काठमाडौँ, ३१ असार । नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा यही असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनुभई आज स्वदेश फर्कनुभएको छ ।
उहाँले संयुक्त अधिराज्यका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा संयुक्त अधिराज्यको भ्रमण पनि सम्पन्न गरी फर्कनुभएको हो ।
संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले शान्ति स्थापना निर्देशनालयका उपमहासचिव तथा महासचिवका सैनिक सल्लाहकारसँग पनि छुट्टाछुट्टै भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघको शान्ति सैनिक मिसन कंगो तथा दक्षिण सुडानका फोर्स कमान्डरहरुसँग समेत छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो ।
साथै मित्रराष्ट्र बेलायत भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टर, एअर चिफ मार्शल सर स्टुअर्ट पीच, लेफ्टिनेन्ट जनरल निकोलस पोप लगायतका अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुका साथै बेलायती सेनामा भइरहेको आधुनिकीकरणसम्बन्धी जानकारी लिनुभएको थियो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बलदेवराज महतले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाका रथीवृन्द, काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्रहरुसँग लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनुका साथै नेपाली सेना तथा संयुक्त राष्ट्रसंघ र बेलायती सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुन जाने विश्वास लिएको नेपाली सेनाले एक विज्ञप्ति प्रकाशित गरी आज जनाएको छ ।
आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो