बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १४:१४ | UK Time: 09:29

व्यापार घाटा आठ खर्ब, २७ अर्ब ९५ करोड

वीनेपाली
२०७४ साउन ३ गते २१:२६

काठमाडौँ, ३ साउन । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७३-७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त बिन्दुमा पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १।६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७।७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९।१ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा केही वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको तथा अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ३०।९ प्रतिशतले बढेर रु आठ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०।९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट ३९ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३।४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम।एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७४ को ११ महिनासम्ममा कुल वस्तु निर्यात १०।४ प्रतिशतले वृद्धि भई रु ६८ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०।१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४।३ प्रतिशत र अन्य मुलुकतर्फ ८।७ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैँचा, अलँैची, तयारी पोशाक, पोलिस्टर धागो, चिया लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

काठमाडौँमा मूल्य घट्यो 

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि अन्य क्षेत्रका तुलनामा कम भएको पाइएको छ । केन्द्रीय बैंकले ११ महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा काठमाडौँ उपत्यमा मूल्यवृद्धि कम भएको उल्लेख गरेको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा चार, तराईमा ३.१, हिमालमा १.८ र काठमाडौँ उपत्यकामा १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२, तराईमा ९.५, हिमालमा १०.२ र काठमाडौँ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत थियो । दलहन तथा गेडागुडीको मूल्यमा १७.५, तरकारीको मूल्यमा १६.३ र घ्यू तथा तेलको मूल्यमा एक प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ र मदिराजन्य पेयपदार्थको मूल्य १०.८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.५ प्रतिशत रहेको थियो । त्यसमा लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक