पृथ्वी परिक्रमा अवार्ड यूकेमा पनि

तस्विरः एभरेष्ट गौतम

लन्डन । बक्स अफिस इन्टरनेशनल ग्रुपले विश्वव्यापी ‘पृथ्बी परिक्रम अवार्ड’ गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघले मान्यता दिएका १९६ देशमा गएर अवार्ड प्रदान गरिने दावी आयोजकले गरेको छ । शनिबार लन्डनमा आयोजित एक प्रेस मिटमा ग्रुपका अध्यक्ष आर के सुवेदीले यसको शुरुवात सूर्योदयको देश जापानबाट र अन्त्य सबैभन्दा सानो मुलुक भुटानमा गर्ने योजना सुनाए । आगामी २० वर्षभित्र अवार्ड आयोजना गरेर पृथ्बीलाई फन्को लगाउने अठोट सुवेदीको छ । देशमा नेपालीको जनसंख्या हेरि ५ देखि ५१ जनासम्मलाई अवार्ड दिइने सुवेदीले बताए । यसमा नेपालका लागि काम गर्ने विदेशी समेत रहने उनको भनाइ छ ।

विदेशमा बसेर आफ्नो देशको कला संस्कृति, भाषा र सामाजिक विकासका लागि निस्वार्थ योगदान दिने व्यक्तिलाई अवार्ड प्रदान गरिने सुवेदीले जनाए । ‘सुनेको भन्दा देखेको र देखेको भन्दा भोगेको संसार नितान्त फरक छ’, सुवेदी भन्छन्, ‘म नेपाली झण्डा बोकेर पृथ्वी परिक्रमा अवार्ड गर्न जुटेको छु । मलाई सबैको सहयोग खांचो छ ।’

सुवेदीको संस्थाले दश वर्षयता बक्स अफिस फिल्म फेयर अवार्ड गर्दै आएको छ । बेलायत संस्करण हालैमात्र अल्डरसटमा सम्पन्न भएको थियो ।

तस्विरः बीरेन्द्र श्रेष्ठ

 

समुद्र मुनी, समुद्र माथि, उडिरहेको प्लेन र सगरमाथा बेस क्याम्पमा फिल्म अवार्ड आयोजना गरेर गिनिज बुकमा वल्ड रेकर्ड राखेका सुवेदीले अवार्ड आयोजना गरेर पृथ्वीलाई एक फन्को लगाउने आफ्नो अभियानमा साथ दिन सबैमा आग्रह गरे । ‘यो वर्ष बेलायतसहित ६ मुलुक जापान, क्यानाडा, बेल्जियम, अष्ट्रेलिया र थाइल्याण्डमा पृथ्बी परिक्रमा अवार्ड गर्ने मेरो लक्ष्य छ’, उनले भने ।

बेलायतमा यही नोभेम्बर महिनामा अवार्ड कार्यक्रम गरि ५१ जनालाई सम्मान गर्ने पत्रकार भेटघाटमा जनाइयो । नेपाली कला, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, कानुन लगायत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई अवार्ड दिइने उक्त कार्यक्रमका संयोजक तथा बेलायतका लागि उक्त समूहको आधिकारिक व्यक्ति सुरेन्द्र श्रेष्ठले बताए । लन्डनमा कार्यक्रम गर्ने तय भएपनि अन्य विवरण दिइएको छैन् ।

पत्रकार शिव भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा कानुनी सल्लाहकार सोलिसिटर राजु थापाले अवार्ड कार्यक्रम गरिनु सरहानीय भएको जनाउंदै यसलाई निष्पक्ष र देशको नियम, कानुन र परिधिमा रहेर काम गर्न सुझाव दिए ।

उक्त अवसरमा सुवेदी र श्रेष्ठबीच बेलायतमा अवार्ड कार्यक्रम सञ्चालन तथा संस्थाको तर्फबाट अन्य गतिविधि सञ्चालन गर्ने सम्वन्धि एउटा सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री