरएनए यूकेले उपेक्षा गरेको भन्दै मिडल्याण्डबाट सामूहिक उम्मेदवारी घोषणा

लन्डन । मिडल्याण्डमा रहेका आधा दर्जन बढि नेपाली संघसंस्थाले एकजुट भएर एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि सामूहिक उम्मेदवार अघि सारेका छन् । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो क्षेत्रलाई उपेक्षा गरेको बताउंदै बुधबार लेस्टरस्थित एभरेष्ट डाइन रेष्टुरेन्टमा पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गरिएको हो ।

साझा नेपाली समाज यूकेको संयोजनमा मिडल्याण्ड, वेष्ट मिडल्याण्ड, क्याम्ब्रीजसायर र लिंकनसायर क्षेत्रमा रहेका नेपाली संघसंस्थाको समर्थनमा चारजनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए यूकेको उपाध्यक्षका लागि दयानिधी सापकोटा, सचिव पदमा तारानाथ भण्डारी र सदस्यका लागि पवन शर्मा र कृष्ण ढकाल​ले आफ्ना ९ बुंदे सामूहिक प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् । (उनीहरुका प्रतिवद्धता विस्तृतमा तल छ)

साझा नेपाली समाज यूकेका अध्यक्ष रणबहादुर केसीको अध्यक्षतामा भएको घोषणा सभा तथा पत्रकार सम्मेलनमा उपाध्यक्षका प्रत्यासी सृजनशील लेस्टर नेपाली समाजका पूर्व अध्यक्ष एवं व्यवसायी दयानिधी सापकोटाले प्रतिवद्धतासहित संघमा नेतृत्व गर्न चाहनुको कारण प्रस्टयाए । सचिवका प्रत्यासी भण्डारी नटिंगहम नेपाली समाजका निवर्तमान अध्यक्ष, सदस्यका प्रत्यासीहरु ढकाल शान्ति नेपाली समाज यूकेका अध्यक्ष र शर्मा पिटरबरो नेपाली समाज यूकेका अध्यक्ष एवं रेष्टुरेन्ट व्यवसायी हुन् ।

कार्यक्रममा एनआरएनए यूके सचिव फडिन्द्र भट्टराई, एनआरएनए यूके सल्लाहकार कमल भण्डारी, एनआरएनए यूके युवा संयोजक हरि आचार्य, साझा नेपाली समाज यूकेका संस्थापक अध्यक्ष शंकर भण्डारी, साझाका निवर्तमान अध्यक्ष राजु कंडेल, सृजनशील लेस्टर नेपाली समाज यूकेका अध्यक्ष प्रेम आले, उपाध्यक्ष कला पोखरेल, पिटरबरो नेपाली समाज यूकेका महासचिव नृपेश उप्रेती, नटिंगहम नेपाली समाजका अध्यक्ष प्रवीण पाण्डे, शान्ति नेपाली समाजका महासचिव प्रकाश तिवारी, हाम्रो नेपाली समाज उल्भरहयाम्पटनका अध्यक्ष कृष्ण शर्मा लगायतले उम्मेदवारका प्रत्यासीलाई शुभकामना दिएका थिए । भट्टराई, आचार्य र सल्लाहकार भण्डारीले सदस्यता शुल्क वृद्धि सम्वन्धमा प्रष्टयाउंदै संघमा बलियो उपस्थितिका लागि सदस्य बन्न सबैमा आग्रह गरेका थिए ।

साझा नेपाली समाज यूकेका अध्यक्ष रणबहादुर केसीले मिडल्याण्डका नेपालीको समेत आवाज बुलन्द गरि संघलाई अझ सशक्त बनाउन सामूहिक उम्मेदवार उभ्याइएको बताए । केसीकै संयोजनमा २१ सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरिएको छ । सो अवसरमा साझा नेपाली समाज यूकेका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन हरिकृष्ण कार्कीले गरेका थिए ।

प्रतिवद्धता तथा घोषणापत्र

आदरणीय साथीहरु नमस्कार

१) एनआरएनए यूके भन्नाले बेलायतमा बस्ने सम्पूर्ण गैर आवासीय नेपाली संघलाई बुझिन्छ तर पनि मिडल्याण्ड, क्याम्ब्रीजसायर, लिंकनसायरमा बस्ने सम्पूर्ण साथीहरुको अर्थात गैर आवासीय नेपालीहरुको हक हित, पारस्परिक सद्भावलाई बलियो बनाउने केन्द्रमा यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरि काम कारवाही शुरु गर्ने ।

२) यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली सामाजिक संघसस्थाहरुसंग सल्लाह सुझाव लिई एनआरएनए यूकेको क्षेत्रीय संगठन निर्माण गर्ने जसका कारण गैर आवासीय नेपालीले कुनै पनि दुःख भोग्न नपरोस् ।

३) एक पटकको नेपाली सधैंको लागि नेपाली भन्ने हाम्रो नारालाई कायम गर्ने, यसको अर्थ नेपालको संविधान कार्यान्वयनको सिलसिलामा नेपाल सरकारलाई दवाब दिन दवावमुलक कार्यक्रम बनाउने ।

४) एनआरएनए यूकेको बटमलाइन अर्थात आधारशिला बनाउने र गैर आवासीय नेपालीलाई आफ्नो देश जांदा भिसा प्रणाली सहज बनाउने अर्थात भिसा शुल्क सकेसम्म समन्वय गरि कम बनाउने ।

५) नेपालको विकासको लागि नेपाली गैर आवासीय संघले धेरै काम गरेको छ तर अझ प्रभावकारी रुपमा छिटो छरितो, व्यवहारिक र वास्तविकता के हो ? आवश्यकता के हो ? भनि वैज्ञानिक रुपमा पहिचान गरि यहांको दक्ष जनशक्तिलाई नेपाल जान प्रोत्साहन गर्ने र नेपालमा भएको यसको श्रोत र साधनलाई उपयोग गरि देश विकास गर्न पहल गर्ने । पर्यटन व्यावसायको विकासमा पनि अझ बढि प्रभावकारी ढंगबाट अधि बढ्ने विषयमा पहल गर्ने । यसको अर्थ एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदले अन्तर्राष्ट्रिय समन्वय परिषदसंग परामर्श गरि नेपाल सरकार अर्थात सरोकारवालालाई दवाव दिने, बैठक गर्ने, पारस्परिक सूचनाको आदान प्रदान गर्ने भन्ने बुझिन्छ ।

६) बेलायतको हरेक ठाउँमा बस्ने नेपालीको हक हितमा चनाखो भइ काम गर्ने, नेपाली कला संस्कृतिको उचित संरक्षण, सम्बर्धन र विकासका लागि पहल गर्ने ।

७) नेपालबाट यूके आएर उच्चशिक्षा हासिल गर्ने दक्ष व्यक्तिहरुको तथ्यांक राख्ने अभियान शुरु गर्ने र जति पनि विषयमा उच्च शिक्षा हासिल गर्न सफल बिद्यार्थीको लागि सम्मान कार्यक्रम राख्ने । अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद, कलाकारिता आदि क्षेत्रमा स्थापित व्यक्तिहरुको पहिचान गरि सम्मान गर्ने जस्ता कार्यक्रममा बिशेष पहल गर्ने जसले गर्दा नेपालको गौरव बढ्नेछ ।

८) एनआरएनए यूकेको स्थापनाकाल देखि अहिले सम्मका गतिविधिहरु नियालेर हेर्दा यूकेमा रहेका नेपालीहरुको तथ्यांक संकलन र सदस्यताको विवरण उचित रुपमा राख्ने व्यवस्था नभएकोले अहिले यूकेमा कति नेपाली छन् भन्ने करा पनि अवगत नभएकोले यसको तथ्यांक तयार गर्ने ।

९) भूपू गोर्खाको बारेमा उहाँहरुका मागलाई जायज रुपमा समर्थन गर्ने ।

एनआरएनए यूकेको उपाध्यक्षका प्रत्यासी- दयानिधी सापकोटा
सचिवका प्रत्यासी- तारानाथ भण्डारी
सदस्यका प्रत्यासी- पवन शर्मा
सदस्यका प्रत्यासी- कृष्ण ढकाल​

प्रतिक्रिया

सम्बन्धित सामाग्री